काठमाडौं । निजीक्षेत्रको आन्तरिक वायुसेवा कम्पनी गुण एयरलाइन्सले आजबाट नियमित उडान सुरु गरेको छ। प्ररम्भमा यस वायुसेवाले काठमाडौंबाट भरतपुर र पोखरामा नियमित हवाई उडान थाल्नेगरी मंगलबारदेखि नै टिकट बुकिङ खुला गरेको जनाएको छ। गुण एयरलाइन्सका प्रवक्ता एवं प्रमुख बजार व्यवस्थापक प्रज्वल थापाले आगामी १ असोजबाट नियमित व्यावसायिक उडान सुरु हुने बताए। थापाका अनुसार यस वायुसेवाले पहिलो उडान काठमाडौंबाट भरतपुरका लागि भर्नेछ। सो एयरलाइन्सका अनुसार पहिलो दिनको उडान आज अर्थात् असोज १ गते बिहान साढे १० बजेटबाट सुरु भएको छ। त्यसपछि काठमाडौंबाट पोखरा उडान भएको छ।
गुणले हाल दुईवटा गन्तव्यबाट आन्तरिक व्यावसायिक उडान सुरु गर्ने र आगामी दिनमा यात्रुहरूको मागबमोजिम विस्तारै आफ्नो उडान गन्तव्य पनि बढाउँदै जाने रणनीति तय गरेको छ। नियमित व्यावसायिक उडान तयारीसँगै गुण एयरलाइन्सले तीनवटा जेटस्ट्रिम र एउटा बिचक्राफ्ट विमानलाई तयार पारिसकेको छ। आगामी दिनका लागि पनि छिट्टै थप तीनवटा विमान तयार पार्ने सो एयरलाइन्सले जनाएको छ। थापाले अब यो वायुसेवाले दसैंका यात्रुलाई सहज रूपमा हवाई सेवा उपलब्ध गराउन सबैजसो सुगम क्षेत्रका गन्तव्यमा उडान भर्नेगरी तयारी पूरा भएको जानकारी दिए।
टिकट बुकिङ खुला :
अहिलेको यो उडान सेवा सञ्चालनका लागि यो वायुसेवाले यात्रुको सेवा र सुविधालाई उत्कष्ट बनाउका लागि एक वर्ष भन्दा लामो समयदेखिको तयारी गरिरहेको जनाएको छ। कोरोना महामारी न्यूनीकरण तथा रोकथाम गर्न सरकारले ११ चैत २०७६ देखि गरेको लकडाउन र निषेधाज्ञाका कारण थन्किएको वायुसेवा क्षेत्रमा यो कम्पनीले नयाँ ब्रान्डमा र बलियो उपस्थिति देखाउनेगरी आफू प्रस्तुत भएको बताएको छ।
गुण इरलाइन्सले आठ वर्षअघिको आफ्नै ब्रान्डमा आगामी उडान सेवा सुरु गर्न लागेको हो। गुण एयरलाइन्सबाट सिम्रिक एयरलाइन्स भएर सातवर्ष उडान गरेपछि यसले पुनः आफ्नै ब्रान्डमा विमान उडान सुरु गर्नेभएको छ। यो कम्पनीले हाल वायुसेवासँग भएका दुईवटा बिच क्राफ्ट र थप पाँचवटा जेटस्ट्रिम विमान थप गरेको हो। यो वायुसेवाले आगामी दिनमा काठमाडौैंबाट माउन्टेन फ्लाइट, लुक्ला, भद्रपुर, भैरहवा, भरतपुर, विराटनगर, धनगढी, जनकपुर, जोमसोम, तुम्लिङटार, नेपालगन्ज, राजविराज, रामेछाप, सिमरा र सुर्खेतमा नियमित व्यावसायिक उडान भर्ने लक्ष्य लिएको जनाएको छ।