× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
निर्वाचन

विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री शाक्य, यस्तो छ अंकगणित

Simrik Online

१४ आश्विन २०७८, शुक्रबार

काठमाडौं । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने तयारी गरेकी छन्। गत भदौ २ गते नेपालकै पहिलो महिला मुख्यमन्त्रीमा नियुक्त शाक्यले मुख्यमन्त्री बनेको डेढमहिनापछि विश्वासको मत लिने तयारी गरेकी हुन्। ५६ सांसदसहित एकल बहुमतबाट मुख्यमन्त्री बनेकी शाक्य उपाध्यक्ष रहेको नेकपा (एमाले)मा अहिले ४३ सांसद मात्र छन्। एमालेले अरु पार्टीसँग हालसम्म सहकार्य नगरेकोले शाक्यलाई आफ्नो पक्षमा सरहकार जोगाउन कठिन देखिएको छ।

बागमती प्रदेशमा सभामुख सहित १०९ सांसद छन्। सरकार गठनका लागि ५५ सांसद चाहिन्छ । तर, यतिबेला संसदमा रहेको कुनैपनि दलसँग सरकार गठनका लागि एकल बहुमत छैन। साढेतीन वर्षसम्म एकल बहुमतको सरकार चलाउँदै आएको एमाले पनि विभाजनपछि अल्पमतमा परेको छ। संसदमा एमाले सबैभन्दा ठूलो दल भए पनि सरकार बचाउनका लागि बहुमत छैन। संसदमा एमालेसँग ४३, नेकपा (माओवादी केन्द्र)सँग २३, नेपाली कांग्रेससँग २२, नेकपा (एकीकृत समाजवादी)सँग १३, विवेकशील साझासँग ३, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टीसँग २/२ तथा जनता समाजवादी पार्टीसँग एक सांसद छन्।

एमालेले संसदमा गठबन्धनबाहिर रहेका अन्य साना दलसँग मिलेर सरकार जोगाउने प्रयास गरेपनि आवश्यक मत पुग्दैन। ४३ मत रहेको एमालेले विवेकशील, राप्रपा र नेमकिपाको सहयोग पाउँदा पनि ५० सांसद मात्र हुन्छ। बहुमतका लागि ५५ सांसद आवश्यक छ। त्यसैले मुख्यमन्त्री शाक्यले संसदमा विश्वासको मत नपाउने निश्चित छ। उता गठबन्धननमा भने सरकार गठनका लागि आवश्यक मत स्पष्ट पुग्छ। गठबन्धनमा रहेको माओवादी केन्द्र, कांग्रेस, एकीकृत समाजवादी र जसपा मिल्दा ५९ सांसद हुन्छ। जुन सरकार गठनका लागि बहुमत हो।