× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
राजनीति

राउतले विश्वासको मत लिदै, यस्तो छ प्रदेश २ को अंकगणित

Simrik Online

१९ आश्विन २०७८, बुधबार

जनकपुर । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आज विश्वासको मत लिनेभएका छन्। सत्तारुढ दल जनतासमाजवादी पार्टी विभाजन भएपछि संवैधानिक प्रावधानअनुसार मुख्यमन्त्री राउतले विश्वासको मत लिन लागेका हुन्। मुख्यमन्त्री राउतले विश्वासको मत लिन एक साताअघि नै प्रदेशसभा सचिवालयलाई परिपत्र गरेका थिए। आजदेखि नै प्रदेश सभाको ७ औँ अधिवेशन आह्वान गरिएको छ।

संविधानको धारा १८८को उपधारा २ अनुसार मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सत्ता साझेदार दल विभाजन तथा आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने प्रावधान छ। भदौ ९ मा जनता समाजवादी पार्टी (जसपा) विभाजन भई महन्थ ठाकुर नेतृत्वमा लोकतान्त्रिक पार्टीको प्रमाणपत्र निर्वाचन आयोगले दिएको थियो। तर, जसपाले जनप्रतिनिधिहरूलाई निर्वाचन आयोगले दल रोज्‍ने समय २२ भदौसम्म तोकेकाले त्यसलाई दल विभाजनको अन्तिम मिति मानेर २० असोजमा मुख्यमन्त्री राउतले विश्वासको मत लिन लागेका हुन्।

अहिले प्रदेश २ मा जसपा, कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धन सरकारको छ भने नेकपा एकीकृत समाजवादीले समेत मुख्यमन्त्री राउतलाई नै समर्थन गर्ने जनाएको छ। यस हिसाबले मुख्यमन्त्री राउतसँग प्रदेशसभाको एक सय चार सदस्यमध्ये दुईतिहाई भन्दा बढीको बहुमत रहेको छ।

प्रदेशसभामा जसपाका ३९, कांग्रेसका १९, एकीकृत समाजवादीका १३, माओवादी केन्द्रका ८ र रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टीका १ जना गरी जम्मा ८० जना सांसदको मुख्यमन्त्री राउतलाई समर्थन रहने जसपाका एक नेताले दावी गरे। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नेकपा एमाले प्रदेश सरकारको विपक्ष रहेको छ।