सोलुखुम्बु । नेपाली कांग्रेस सोलुखुम्बुका सचिव युवराज घिमिरेले सोलुखुम्बुका ८ वटै स्थानीय तहहरुले आ.व. २०८२/०८३ को लागि गाँउसभाबाट पारित बजेटमाथि टिप्पणी गरेका छन् । उनले सिम्रिक अनलाइसँग कुरा गर्दै “सोलुखुम्बुका स्थानीय तहले बजेट विनियोजन गरिएको सामाजिक सन्जालबाट देखेको र कुनैपनि स्थानीय तहबाट केहि विषयमा ध्यान नपुगेको भनेका छन् ।” घिमिरेले यसपटकको स्थानीय तहका बजेटमा मुख्यतः ६ वटा विषयमा स्थानीय सरकारले ध्यान नपुर्याएको बताएका छन्, ती विषय यस्ता छन् :
१) टुक्रे स-साना योजना बनाइ बजेट छरपस्ट गरेको देखिन्छ र सो बजेट सदुपयोग हुन्छ भन्ने विश्वास आम जनसमुदायमा देखिदैन ।
२) स्थानीय तहलाइ चिनाउने विभिन्न विधाका कलाकार, खेलाडीहरुको स्वास्थ्य बीमा, तालिमको ब्याबस्थाको लागि आवश्यक बजेट बिनियोजन गरेको देखिएन यसबाट कलाकार र खेलाडिको मनोवलमा ठेस लाग्ने सम्भावना देखिन्छ ।
३) शिक्षा क्षेत्रमा आ-आफ्नो स्थानीय तहमा भएका विद्यालयहरुमा एउटै प्रविधिबाट शिपमुलक र प्रविधिमुलक पठनपाठनको ब्यबस्था मिलाउन आवश्यक सामग्री, अभिमुखीकरण कार्यक्रम र शिक्षकहरुलाइ तालिमको लागि आवश्यक बजेट बिनियोजन गरेको देखिएन जसले गर्दा विद्यालयमा विद्यार्थीको संख्या घट्ने सम्भावना देखिन्छ ।
४) कृषि क्षेत्रमा लगानि गर्न, आम जनतालाइ उत्साह दिलाउन कुनै योजना र पर्याप्त बजेट विनियोजन गरेको देखिएन । कृषि समुह खडा गरि, माटो परीक्षण गरेर सिँचाइको ब्यबस्था गरि कृषि औजार, बिउबिजन, मलमा अनुदान दिइ उत्पादन भएका वस्तुको बजार ब्यबस्थापनको ग्यारेन्टी नगरेसम्म युवाहरु विदेशिने बाध्यताबाट रोक्ने प्रयास गरेको देखिदैन जस्ले गर्दा युवाहरुमा बजेटले निराशा जगाएको देखिन्छ ।
५) सडकमा धेरै साना बजेट बिनियोजन गरेको देखिन्छ जस्ले गर्दा जनताले यातायातको सुबिधा समयमा उपभोग गर्न नसक्ने देखिन्छ ।
६) स्वास्थ्य क्षेत्रमा आबश्यक बजेट बिनियोजन गरेको देखिएन । दिर्घ रोगि र बृद्धहरुको उपचारमा सहयोग, आम जनताको स्वास्थ्य बिमा, स्वास्थ्य संस्थाको गुणस्तर वृद्धि गर्न बजेट बिनियोजन नगरेसम्म आम जनताले स्थानीय सरकारको विश्वास गर्न सक्दैनन् ।