काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न बैंक तथा वित्तीय संस्थालाई पुनर्कर्जाका लागि आवेदन दिन आग्रह गरेको छ। नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै कोरोना महामारीको प्रभावले समस्यामा परेका उद्योगी व्यवसायीलाई आवश्यक ऋण उपलब्ध गराउन वाणिज्य बैंक, विकास बैंक, वित्तीय संस्था र लुघवित्तलाई पुनर्कर्जाका लागि आवेदन दिन यस्तो आग्रह गरेको हो।
बैंक तथा वित्तीय संस्थाले आगामी १९ मंसिरसम्म आवेदन दिन सक्नेछन्। राष्ट्र बैंकका अनुसार अति प्रभावित क्षेत्र पर्यटन, हवाई तथा पर्यटकीय यातायात, मनोरञ्जन, मनोरञ्जन पार्क, रिक्रिएसनसम्बन्धी व्यवसाय, पार्टी प्यालेस, चलचित्र उत्पादन, सिनेमा हल, रोजगारी गुमेका, कुखुरापालन व्यवसाय, पशुपक्षी, मौरी तथा मत्स्यपालन व्यवसाय गर्नेहरू पुनर्कर्जाका लागि योग्य हुनेछन्।
यसैगरी, तयारी पोसाक, हस्तकला तथा सीपमूलक व्यवसाय, वैदेशिक रोजगार सेवा प्रदायक, निजी तथा आवासीय विद्यालय, यात्रुवाहक स्थल यातायात पनि पुनर्कर्जाका लागि योग्य हुनेछन्।
बैंक तथा वित्तीय संस्थासँगै अन्य व्यवसाय गर्नेहरूले पनि यही सूचनाका आधारमा विभिन्न बैंकहरूमा पुगेर आवेदन दिन सक्ने सूचनामा उल्लेख गरिएको राष्ट्र बैंकले जनाएको छ। इच्छुक ऋणीले आफूले सुेवा लिँदै गरेको बैंक तथा वित्तीय संस्थाहरूबाट आवश्यक ऋणका लागि आवेदन दिन पाउने सो सूचनामा उल्लेख छ।
– कुखुरा पाल्नेदेखि कपडा सिउनेलगायतले आवेदन दिन सक्ने
यस्तो पुनर्कर्जामा सहभागी हुने कोरोनाका कारणले समस्यामा परेका उद्योगी र व्यवसायीले ५ करोड रूपैयाँसम्म पुनर्कर्जा पाउनेछन्। नेपाल राष्ट्र बैंकले आइतबार सूचना जारी गरेर बैंक तथा वित्तीय संस्थाहरूलाई पुनर्कर्जाका लागि आवेदन दिन आग्रह गरेको हो।
कोरोना महामारीका कारण समस्यामा परेका निजी क्षेत्रले राहत नपाए धेरै उद्योग-व्यवसाय बन्द हुने अवस्थामा पुगेको भन्दै विगत लामो समयदेखि सरकारलाई घच्घच्याउँदै आएका थिए। त्यसलाई मध्यनजर गर्दै राष्ट्र बैंकले कोरोनाबाट अति प्रभावित र मध्ये प्रभावित व्यवसायीलाई पुनर्कर्जाको व्यवस्था मिलाउने नीति लिएको हो। कोरोनाका कारण समस्यामा परेका उद्योगी/व्यवसायीले आफूले कारोबार गरेको बैंकमा पुनर्कर्जाका लागि सहजै आवेदन दिन सक्ने व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले कोरोनाबाट प्रभावित भएका व्यवसायीले ५ करोड रूपैयाँसम्म पुनर्कर्जा लिन पाउने बताए। पुनर्कर्जाको सीमाभित्र रहेर व्यवसायीले ५ करोड रूपैयाँसम्म ऋण लिन पाउने बताउँदै प्रवक्ता ढकालले भने, ‘पुनर्कर्जा लिन चाहने व्यवसायीले आफूले कारोबार गरेको बैंकको शाखामा आगामी १९ मंसिरभित्र निवेदन दिनुपर्नेछ।’
अहिले यस्तो सुविधा लिन सरकारले यातायात, पर्यटन, चलचित्र उत्पादनमूलक उद्योगहरू, सिनेमा हल, रोजगारी गुमेका, कुखुरापालन व्यवसायी, पशुपक्षी, हवाई तथा पर्यटकीय मनोरञ्जन, मनोरञ्जन पार्क, रिक्रिएसनसम्बन्धी व्यवसाय, पार्टी प्यालेस, मत्स्यपालनलगायतका व्यवसायलाई कोरोना प्रभावितको सूचीमा राखेको छ।
यसैगरी, सीपमूलक व्यवसाय, वैदेशिक रोजगार सेवा प्रदायक, विद्यालय, निर्माण व्यवसाय, औषधि उत्पादक, छपाइ प्रकाशन तथा सञ्चार गृह, फलामजन्य व्यवसाय र अस्पताल पनि प्रभावित सूचीमा छन्। उनीहरू सबैले पुनर्कर्जा प्राप्त गर्न सक्ने व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ।