काठमाडौं । नेपाली कांग्रेसको चालु महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि सोमबार मतदान हुँदैछ । विहान ८ बजेदेखि पाँच बजेसम्म हुने मतदानमा पदाधिकारीमध्ये १ सभापति, २ उपसभापति, २ महामन्त्री, ८ सहमहामन्त्रीलाई महाधिवेशन प्रतिनिधिले चुन्ने छन् । त्यसका लागि कांग्रेसले ३ मतदान स्थलमै ५ सय लिटरका पानी ट्यांकी मतपत्र सुरक्षित गर्नका लागि तयार गरिसकेको छ।
महाधिवेशन अन्तर्गत आइतबार उम्मेदवारी फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशको काम मात्र भयो। विहानदेखि नै उम्मेदवार, शुभेच्छुकहरु प्रतिनिधिसँग विभिन्न उपायहरु अपनाउँदै मत मागिरहेका देखिए। मत माग्नका लागि सकेसम्म आफूलाई अरुभन्दा फरक देखाउने प्रयास र प्रयत्न हरेकजसो उम्मेदवार, प्यानल र त्यसको प्रचारमा लागेकाहरुले गरिरहेको देखिएको थियो।
सत्ताबाट हट्नुपर्ने त्रास !
महाधिवेशन प्रतिनिधिहरु माझ आफू पक्षकाले भृकुटीमण्डप क्षेत्रमा भोट मागिरहँदा प्रधानमन्त्री समेत रहेका सभापतिका उम्मेदवार शेरबहादुर देउवा भने आफूसँग साझेदारी गरिरहेका नेता कृष्णप्रसाद सिटौलालाई लिएर मत माग्ने एक कार्यक्रममा सहभागी भएका थिए। त्यसक्रममा देउवाले आफू पार्टी सभापति रहेको खण्डमा मात्र अहिलेको सरकार चुनावसम्म टिकिरहने बताएका थिए। त्यसैले आफूले सभापति जित्नु पर्ने उनको तर्क थियो। उनले सभापतिमा पराजय रोक्न सत्ता बहिर्गमनको अस्त्र प्रतिनिधिमाझ फाले।
‘म पार्टी सभापति भएको खण्डमा यो सरकार चुनावसम्मका लागि टिकिरहनेछ। मैले चुनाव हारेको खण्डमा शेरबहादुरको नेतृत्वमा प्रधानमन्त्रीमा बस्नै पाइँदैन भनेर होहल्ला गर्नेछन् सबैजनाले। त्यसकारणले पनि पार्टी सभापति जित्नु आवश्यक छ’ उनले भनेका थिए।
आफू प्रधानमन्त्री भएर चुनावमा जाने हो भने तीनै तहको चुनावमा जीत हात पार्न सकिने उनको भनाइ थियो। उनले आफ्नो अन्तिम बेला भएको र आफूले जिते प्रधानमन्त्री रहिरहने र त्यसो भए गाउँदेखि माथिसम्म जित्ने र नभए त्यो सम्भव नहुने बताए। उनले प्रधानमन्त्री र पार्टी सभापति एउटै व्यक्ति भयो भने स्थायित्व हुने तर्क पनि अघि सारेका छन्।
‘यो मेरो अन्तिम बेला हो। ओलीलाई हटाएर म प्रधानमन्त्री बनेको छु। यदि मैले जितेको खण्डमा मात्रै यो पार्टीलाई सबै गाउँदेखि माथिसम्मको सरकार बनाउन सक्नेछु ’ यसो भन्दै देउवा आगामी चुनावमा पार्टीलाई आफूले मात्र ठूलो बनाउन सक्ने आशाको सञ्चार प्रतिनिधिमाझ गराउन चाहिरेहका छन्।
आफूले हारे गठबन्धन सरकार ढल्ने भन्दै उनले चेतावनी दिइरहँदा सभापतिका अर्का प्रत्यासी शेखर कोइरालाले भने त्यसलाई अस्वीकार गरिदिएका छन्। उनले देउवा पराजित हुँदा गठबन्धन अझै बलियो बन्ने तर नेतृत्व परिवर्तन हुने बताए। ‘नेतृत्व परिवर्तन हुन्छ हुन्छ हुन्छ। यो नेतृत्व परिवर्तनपछि अझ बढी सुदृढ र संगठित भइकन यो गठबन्धनलाई निर्वाचनमा हामी होमिन्छौं’ उनले भने।
गगनको आश :
संस्थापन इतरबाट दुई जना सभापतिको रुपमा चुनावी मैदानमा छन् । यस हिसावमा इतरपक्षको भोट बाँढिने छ । प्रकाशमान सिंह र शेखर पक्षको मत बाढिने त्रासका बीच कोइरालालाई गगनको आशा अलिक बढी देखिएको विश्लेषण कांग्रेस प्रतिनिधिहरुले गरिरहेका पाउन सकिन्छ । आइतबारको कार्यक्रममा सभापतिका उम्मेदवार कोइरालापछि कार्यक्रम समापन भएको घोषणा गरिएको थियो तर भीडबाट गगन थापाको माग भयो र मञ्चमा बसेका थापालाई कोइरालाले बोल्न आग्रह गरे ।
उनको आग्रह अनुसार गगनले माहोल तताए । उनले कांग्रेसमा युवालाई प्रवेश गरौं गरौं भन्ने बनाउनु पर्ने र त्यो सम्भावना शेरखको नेतृत्वमा मात्र सम्भव भएको बताए । उनले त्यसो भनिरहँदा शेखरको अनुहारमा खुसी भाव देखिएको थियो ।
‘नेपाली कांग्रेसले निर्वाचन एक्लै जित्ने हो भने अहिले भएका मतदतामा १०/१२ लाख मतदाता थप्नुपर्छ । यसका लागि यस्तो नेतृत्व चाहियो कि कांग्रेसको नेतृत्व यो हो है भनेर हेर्दै गर्दा पार्टी बाहिरका मान्छेहरुलाई कांग्रेसमा आऔंआऔं लागोस् । कांग्रेसको घरभित्र पसौं पसौं लागोस् । शेखर कोइरालाको नेतृत्वमा कांग्रेस त्यस्तो देखिन्छ ’ उनले भनेका थिए ।
महामन्त्रीका उम्मेदवार थापाले आफूहरु कसैलाई हराउन उम्मेदवार नभएको बताएका थिए । उनले आफूहरु पार्टीमा कसैलाई पराजित गर्न नभइ जितेर सिंगो पार्टीलाई बिजयी बनाउन चाहिरहेको बताए । उनले आफूहरुको तागत भृकुटीमण्डपमा रहेको भन्दै त्यहाँ रहेका मतदाताको भावनालाई पनि समेट्न खोजे । इतरपक्षबाट पनि उनी बलियो उम्मेदवार रहेको आकलन गरिरहँदा शेखरले उनीबाट आशा गरेको देखिन्छ ।
दोस्रोपटक देउवालाई सकस : उपसभापति बिमलेन्द्र निधी देउवाबाट अलग भएर सभापतिको उम्मेदवार बनेपछि देउवा अर्का उपसभापति विजयकुमार गच्छदारका भरमा छन्, गच्छदार निकै लोकप्रिय र जनमत बलियो भएका नेता हुन्। पुर्व महामन्त्री सिटौलाले पनि देउवालाई साथ दिएका छन्, तर चुनावी माहौल मुल नेतृत्व अर्थात सभापति, महामन्त्री परिवर्तनका पक्षमा देखिन्छ। पहिलो चरणको निर्वाचनबाटै सभापति चुनिने सम्भावना कम देखिन्छ। यदि देउवा पहिलो चरणबाट सभापतिमा निर्वाचित भएनन् भने दोस्रोपटक सभापतिको निर्वाचन भएमा गच्छदार र सिटौलाले मात्रै देउवालाई थेग्न नसक्ने केही पुर्व केन्द्रीय नेताहरूले नै दावी गरिरहेका छन्।