गीता कुँवर, अछाम । देशका प्रमुख चारधाममध्ये एक हो, अछामको वैद्यनाथ धाम। संंसारकै दुईवटा शिवलिंग एकै ठाउँमा भएको धामका रूपमा यो परिचित छ। परिचित र ऐतिहासिक भए पनि पछिल्लो समय यसको जग्गा अतिक्रमणको चपेटामा छ। जग्गा अतिक्रमण गरेर खुम्च्याइँदैछ। गुठीको ८ सय ६२ रोपनी ३ पैसा जग्गा अतिक्रमण भएको छ। गत वर्ष सरकारी, सार्वजनिक, गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मालाई बुझाएकोे प्रतिवेदनमा जग्गा अतिक्रमण भएको स्पष्ट खुलाइएको छ। तर, यो प्रतिवेदन अहिलेसम्म सार्वजनिक गरिएको छैन। यसले अतिक्रमण गर्नेलाई थप बल पुगेको छ।
साँफेबगर १ भएर निर्माण भइरहेको सेती लोकमार्गकै छेउमा यो धाम छ। वैद्यनाथ गुठीको नाममा भएको करिब १ हजार रोपनी जग्गामध्ये आधा जग्गा व्यक्तिले हडपिएका छन्। १८५२ सालमा राजा रणबहादुर शाहबाट लगाइएको लालमोहर अनुसार तीन गाउँ र नौ खेत ४० मुरी माटो (करिब एक हजार रोपनी जग्गा) रहेको इतिहास छ। त्यसपछि १९८६ सालमा भएको नापीमा पनि मन्दिरको नाममा एक हजार रोपनी जग्गा देखिन्छ।
पहुँचमा भएका टाठाबाठाहरूले ०४३ सालको नापीमा नै आफ्नो नाममा गरिसके। अहिले पनि गुठी जग्गा भोगचलन गर्दै आइरहेकाहरू आफ्नो भनेर दाबी गर्छन्। प्रमाण ल्याउभन्दा उनीहरूसँग छैन। मन्दिरसँग पहिलेको तुलनामा अहिले हेर्ने हो भने केही पनि छैन।
– सुरतबहादुर शाह, संस्थापक, वैद्यनाथ क्षेत्र संरक्षण तथा गुठी व्यवस्थापन समिति
धेरै गालीगलौज गरे। हामीले नै जग्गा रोक्का गर्न लगाएको आरोपसमेत लगाए। यदि उनीहरूको रैकर जग्गा हो भने प्रमाण दिनुपर्यो। अनि जग्गा उनीहरूकै नाममा गर्न कुनै आपत्ति छैन।
– देवराज उपाध्याय, सदस्य सचिव, वैद्यनाथ क्षेत्र संरक्षण तथा गुठी व्यवस्थापन समिति
केही बाठा र पुजारीहरूले पहिले भएको नापीमा नै गुठीको जग्गा आफ्नो नाममा गरिसके। गरिब निमुखाहरूको जग्गा गुठीमा परेको छ। थुपै्र पटक गुठीसँग छलफल गरियो। तर, अहिलेसम्म टुंगो लागेको छैन। मुद्दा लिएर काठमाडौंसमेत पुग्यौ। नेताहरूले विवाद टुंग्याउने आश्वासन मात्र दिए।
– लोकबहादुर बोहरा, स्थानीय
मन्दिरका नाममा कायम रहेको जग्गा पनि परम्परागत पुजारी, टहलुवा, द्वारे, कटुवाल र नगार्जीले तोकिएको काम गर्ने सर्तमा भोगचलन गर्दै आएका छन्। मन्दिरको काम गरेबापत बोहरा, नाथ, दमाई र साउदहरूले मन्दिरको जग्गा प्रयोग गर्दै आएका छन्। तर, हाल जुन सर्तमा जग्गा भोगचलन गर्न दिइएको हो, त्यो काम नगरी सित्तैमा जग्गा उपयोग गर्दैै आएका छन्। मन्दिर आसपासको जग्गामा घर बनेका छन्। भोगचलन गरिरहेकाहरू मन्दिर वरपरको जग्गा आफ्नो भएको दाबी गर्दै आएका छन्।
वैद्यनाथ मन्दिर आसपासमा बनेका घरहरू। तस्बिर: गीता कुँवर
मन्दिर आसपासको जग्गा व्यक्तिको नाममा रहेको तर लालपुर्जामा वैद्यनाथ राजगुठी लेखिएकाले विवाद रहेको वैद्यनाथ क्षेत्र संरक्षण तथा गुठी व्यवस्थापन समिति सदस्य सचिव देवराज उपाध्याय बताउँछन्। मन्दिरको नाममा रहेको जग्गाको भने कुनै विवाद नरहेको दाबी उनी गर्छन्।
मन्दिरको नाममा नभएको पर्खाल पछाडिको जग्गा। तस्बिर : गीता कुँवर
मन्दिर वरपरको जग्गा व्यक्तिका नाम रहे पनि ०५७ सालमा सरकारले जग्गा रोक्का गर्न लगाइएको थियो। त्यसपछि झन् विवाद सुरु भएको उपाध्ययले बताए। उनले भने, ‘धेरै गालीगलौज गरे हामीलाई, हामीले नै जग्गा रोक्का गर्न लगाएको आरोपसमेत लगाए, यदि उनीहरूको रैकर जग्गा हो भने प्रमाण दिनुपर्यो, अनि उनीहरूको जग्गा उनकै नाममा गर्न कुनै आपत्ति छैन।’ उनले २०६५ सालमा सदरमुकाममा भएका जग्गाको ३० प्रतिशत र गाउँतिर भएको जग्गाको २५ प्रतिशत राजस्व तिरेर आफ्नो नाममा गर्ने नीति भएको बताए।
‘कतिपयले गुठीको जग्गासमेत आफ्नो नाममा गरे। कतिले आफ्नो पुर्खाको सम्पत्तिमा किन पैसा तिर्ने भनेर गरेनन्। पछि त्यो नीति नै खारेज भयो। कतिपय नेताहरूले चुनावमा त्यसैलाई भोट माग्ने नारा बनाए,’ उपाध्यायले भने। गुठीको जग्गालाई भोट बैंकका रूपमा राजनीतिक दलले प्रयोग गरिरहेका छन्।
अहिले वैद्यनाथ गुठीको नाममा १ सय ३७ रोपनी जग्गा मात्र छ। मन्दिरको घेरापर्खालभन्दा बाहिरको जग्गासमेत मन्दिरको नाममा छैन। साँफेबगर नगरपालिका ९ बुढाकोट ४ मष्टामाडौं, चौरपाटी गाउँपालिका ५ लुंग्रा र ४ पायलमा रहेको जग्गा मात्र मन्दिरको नाममा रहेको प्रमाण छ। ‘अहिले लालपुर्जा भएको १ सय ३७ रोपनी जग्गा मात्र गुठीको नाममा छ। लालपुर्जा भएकोमा कुनै विवाद छैन’, उपाध्यायले भने, ‘यो जग्गा त काम नगरेमा फिर्ता लिने सहमति भएको छ, तर अहिले काम पनि गर्दैनन्। सहजै फिर्ता पनि गरेका छैनन्। हेर्ने हो भने त अहिले गुठीको नाममा केही पनि छैन।’
जग्गा रोक्का गरिएकै कारण उनीहरूले गर्दै आएको परम्परागत कार्यसमेत छोडिदिएका छन्। जग्गा आफ्नो हो भन्ने उनीहरूसँग स्पष्ट प्रमाण नहुँदा विवाद कायमै रहेको वैद्यनाथ क्षेत्रका संस्थापक सुरतबहादुर शाह बताउँछन्। मन्दिर आसपासको जग्गा नै मन्दिरको नाममा नरहेको उनले बताए। भने, ‘पहुँचमा भएका टाठाबाठाहरूले ०४३ सालको नापीमा नै आफ्नो नाममा गरिसके। अहिले पनि गुठी जग्गा भोगचलन गर्दै आइरहेकाहरू आफ्नो भनेर दाबी गर्छन्। प्रमाण ल्याउभन्दा उनीहरूसँग छैन। मन्दिरसँग पहिलेको तुलनामा अहिले हेर्ने हो भने केही पनि छैन।’
मन्दिरको उत्तरपट्टीको पुजारी गोबर्धन नाथ योगीको नाममा रहेको जग्गा। तस्बिर : गीता कुँवर
डोटीमा तिरो (मालपोत दस्तुर) तिर्न जानुपर्ने झन्झटबाट मुक्त हुन वैद्यनाथ गुठीमा तिरो तिर्न थालेपछि लालपुर्जामा वैद्यनाथ गुठी लेखिएको दाबी स्थानीय प्रेमनाथ योगी गर्छन्। उनले भने, ‘पहिले तिरो तिर्न डोटी जानुपर्थ्यो, जान टाढा हुने भएको र मन्दिरको खर्च पनि चलोस भनेर गुठीमा तिरो तिर्न सुरु गरिएको हो, त्यसपछि लालपुर्जामा वैद्यनाथ गुठी लेखियो। अहिले विवाद त्यसैको हो। जग्गा हाम्रै हो। गुठीमा परेर समस्या भयो।’
करिब साढे तीन सय घरधुरीको जग्गा गुठीमा परेको स्थानीय लोकबहादुर बोहराले दाबी गरे। सरकारले हेरफेर नै नगरी रैकर जग्गालाई समेत गुठीमा राखेपछि कतिपयको उठिबास लाग्ने अवस्था रहेको बोहराले बताए। ‘केही बाठा र पुजारीहरूले पहिले भएको नापीमा नै गुठीको जग्गा आफ्नो नाममा गरिसके। गरिब निमुखाहरूको जग्गा गुठीमा परेको छ। थुप्रैपटक गुठीसँग छलफल गरियो। तर, अहिलेसम्म टुंगो लागेको छैन। मुद्दा लिएर काठमाडौंसमेत पुग्यौ। नेताहरूले विवाद टुग्याउने आश्वासन मात्र दिए’, बोहराले भने।
जग्गा रोक्कापछि वैधनाथ क्षेत्र विकास संस्था अछामले गुठी संस्थान केन्द्रीय कार्यालय काठमाडौंलाई रोक्काको विषयमा जानकारी गराएको पत्र।
जग्गा बेचबिखन र अन्य कारोबार गर्न नपाइने भएपछि गुठियारहरूले गुठीको केन्द्रीय कार्यालयसम्म मुद्दा लिएर पुगेका थिए। जग्गा रोक्का भएसँगै हालसम्म कर तिर्ने काम र अन्य कुनै जग्गासम्बन्धी कार्य हुन सकेको छैन। उनीहरूले स्पष्ट प्रमाण दिन नसकेपछि त्यो विवाद कायमै रहेको संस्थापक शाहले बताए। ‘जग्गा आफ्नो हो भनी दाबी गर्नेहरूले आफ्नो बाउबाजेको पालादेखि भोगचलन गर्दै आइरहेको भन्ने प्रमाण दिन सकेनन्,’ शाहले भने। ‘प्रमाण पेस गर्न ३० दिनको म्याद दिइएको थियो, म्याद सकिएपछि झन् विवाद सुरु भयो।’
रैकर जग्गा गुठीको बनायो भनेर धेरैले आफूलाई मार्नेसमेत धम्की दिएको उनले बताए। मन्दिर वरिपरिको सबै जग्गा गुठीकै रहेको शाहको दाबी छ। ‘गुठीको जग्गा अतिक्रमण गरेकाहरूले आफ्नो नाममा गरे,’ उनी भन्छन्। ‘जसको रैकर जग्गा थियो त्यो गुठीमा पर्यो, ‘एक स्थानीयले भने, ‘पुजारी गोबर्धन नाथ योगीले समेत मन्दिरको उत्तरतिरको जग्गा आफ्नो नाम गरेका छन्। मन्दिरको विभिन्न काम गर्ने भनी बोहरा, दमाई, नाथ, साउदहरूले गुठीको जग्गा भोगचलन गर्दै आएको उनले बताए।
२०६९ सालमा मन्दिरमा आयोजित कार्यक्रममा तत्कालीन राष्ट्रपति रामवरण यादव आउँदा स्थानीयले कालोपट्टीसमेत बाधेर विरोध गरेका थिए। साँफेबगर नगरपालिकाका मेयर कुलबहादुर कुँवरका अनुसार यहीँ जग्गा विवादका कारण मन्दिरमा हुने ठूला कार्यक्रमहरू प्रभावित हुँदै आएका छन्। स्थानीयहरूले महायज्ञ लगायतका विभिन्न धार्मिक कार्यक्रमहरू अवरोध गर्दै आएका मेयर कुँवरले बताए। भने, ‘गुठीको जग्गा व्यक्तिको नाममा छ र व्यक्तिको केही जग्गा गुठीको नाममा समेत परेको छ। तल्लो एउटा गरा गुठीको, माथिल्लो गरा व्यक्तिको नाममा छ। यस्तै भएकाले विवाद छ।’
नगरपालिकाले गुठी संरक्षणका लागि प्रयास गरे पनि स्पष्ट प्रमाण नहुँदा जग्गा विवादका कारण केही टुंगो लाग्न नसकेको मेयर कुँवरले बताए। अतिक्रमणमा परेको वैद्यनाथ मन्दिरको जग्गा सेती लोकमार्गसँग जोडिएकाले महँगो मूल्य पर्ने क्षेत्र हो। १ सय ६८ जना व्यक्तिहरूको नाममा रहेको लालपुर्जामा वैद्यनाथ गुठी लेखिएको छ। द्वन्द्वकालमा ०५८ सालमा जिल्लाका सरकारी कार्यालय ध्वस्त भएकाले गुठीसम्बन्धी पुराना दस्ताबेज नरहेको मालपोत कार्यालयका सूचना अधिकारी इन्द्रबहादुर चौधरीले बताए।
व्यक्तिहरूसँग लालपुर्जा भए पनि मालपोतमा भने कुनै विवरण नरहेको उनले बताए। भने, ‘विवाद सुल्झाउन पटक-पटक बैठक बस्ने गरे पनि समस्या समाधान हुन सकेको छैन। अहिले जग्गा रोक्का गरिएको छ।’ अहिलेसम्मको सबैभन्दा ठूलो १९८६ सालमा बूढीगंगा नदीमा आएको बाढीले किनारमा रहेको गुठीको जग्गा कटान गर्यो। बाढीले मूल मन्दिरमा समेत क्षति पुर्यायो। बाढीले क्षति पुर्याएको मन्दिर २०२८ सालमा पुनर्निर्माण गरिएको थियो। मन्दिर बर्सेनि बूढीगंगा नदीको कटानको जोखिममा समेत छ। – (यो सामाग्री अन्नपूर्णपोष्टबाट साभार गरिएको हो।)