× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
फिचर

हरिशयनी एकादशीको वैज्ञानिक पक्ष

Simrik Online

६ मंसिर २०८०, बिहीबार

✍️ नारायण घिमिरे

एकादशमा एक भनेको १ र दश भनेको १० हुन्छ। चन्द्र पात्रोको एकादशी अर्थात् एक जोडा दश भनेर एघारौँ दिनको (११) तिथि हो । परापूर्व कालदेखि एकादशीका दिन तेस्रो लिङ्गी, पुरुष र नारी सबै वैदिक अनुयायीहरू व्रत बस्दै आएको भेटिन्छ।

प्रत्येक २४ घण्टामा पृथ्वीले सूर्यको पूरै परिक्रमा गर्ने गर्दछ। त्यस्तै सूर्य र चन्द्रमा समेत आफ्नो आफ्नो परिक्रमा मार्गहरूमा रहन्छ। समयको विशेष अन्तरालहरूमा सूर्य, चन्द्रमा र पृथ्वी आ-आफ्नो गतिमा नियमित रहन तिनीहरू बिचको संयोजनको शक्तिमा आउने थपघटका कारण नयाँ चन्द्रमा (औँसी ) र पूर्ण चन्द्रमा (पूर्णिमा) दुवै दिनमा पृथ्वीको वायुमण्डलमा वायुको चाप द्रुत रूपमा परिवर्तन हुने वैज्ञानिक अनुसन्धान हरूले देखाएको छ।

फरक फरक समयको अन्तरालमा त्यही शक्तिका कारण वायुमण्डलमा दिन प्रति दिन वायुको दबाब परिवर्तन हुन्छ। जुन नयाँ चन्द्रमा र पूर्णिमाका दिनहरूमा समुन्द्रमा देखिने ज्वारभाटा र छालहरूको प्रकृतिको परिवर्तन मार्फत समेत महसुस गर्न सकिन्छ।

औँसीमा छालहरू धेरै आग्लो, क्रूर र विशाल देखिन्छ ।

त्यसको भोलिपल्ट वाट छालहरू शान्त हुँदै घट्दै गएको अनुभूति हुन्छ। जुन वायुमण्डलमा वायुको चाप कम हुँदै गएको सङ्केत हो। त्यसपछि विशेष गरी नयाँ चन्द्रमाको दिन वाट ११ औँ दिन वा पूर्णिमाको दिन सम्म पुग्दा वायुको दबाब धेरै हल्का वा शून्य जस्तै हुन पुग्दछ।

औँसीको समयमा चन्द्रमा पृथ्वीको अलि नजिक आउँछ। जसले गर्दा परिवर्तित गुरुत्वाकर्षण बलले पानीलाई आफूतिर तान्छ।

मानिसको मस्तिष्क र मुटुमा ७३% पानी हुने गर्दछ। फोक्सोमा ८३%, छालामा ६४%, मांसपेशी र मिर्गौलामा ७९% र हड्डीमा ३१% पानी हुन्छ।

मानिसको शरीरमा हुने पानी र अन्य तरल पदार्थलाई समेत बढ्दो चन्द्रमाको गुरुत्वाकर्षणले तनाव दिने गर्दछ।

उक्त समय तनावको समय रहने हुँदा शरीरको रोग प्रतिरोधी क्षमता कमजोर नहोस् भनी प्राय: भोकै बसिन्न।

एकादशीका दिनहरूमा वायुमण्डलीय चाप सबैभन्दा कम हुने र उक्त समयमा मस्तिष्क, मुटु, फोक्सो, छाला, मांसपेशी, मिर्गौलामा हड्डी सबै तर्फ कम दबाब पर्ने हुँदा त्यो समय हाम्रो शरीरको कोशिका भित्र जमेर रहने शरीरको लागि हानिकारक हेवी वाटर भनेर चिनिने डिऊटेरियम अक्साइड बाहिर फाल्न उपवास गरी शरीरलाई सफा गर्ने उत्तम समय रहेको देखिन्छ।

त्यही चुरो व्यवहारिक कारण अनुभव बाट बुझेर हाम्रो परम्परामा एकादशीको दिने व्रत बस्ने अत्यन्त वैज्ञानिक प्रचलन बसेको रहेछ भन्ने हाल आएर पुष्टि भएको छ।

उपवास गरिने एकादशीको दिन व्रत सँगै ध्यान र प्रार्थनामा केन्द्रित हुनु पनि अत्यन्त उपयुक्त देखिन्छ।

कारण ८३% पानी रहने फोक्सोमा उपवासको क्रममा अवशोषित हुने अक्सिजन मूलतः मनोवैज्ञानिक र आध्यात्मिक सबलता निर्माणमा अधिक भूमिका खेल्ने अवसर पाउने गर्दछ। शरीरको सम्पूर्ण शुद्धता निर्माणमा एकादशीमा हुने उपवासको राम्रो भूमिका हुने देखिन्छ।

वर्षमा पर्ने चौबीस वटा एकादशी मध्ये सबैभन्दा ठुलो एवं महत्त्वपूर्ण एकादशीको रूपमा रहेको ठुलो एकादशी भनिने आजको हरिबोधिनी एकादशी भगवान् विष्णु (हरि) को उपासना गर्ने पर्वको रूपमा लिइन्छ।

सांख्य दर्शन र वैशेषिक दर्शनको मान्यता अनुरूप चेतना (विष्णु गुण) मार्फत सबै तत्त्वको निर्माण हुने भएकोले निर्माणको गुण ब्रह्मा, नियमित सञ्चालनको गुण लाई विष्णु गुण र नयाँ निर्माणको नियतमा पुरानो लाई नष्ट गर्ने गुण (महेश्वर) शङ्कर गुण मानिएको छ।

हरेक जीवित तथा निर्जीव चिजको सृष्टिको नियमित सञ्चालनमा रहने भूमिकामा समेत त्यसको संयोजनको पात्र चेतना हुने गर्दछ।

निर्जीव रहे त्यसले बोकेको सूचना र जीवित भए त्यसको सूचना र सूचनाको अनुभूति रूपको चैतन्य शक्तिको (आत्माको) भूमिका रहने हुँदा विष्णु गुणलाई शास्त्रले सर्वोपरि गुणको रूपमा स्विकारेको देखिन्छ।

क्षीर सागरमा शयन गरेका भगवान् विष्णु कात्तिक शुक्ल एकादशीका दिन ब्युँझनु हुने मान्यता अनुरूप आज शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीको (निर्जला एकादशी) दिन वैदिक अनुयायीहरूले चिकित्सकीय दृष्टि अनुसार लगभग ८९ किसिमका रोगहरूको उपचार गर्ने क्षमता रहेको आ-आफ्ना घरमा रोपिएका तुलसीलाई पूजाआजा गरी मठमा सिँगारेर विधिपूर्वक विवाह गराउने गरिन्छ।

द्वादशीदेखि पञ्चमीसम्म होम यज्ञ गराई एकादशी व्रतको विधिपूर्वक समाप्ति गरिन्छ।

औषधीय गुणका पिपल, दुबोले शालिग्रामलाई भगवान् विष्णुको प्रतीकका रूपमा पूजा गरिन्छ।

खगोलीय दृष्टिले यो समय मानव मनोवैज्ञानिक तथा आध्यात्मिक शक्ति निर्माण गर्न तथा मानिसको सम्पूर्ण क्षमता र सम्भावनाको सदुपयोगिता निर्माणको लागि समेत अत्यन्त उपयुक्त रहेको देखिन्छ।

जुन मानव चेतनाको विकासको सन्दर्भको विषय रहेकोले आजको हरिशयनी एकादशी (निर्जला एकादशी) र पञ्चमीसम्मको पूजा आराधना वास्तवमै वैज्ञानिक पद्धति रहेको प्रस्ट हुन्छ। (क्यानडामा कार्यरत घिमिरे वरिष्ठ खाद्य तथा ओैषधी विज्ञ समेत हुनुहुन्छ।)