काठमाडौं । नेपाल आयल निगमको मासिक नाफा ३२ करोड रुपैयाँ पुगेको छ । कुनै समय घाटामा चलिरहेको निगमले अहिले नाफामा जान थालेको हो। निगमका प्रवक्तासमेत रहेका उपनिर्देशक मनोजकुमार ठाकुरका अनुसार अहिले निगमलाई १५ दिनमा १६ करोड रुपैयाँ नाफा हुने गरेको छ । यही मूल्य रहिरहेमा निगमले मासिक ३२ करोड रुपैयाँ नाफा आर्जन गर्नसक्ने अवस्था छ ।
आयल निगम अहिले समग्रमा २ अर्ब २५ करोड रुपैयाँ नाफामा छ । केही समय पहिले निगमलाई ५६ अर्ब रुपैयाँ ऋण थियो । तर उक्त ऋण सबै चुक्ता गरेर अहिले निगम यसरी नाफामा गइरहेको छ । रुस-युक्रेन युद्धका कारण कच्चा तेलको मूल्य आकाशिएपछि भारतबाट उधारोमा खरिद गर्न निगम बाध्य भएको थियो।
त्यही अनुसार सरकारले तेलको मूल्य नबढाउँदा निगम घाटामाथि घाटा खाँदै गइरहेको थियो । यस्तै सिलसिला चल्दै जाँदा निगमले सरकार र राष्ट्रिय वाणिज्य बैंकबाट १० अर्ब ऋण समेत लिएको थियो। तर अहिले निगमले उक्त ऋण चुक्ता गरेको उपनिर्देशक ठाकुरले बताए।
उनका अनुसार अहिले हवाई इन्धन आन्तरिकमा ८ रुपैयाँ र अन्तर्राष्ट्रियमा २२ रुपैयाँ नाफा छ। पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ र डिजलमा २.८० रुपैयाँ नाफा छ। एलपी ग्यासमा भने निगमलाई अहिले प्रतिसिलिन्डर ३०० रुपैयाँ घाटा रहेको ठाकुरले बताए।