× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
फिचर

केन्द्रीय अस्पतालका लागि १६ हजार दरबन्दी आवश्यक : स्वास्थ्यसचिव पोखरेल

Simrik Online

१ माघ २०८०, मंगलवार

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले केन्द्रीय अस्पतलाहरुका लागि तत्काल १६ हजार दरबन्दी तत्काल आवश्यक रहेको बताउनुभएको छ ।

मङ्गलबार सङ्घीय संसद राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो । सचिव पोखरेलले अर्थ मन्त्रालयमा सो दरबन्दीका लागि आफूहरुले गरेको प्रस्ताव स्वीकृत नभए पाँच सय केन्द्रीय अस्पतालहरु बन्द हुने अवस्था रहेको समेत स्पष्ट पार्नुभयो ।

हाल सञ्चालनको क्रममा रहेका ५, १० र १५ बेडको अस्पताल सञ्चालन लागि पनि स्वास्थ्य मन्त्रालयले दरबन्दी थपका लागि पठाइएको सो प्रस्ताव अर्थ मन्त्रालयले स्वीकृत गर्नैपर्ने सचिव पोखरेलको भनाइ थियो । उहाँले सो दरबन्दी स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पहल गरिदिन पनि समितिका सदस्यहरुसँग आग्रह गर्नुभयो । सचिव पोखरेलले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख गरिएको विशेषज्ञसहित पाँच जना चिकित्सक स्थानीय तहमा पठाउने कुरा सम्भव नरहेको पनि बताउनु भयो । यसैगरी, अस्पतालहरु बिहान ९ देखि बेलुका ८ बजेसम्म खोल्ने नीतिमा भनिएपनि कार्यान्वयन गर्नसक्ने अवस्था नरहेको उहाँले बताउनु भयो ।

‘‘अर्को एउटा नीतिमा आएको हामीले नसक्ने काम पनि छ । प्रत्येक स्थानीय तहमा विशेषज्ञ पाँच जना डाक्टर पठाउनु भन्ने पनि नीतिमा आयो । जुन सम्भव छैन । बिहान ८ देखि बेलुका ८ बजेसम्म अस्पताल खोल्नु भन्ने पनि आयो । त्यो कसरी सम्भव होला । मुख्य अर्थ मन्त्रालयबाट यो दरबन्दी र ओएनएमलाई पास गर्नका लागि सहयोग पुर्याइ दिनुहुन्छ भनेर मैले अन्तिम अनुरोध गरेँ । केन्द्रीय अस्पताल दरबन्दीको कुरा अघि उठाइएको थियो । केन्द्रीय अस्पतालको दरबन्दी हामीलाई १५ देखि १६ हजार तुरुन्तै चाहिनेछ ।,’’ सचिव पोखरेलले भन्नुभयो, ‘‘यो भएन भने हाम्रा पाँच सय बेडका केन्द्रीय अस्पतालहरु हुँदैनन् र आगामी दिनमा बन्दै गरेका ५, १० र १५ बेडका अस्पतालको एउटा प्रस्तावित दरबन्दीको आर्थिक पाटोमा नेपाल सरकारले दिएन भने ती अस्पतालहरु चल्दैनन् । यसमा हामी प्रष्ट छौं । हामीले त्यही आधारमा लविङ गरिराखेका छौं ।’’

बैठकमा बोल्नुहुँदै सांसदहरुले रोग लाग्नै नदिने गरी जनचेतनामुलक कार्यक्रम सञ्चालनमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका थिए । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) की सांसद तथा पूर्वमन्त्री डा. विमला पौडेल (राई) ले जनचेतनामुलक कार्यक्रममा ध्यान दिएर निरोगी नेपाल बनाउने अभियानमा जोड दिनुपर्ने आवश्यकता औंल्याउनु भयो ।

उहाँले भन्नुभयो, ‘‘अब यो नसर्ने रोगको विषयमा खानपान, जीवनशैलीसँग गाँसिएको विषय भएको हुनाले बढी ध्यान दिनुपर्ने भएकाले यसमा जनचेतनामा नै जोड दिनुपर्छ भन्ने मलाई लागेको छ । हामीले रोग नै लाग्न नदिने कुरामा बढी ध्यान दिनुपर्ने हुन्छ जस्तो लाग्छ मलाई । यसका लागि स्कुल एजुकेशन इम्पोटेन्ट होला । यतातिर ध्यान पुगेको छैन कि जस्तो मलाई लागिरहेको छ ।’’

सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी) की सांसद मदनकुमारी साह (गरिमा) ले जिल्लामा रहेका सरकारी अस्पतालहरु बन्द हुने अवस्थामा पुग्दा पनि संवेदनशील नभएको भन्दै सरकारको आलोचना गर्नुभयो । उहाँले प्रादेशिक स्तरमा रहेका आयुर्वेद अस्पतालहरुबाट जनताले सेवा लिन नपाएको तर्फ पनि सरकारलाई सचेत गराउनु भयो ।

सांसद साहले भन्नुभयो, ‘‘हामी स्वास्थ्यमा कति संवेदनशील छौं भन्ने कुराको उदाहरण छन धेरै अर्को चाहीँ यो आयुर्वेद औषधालयहरु प्रादेशिक रुपमा पनि छन् । त्यो छ कि छैन भन्ने नै थाहा छैन । उसले कामै गर्दैन भने के को लागि स्थापना गरिएको हो ? जनताले त्यसबाट कुनै लाभ लिन सकेको छैन भने त्यत्रो खर्च गरेको के अर्थ ?’’ सांसद साहले जनताले सेवा नपाउने अस्पतालहरुमाथि सरकारले कडा निगरानी राख्नुपर्ने बताउनु भयो ।-गोरखापत्र