काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले अब बैंकले धितोबेस कर्जा भन्दा पनि योजनामा आधारित कर्जालाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभएको छ। बुधबार काठमाडौँमा राष्ट्रिय वाणिज्य बैंकको ५९ औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो। उहाँले नेपालमा अधिकांश कर्जा धितोबेस भएकाले कर्जा भन्दा धितो बढी लिएर कर्जा दिने प्रचलन रहेको बताउनुभयो।
अर्थमन्त्री महतले अब बैंकले धितोबेस कर्जा भन्दा पनि प्रोडक्ट अर्थात् आयोजनामा आधारित भएर कर्जा प्रवाह गर्नु आवश्यक रहेको औंल्याउनु भएको हो। अर्थमन्त्री डा.महतले बैंकले प्रोजेक्टबेस कर्जा दिँदा कर्जा दिन लायक परियोजना भए/नभएको अध्ययन मूल्याङ्कन गर्नुपर्ने बताउनुभयो। उहाँले प्रोजेक्टबेस कर्जामा बैंक जाने हो भने विस्तारै धितो कर्जाको माग कम हुँदै जानसक्ने दाबी गर्नुभयो।
अर्थमन्त्री महतले भन्नुभयो, ‘‘बैंकहरुले अब धितोमा कर्जा दिने भन्दा पनि प्रोजेक्टबेस कर्जा दिनु आवश्यक छ। प्रोजेक्टबेस कर्जामा बैंक जाने हो भने विस्तारै धितो कर्जाको माग कम हुँदै जानसक्छ।’’
मन्त्री डा.महतले मुलुकको अर्थतन्त्र आर्थिक वर्ष २०७९/८० भन्दा सुधार अवस्थामा पुगेको दाबी गर्नुभयो। तर आर्थिक वर्ष २०७९/८० भन्दा सुधार अवस्थामा पुगेको भएपनि सरकारले सोचेको जस्तो नभएको स्वीकार गर्नुभयो।
उहाँले मुलुकको आवश्यकता धेरै तर सरकारसँग साधन स्रोतहरु थोरै भएकाले धेरै आवश्यकताको बिचमा थोरै साधन स्रोत हुँदा प्राथमिकिकरण नपुगेको बताउनुभयो। उहाँले सरकारले सबैभन्दा बढी आवश्यकताको क्षेत्रमा खर्च गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो। उहाँले पर्यटन आगमन अहिलेसम्मकै उच्च, अर्थतन्त्रको बाह्य परिस्थिति सकारात्मक भएकाले आशा गर्ने ठाउँ रहेको बताउनु भयो।
उहाँले भन्नुभयो, ‘‘मुलुकको अर्थतन्त्र आर्थिक वर्ष २०७९/८० भन्दा राम्रो भइसकेको छ। तर सरकारले सोचेको जस्तो भएको छैन। मुलुकको आवश्यकता धेरै छन्। साधन स्रोतहरु थोरै छन्। धेरै आवश्यकताको बिचमा थोरै साधन स्रोत सरकारसँग उपलब्ध भएको हुनाले प्राथमिकिकरण महत्त्वपूर्ण हुन्छ। सिमित राज्यको साधन स्रोतलाई बढी भन्दा बढी प्रतिफल हुने क्षेत्रलाई प्राथमिकता दिएर खर्च गर्ने भन्ने चुनौती छ। त्यसमा विस्तारै सुधार भइरहेको छ। अहिले पर्यटन आगमन अहिलेसम्मकै उच्च छ। अर्थतन्त्रको वाह्य परिस्थिति सकारात्मक छ।’’
उहाँले पर्यटन आगमन वृद्धि भएसँगै होटल वृद्धि भइरहेको भन्दै बैंकले होटलमा गरेको लगानी डुब्ने खतरामुक्त अवस्थामा आएको बताउनुभयो। उहाँले शेयर बजार र घरजग्गा कारोबार सकारात्मक भइरहेको बताउनुभयो। उहाँले राष्ट्र बैंकसँग सहकार्य गरे केही सहज बनाउन जरुरी भएकाले सहज बनाएको बताउनुभयो। उहाँले सकारात्मकतर्फ अर्थतन्त्र जाने तथ्याङ्कहरु भएकाले अब लगानी पनि बढ्ने अपेक्षा रहेको बताउनुभयो।-गोरखापत्र