× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
फिचर

क्रान्तिका बाँकी कार्यभार पूरा गर्न सङ्कल्प गरौँ: प्रधानमन्त्री

Simrik Online

१५ माघ २०८०, मंगलवार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रियता, लोकतन्त्र र जनजीविकाको पक्षमा सङ्घर्ष गर्ने क्रममा बलिदान गर्ने शहीदहरू विगत, वर्तमान र भविष्यका निम्ति समेत सबैका लागि प्रेरणाका श्रोत र पथप्रदर्शक रहेको बताउनुभएको छ ।

मङ्गलवार शहीद दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । उहाँले आजको दिन महान् शहीदहरूको स्मरणका साथै देश र जनताको मुक्ति एवं प्रगतिका निम्ति उहाँहरूले देख्नुभएको सपना र गर्नुभएको अठोटलाई शिरोधार्य गर्दै क्रान्तिका बाँकी कार्यभार पूरा गर्न सङ्कल्प गर्न आग्रह गर्नुभयो । उहाँले शहीदका सपना पूरा गर्न मन, वचन र कर्मले सबै क्रियाशील रहन आवश्यक रहेको बताउनु भयो ।उहाँले भन्नुभयो, ‘जहानियाँ राणा शासनको अन्त्य र लोकतन्त्रको स्थापनाका निम्ति वि.सं.१९९७ सालमा आफ्नो जीवनको बलिदान गर्नुहुने महान् शहीदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठ लगायतको स्मरण र सम्मानमा हामीले प्रत्येक वर्ष माघ १६ गतेलाई शहीद दिवसको रूपमा मनाउँदै आएका छौँ ।

यस सन्दर्भमा आफ्नो जीवन अर्पण गर्ने महान् शहीदहरूप्रति श्रद्धापूर्वक स्मरणका साथ हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । सम्पूर्ण बेपत्ता भएका योद्धाहरूप्रति उच्च सम्मान र स्मरण गर्दछु । नेपाली समाजको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरण र समावेशी लोकतन्त्र स्थापनाका निम्ति महान् शहीदहरूले उच्च बलिदान गर्नुभएको छ ।

राष्ट्रियता, लोकतन्त्र र जनजीविकाको पक्षमा सङ्घर्ष गर्ने क्रममा बलिदान गर्ने शहीदहरू विगत, वर्तमान र भविष्यका निम्ति समेत हामी सबैका लागि प्रेरणाका श्रोत र पथप्रदर्शक रही रहनेछन् । आजको दिन महान् शहीदहरूको स्मरणका साथै देश र जनताको मुक्ति एवं प्रगतिका निम्ति उहाँहरूले देख्नुभएको सपना र गर्नुभएको अठोटलाई शिरोधार्य गर्दै क्रान्तिका बाँकी कार्यभार पूरा गर्न सङ्कल्प गर्ने दिन पनि हो । त्यसका निम्ति मन, वचन र कर्मले हामी सबै क्रियाशील रहन सकौँ ।’

लैनचौरको सहिद स्मृति पार्कमा आयोजित कार्यक्रममा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्र मन्त्री नारायण प्रकाश साउद, काठमाडाैँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोल लगायतको उपस्थिति रहेको थियो ।- गोरखापत्र