काठमाडौं । कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा प्रस्तुत महासमिति बैठकका एजेन्डाका विषयमा केन्द्रीय सदस्यहरूले असन्तुष्टि जनाएका छन् । केन्द्रीय सदस्यहरूले प्रस्तावमाथि पर्याप्त छलफल नगरी प्रस्तुत गरिएको र समेटिनुपर्ने विषय समावेश हुन नसकेको भन्दै आलोचना गरेका हुन् । तर, शुक्रबार बैठकले सबै प्रतिवेदन परिमार्जनसहित पारित गरेको छ ।
बिहीबारबाट सुरु बैठकमा उपसभापति पूर्णबहादुर खड्काको नीतिगत, महामन्त्री गगन थापाको सांगठनिक र अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रस्ताव पेस गरेका थिए । प्रस्तावमाथि शुक्रबारबाट केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम सुरु भएको हो ।
बैठकमा केन्द्रीय सदस्य डा. शेखर कोइरालाले प्रस्तावहरूमा कांग्रेसको मौलिकताभन्दा पनि गठबन्धनको छाया देखिएको टिप्पणी गरे । उनले आसन्न महासमिति बैठकबाट सबै समस्याको मार्गचित्रसहित समाधान आउनुपर्ने बताए । ‘यहाँ प्रस्तुत प्रतिवेदन र दस्ताबेजहरू हेर्दा कता–कता गठबन्धनको छाया परेको हो कि जस्तो देखियो । महासमिति बैठकमा प्रस्तुत हुने प्रस्तावहरू कांग्रेस पार्टीको मौलिकतामा आधारित हुनुपथ्र्यो, त्यो देखिएन,’ कोइरालाको भनाइ थियो ।
उनले महासमिति बैठकले ‘विधान संशोधन मस्यौदा समिति’ बनाएर विधानलाई समयानुकूल परिमार्जन गर्न जरुरी रहेको औँल्याए । साथै, १५औँ महाधिवेशनका सन्दर्भमा प्रस्तावित कार्यतालिका कार्यान्वयनको सुनिश्चितता बैठकबाट आउनुपर्नेमा उनको जोड थियो ।
केन्द्रीय सदस्य प्रदीप पौडेलले केन्द्रीय समिति बैठकमा पेस भएका विभिन्न दस्ताबेजमा समस्या पहिचान गरिए पनि समाधानका विषयमा मौन रहेको बताए । दस्ताबेजहरूले सुशासनका विषय उठाए पनि ठोस कार्ययोजना ल्याउन नसकेको पौडेलको आरोप थियो ।
‘सुशासनका लागि छुट्टै मन्त्रालय बनाउने कि ? अख्तियार अनुसन्धान आयोगलाई रिफर्म गरेर निष्पक्ष र अधिकारसम्पन्न बनाउने कि ? सम्पत्ति शुद्धीकरण आयोगलाई अधिकारसम्पन्न बनाउने कि ? वा अन्य कुनै विकल्प अपनाएर जान सकिन्छ कि ? भनेर यस्ता विषयमा कांग्रेसले सुशासन प्राप्त गर्न कस्तो प्रस्ताव लैजाने भन्ने विषयमा कुनै ठोस योजना आउन सकेन,’ उनले भने ।
केन्द्रीय सदस्य नैनसिंह महरले नीति, सांगठनिक र समसामयिक राजनीतिक प्रस्तावको स्वामित्व लिने अवस्था नरहेको बताए । महरले प्रस्तावहरू केन्द्रीय सदस्यसँग छलफल नगरी तयार भएकाले आफूले फरक प्रस्ताव राख्ने बताएका थिए । ‘केन्द्रीय समितिमा आएका प्रस्तावहरू ल्याउँदा समितिको निर्णय भने पनि आजसम्म संयोजकबाहेक केन्द्रीय सदस्यसँग छलफल भएन । महासमितिमा केन्द्रीय समितिका रूपमा पेस हुने प्रस्तावमा हामीले स्वामित्व लिने अवस्था देखिएको छैन ।’
प्रस्ताव निर्माणका लागि समितिसमेत नबनाएको उनको आरोप थियो । हरेक चार वर्षमा कांग्रेसको महाधिवेशन मंसिरमा गर्ने प्रबन्ध वैधानिक रूपमा गर्नुपर्नेमा पनि उनको जोड थियो ।
केन्द्रीय सदस्य प्रा.डा. गोविन्दराज पोखरेलले प्रस्तावमा महाधिवेशन कार्यतालिकासहित धेरै राम्रा विषय समेटिएको धारणा राखे । साथै, आर्थिक समस्या समाधान, सहकारी तथा बैंकका समस्या, कृषि उत्पादनलाई प्राथमिकता दिने नीति तय गर्न र उद्यमी बढाउने गरी कांग्रेसका नीति बन्नुपर्ने औँल्याए ।
महामन्त्री थापाको आगामी निर्वाचनमा गठबन्धन नगर्ने र महाधिवेशनको कार्यतालिकासहितको प्रस्ताव सकारात्मक भएको उनको धारणा थियो । ‘अबका निर्वाचनमा रुखमा मात्र मत दिनुपर्ने अवस्था हुनेछ भन्ने प्रस्तावले आमकांग्रेसजनमा उत्साह थपेको छ,’ उनले भने, ‘१५औँ महाधिवेशनको तालिका धेरै ठीक छ । हामीले हाम्रा प्रतिबद्धताहरू पूरा गर्यौँ भने जनतामा कांग्रेसले सबै समयमा गर्छ भन्ने सन्देश दिन जरुरी छ ।’
केन्द्रीय सदस्य कल्याण गुरुङले १५औँ महाधिवेशनबाट केन्द्रदेखि तल्लो तहसम्मका पदाधिकारी सबै राज्यको कार्यकारी पदमा जान नपाउने व्यवस्था गरेर एक व्यक्ति एक जिम्मेवारीको अवस्था ल्याउनुपर्ने धारणा राखे । साथै, उनले पदाधिकारी र केन्द्रीय सदस्य स्वतः महासमिति सदस्य हुने व्यवस्था परिमार्जन गर्नुपर्ने मत राखे । साथै आर्थिक नीतिका रूपमा मासिक रूपमा पारिश्रमिकको व्यवस्था हटाएर साप्ताहिक रूपमा पारिश्रमिक उपलब्ध गराउने व्यवस्था समेट्न उनको सुझाव थियो ।
अर्का केन्द्रीय सदस्य जितजंग बस्नेतले सांगठनिक प्रस्तावमा विधानमा नभएका ‘युथ कांग्रेस’ प्रस्तावमा आएको, विधानमा व्यवस्था हुँदाहुँदै १५औँ महाधिवेशनको कार्यतालिका ल्याएकोलगायतका विषयमा असहमति राखे । ‘प्रतिवेदन हेर्दा कांग्रेसलाई अर्को पार्टीमा रूपान्तरण गर्न लागेको हो कि भन्ने भयो,’ उनले भने ।
केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँग गठबन्धनको विषयमा दिएको अभिव्यक्तिबारे महासमिति बैठकले टिप्पणी गर्नु आवश्यक रहेको बताए । महासमिति बैठक नीति अधिवेशनसमेत गर्ने गरी ७ देखि १० फागुनमा गोदावरीमा हुँदै छ । बैठक आज पनि निरन्तर हुनेछ । – नयाँ पत्रिका ।