काठमाडौं । एक महिनासम्म निरन्तर चलेको श्री स्वस्थानी व्रत आजबाट समापन भएको छ । पौष शुक्ल पूर्णिमाका दिनबाट श्री स्वस्थानीको महिमा वर्णन गर्ने कथाहरुको वाचन र व्रत आज आज माघ शुक्ल पूर्णिमाका दिनबाट विधिवत रूपमा समापन हुने परम्परा छ । काठमाडौंमा अवस्थित शालीनदीमा एक महिनादेखि जारी श्रीस्वस्थानी मेला पनि आजैबाट समापन भएको छ । पौराणिक कथनअनुसार हिमालय पर्वतकी छोरी पार्वतीले स्वस्थानी व्रत बसी महादेव स्वामी पाएको धार्मिक जनविश्वासका आधारमा यो व्रत बस्ने परम्परा रहिआएको हो ।
स्कन्द पुराणअन्तर्गतको केदारखण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यमुनि बीच भएको संवादलाई स्वस्थानी कथाका रूपमा भन्ने र सुन्ने गरिन्छ । आजै मध्याह्नकालपछि विधिपूर्वक पूजा लगाई व्रत समापन गरी रात्रिमा जाग्राम बसेर अर्को दिन बिहान फूलपाती नदीमा सेलाएपछि श्रीस्वस्थानी व्रत विधिपूर्व समापन हुन्छ।