× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
फिचर

नयाँ सत्ता गठबन्धन पछि कुन प्रदेसमा को बलियो ? विवरणसहित

Simrik Online

२२ फाल्गुन २०८०, बुधबार

काठमाडौं । नयाँ सत्ता गठबन्धन बनेसँगै प्रदेश सरकारहरू पनि पुनर्गठनको तयारी अवस्थामा रहेका छन्, कोहि मन्त्रीहरुले राजिनामा दिए भने केही प्रदेशमा प्रदेशमुख्यमन्त्रीले मन्त्रीहरु हटाउन थालिसकेका छन् । कांग्रेसले नेतृत्व गरेको कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री नै परिवर्तन हुने देखिएका छन् । अन्य प्रदेशमा भने नेकपा एमालेलाई मात्रै समेटे हुने भएको छ ।
यी चारवटै प्रदेशमा एमालेले मुख्यमन्त्री दाबी गरेको छ । एमाले नयाँ बनेको गठबन्धनको मुख्य दल रहेको छ । दलका उपमहासचिव प्रदीप ज्ञवालीले दिएको जानकारीअनुसार गठबन्धन दलहरूबीच एमालेले यी चारवटै प्रदेश पाउने भन्ने समझदारी भइसकेको छैन ।
सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्तिले दाबी गरेको छ । यसअघि पनि उन्मुक्तिले मुख्यमन्त्री दाबी गरेको थियो । त्यसबेला मुख्यमन्त्री पाएन । मन्त्रीमा उन्मुक्तिले चित्त बुझाउनुपर्यो । अहिले पनि सम्भावना त्यस्तै देखिएको छ ।
जनमत पार्टीले मधेस प्रदेशको नेतृत्व पाउनुपर्ने सर्त प्रधानमन्त्री पुष्पकमल दाहालसँग राखेको छ । प्रधानमन्त्रीले भने ‘ग्रिन सिग्नल’ दिइसकेका छैनन् । कारण, कुन प्रदेशमा कुन दलले मुख्यमन्त्री पाउने भन्ने टुंगो लागेको छैन । तर, पनि नयाँ गठबन्धनले प्रदेशहरूमा सरकार गठन गर्ने भएका छन् ।
कोशीमा एमालेले त्यहाँका मुख्यमन्त्री केदार कार्कीको राजीनामा मागिसकेको छ । कार्की एमालेकै समर्थनमा यसअघि मुख्यमन्त्री भएका थिए । पछि माओवादीसहितका दलहरूको समर्थन प्राप्त भएपछि उनको पद जोगिएको थियो । सोमबारको राजनीतिक घटनाक्रमले भने सत्ताच्युत हुने अवस्थामा आइपुगेका छन् ।
कोशीमा सरकार गठनका लागि नयाँ गठबन्धनसँग स्पष्ट बहुमत छ । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ सदस्य भए पुग्छ । जबकि, एमालेसँग ४० जना र माओवादीसँग १३ जना सांसद छन् । जनता समाजवादी पार्टी (जसपा)सँग १ जना सांसद छन् । यी तीन दलको जोड्दा ५४ जना पुग्छ । त्यसमा माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी समेटिएको अवस्थामा ५८ पुग्छ । यो भनेको दुईतिहाइ बहुमतका लागि मात्रै ४ सांसद कम हो । यहाँ कांग्रेससँग २९ र राप्रपासँग ६ जना गरी ३५ जना सांसद छन् । यी दुई दलबीच सहकार्य भए पनि कोशीमा नयाँ गठबन्धनको सरकार नबन्ने निश्चित देखिएको छ ।

मधेस प्रदेशमा नयाँ गठबन्धनले नै सरकार बनाउने सम्भावना छ । १०७ सिट रहेको मधेसमा सरकार गठनका लागि ५४ सिट आवश्यक हुन्छ । त्यहाँ एमालेको २३ जना, जनता समाजवादी पार्टीको १८जना , नेकपा माओवादी केन्द्रको ९ जना , नेकपा एकीकृत समाजवादीको ७ जना र नागरिक उन्मुक्ति पार्टीको १ जना सांसद छन् । यहाँ यी दलहरूका सांसद संख्या ५८ पुग्छ । यस्तो अवस्थामा यहाँ पनि नयाँ गठबन्धनको सरकार बन्ने देखिन्छ ।
यहाँ कांग्रेससँग २२, जनमतसँग १३, लोसपासँग ९, नेपाल संघीय समाजवादी र राप्रपासँग एक-एकजना सांसद छन् । यी दलहरू सत्ता सहकार्यका लागि मिले पनि ४४ जना सांसद मात्रै पुग्ने स्थिति छ । यसकारण मधेसमा नयाँ गठबन्धनको सरकार बन्ने देखिएको छ ।
बागमती प्रदेशमा भने नयाँ गठबन्धनलाई सरकार बनाउन केही असहज छ । ११० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ५६ सांसद चाहिन्छ । त्यहाँ एमालेका २७, माओवादीका २१ र नेकपा एकीकृत समाजवादीका ७ जना सांसद छन् । यी तीन दलको सांसद संख्या ५५ पुग्छ । एक जना सांसद पुग्दैन । यसले गर्दा यहाँ भने नयाँ गठबन्धनलाई सरकार बनाउन असहज छ । यस्तोमा त्यहाँ कांग्रेस नेतृत्वको सरकार बन्न सक्ने सम्भावना गठबन्धनको जत्तिकै छ । हाल त्यहाँ माओवादीका नेता सालिकराम जमकट्टेल नेतृत्वको सरकार छ ।
६२ सदस्यीय गण्डकी प्रदेशमा सरकार गठनका लागि ३२ सांसद चाहिन्छ । यहाँ एमालेको २२ जना र माओवादीको ८ जना तथा एकीकृत समाजवादीको १ जना सांसद छन् । यी तीन दलको सांसद संख्या ३१ जना हो । जुन सरकार गठनका लागि १ जना सांसद अभाव हो । यहाँ २ सांसद रहेको राप्रपालाई सरकारमा ल्याइएन भने सरकार गठन असम्भव छ । गण्डकी प्रदेश संसद्मा कांग्रेससँग २७ जना सांसद छन् । सरकार गठनका लागि कांग्रेसलाई यहाँ ५ जना सांसद अभाव हो ।
यस्तै, ८७ सिट रहेको लुम्बिनी प्रदेशमा सरकार गठनका लागि ४४ सिट आवश्यक हुन्छ । यहाँ गठबन्धनको मुख्य दल एमालेसँग २९, माओवादीसँग ११, नागरिक उन्मुक्तिसँग ४ र जसपासँग ३ जना गरी ४७ जना सांसद छन् । यो भनेको सरकार गठनका लागि आवश्यकताभन्दा बढी सांसद संख्या हो । अझ नेकपा एकीकृत समाजवादीको १ जना सांसद जोड्दा यहाँ ४८ जना सांसद पुग्ने देखिएको छ । यहाँ कांग्रेसका डिल्ली चौधरी नेतृत्वको सरकार धरमरमा परेको छ ।
कर्णाली प्रदेशमा पनि गठबन्धनले सरकार सहजै बनाउने भएको छ । ४० सिट रहेको प्रदेशमा सरकार गठनका लागि २१ सांसद चाहिन्छ । त्यहाँ माओवादीका १३ र एमालेका १० जना सांसद छन् । यी दुई दलकै सांसद संख्या २३ छ । यसमा एकीकृत समाजवादीको १ जना सांसद थपिँदा २४ सांसद पुग्छ । यहाँ पनि गठबन्धनको सरकार बन्ने निश्चित देखिएको छ ।
सुदूरपश्चिम प्रदेशमा नयाँ गठबन्धनकै सरकार बन्ने भएको छ । ५३ सदस्यीय प्रदेश संसद्मा २७ जना सांसद सरकार गठनका लागि आवश्यक हुन्छ । यहाँ माओवादीसँग ११, एमालेसँग १०, नागरिक उन्मुक्तिसँग ७ जना र एकीकृत समाजवादीसँग ४ जना सांसद छन् । यी दलसँग ३२ जना सांसद छन् । यो भनेको सरकार गठनका लागि आवश्यक बहुमत हो । यहाँ कांग्रेसको १९ जना सांसद छन् । १ जना स्वतन्त्र सांसद छन् ।