× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
आर्थिक

एनसेलको राष्ट्रव्यापी सचेतना अभियान सुरु

Simrik Online

२५ फाल्गुन २०८०, शनिबार

काठमाडौं । एनसेलले मेरी स्टोप्स इन्टरनेसनल नेपाल र अस्ट्रेलिया सरकारको विदेश मामिला तथा व्यापार विभागसँगको संयुक्त सहकार्यमा पाठेघरको मुखको क्यान्सरको परीक्षण र रोकथामका लागि राष्ट्रव्यापी सचेतना अभियान सुरु गरेको छ ।
एनसेलसँगको साझेदारी र अस्ट्रेलियन सरकारको वैदेशिक मामिला तथा वाणिज्य विभागको सहयोगमा मेरी स्टोप्स इन्टरनेसनल नेपालले बिहीबार सो सचेतना अभियानको घोषणा गरेको हो । यस अभियानको मुख्य उद्देश्य अभियान लागू हुने जिल्लाहरूमा पाठेघरको मुखको क्यान्सरको परीक्षण गर्ने र खोपको माध्यमबाट पाठेघरको मुखको क्यान्सर रोकथाम गर्न सघाउ पु-याउने रहेको छ । पाठेघरको मुखको क्यान्सर नेपालमा महिलाहरूमा हुने क्यान्सरहरूमध्ये पहिलो स्थानमा पर्छ, जसको कारण महिलाहरूले अकालमै ज्यान गुमाउनुपरेको तथ्याङ्कले देखाउँछ । सन् २०२२ मा मात्रै २ हजार १ सय ६९ जना महिलाहरूमा पाठेघरको मुखको क्यान्सर भएको पाइएको थियो भने यस रोगको कारण १ हजार ३ सय १३ जनाले आफ्नो ज्यान गुमाएका थिए ।

यो अभियान सञ्चालनका लागि एनसेलको बृहत् नेटवर्क, सामाजिक सञ्जाल र मेरी स्टोप्स इन्टरनेसनल नेपालको समुदायस्तरमा रहेको उपस्थितिको उपयोग गरिनेछ । यसबाहेक यस अभियानले पाठेघरको मुखको क्यान्सर रोकथाम र उपचारको बारेमा महत्वपूर्ण जानकारी फैलाउन विभिन्न सञ्चार माध्यमहरू प्रयोग गर्नेछ ।

यही महिना अर्थात् मार्च २०२४ देखि सञ्चालन हुने यस सचेतना अभियानअन्तर्गत नौदेखि ४९ वर्ष उमेर समूहका किशोरी तथा महिलाहरूलाई लक्षित गरी विभिन्न क्रियाकलापहरू सञ्चालन गरिनेछन् । एनसेलको सेवा सञ्जालको पहुँचलाई उपयोग गर्दै यस अभियानका लागि पाठेघरको मुखको क्यान्सर रोकथाम र उपचारको बारेमा महत्वपूर्ण जानकारी प्रवाह गरिनेछन् । त्यसैगरी आमसञ्चार माध्यम, सामाजिक सञ्जाल र सामुदायिक संलग्नतालगायत विभिन्न सञ्चार माध्यमको प्रयोग गरिनेछन् ।

यस सचेतना अभियानअन्तर्गत सचेतनामूलक अभियान सञ्चालन गर्ने, विभिन्न सञ्चार माध्यमबाट जनहितमा जारी सूचनाहरू सम्प्रेषण गर्ने, सचेतनामूलक दृश्यश्रव्य सामग्रीहरू तयार पारी प्रसारण गर्ने, ‘वाकाथन’ को आयोजना गर्ने, अभियानका सन्देशलाई आउटबाउन्ड रिङटोन र एसएमएसमार्फत लक्षितवर्गसम्म पुर्याउनेजस्ता कार्यक्रमहरू रहेका छन् । यसबाहेक यस वर्षको अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा मेरी स्टोप्स इन्टरनेसनल नेपालले ५० जना सेवाग्राहीलाई निःशुल्क स्क्रिनिङ सेवा प्रदान गरिने बताइएको छ । यी संयुक्त प्रयासहरूमार्फत सञ्चालन हुने यस सचेतना अभियानले पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ तथा खोपको महत्वको बारेमा जानकारीमा पहुँच बढाउने दाबी गरिएको छ ।