काठमाडौं । बैंकिङ प्रणालीमा निक्षेप थुप्रिँदा पछिल्ला प्रत्येक महिना ब्याजदर घट्दै गएको छ । हुन पनि प्रणालीमा पैसा अधिक हुँदा नेपाल राष्ट्र बैंकले प्रायः प्रणालीबाट विभिन्न उपकरणबाट अर्बौं रुपैयाँ तानेर सन्तुलन कायम गर्नुपरेको छ । बजारमा एकातर्फ पैसा जम्मा गर्ने अधिक र अर्कोतर्फ कर्जाको माग नहुँदा यस्तो स्थिति आएको हो ।
हालसम्म समग्र बैंक तथा वित्तीय संस्थाबाट ६१ खर्ब ७५ अर्ब रुपैयाँ निक्षेप संकलन हुँदा कर्जा भने ५० खर्ब ८८ अर्ब रुपैयाँ मात्र प्रवाह भएको छ । यसो हुँदा बैंकहरूको सीडी रेसियो औसत ७९.९९ प्रतिशत छ । जबकि बैंकहरूलाई कर्जा निक्षेपको अनुपात (सीडी रेसियो) ९० प्रतिशत अधिकतम तोकिएको छ । यो भनेको बैंकहरूले १०० रुपैयाँ लिँदा ९० रुपैयाँसम्म लगानी गर्न पाउँछन् । तर बैंकसँग यतिबेला तर कुसन १०.०१ प्रतिशत अर्थात् करिब ४ खर्ब ८८ अर्ब रुपैयाँ कर्जा प्रवाह गर्ने पैसा प्रणालीमा देखिन्छ । बैंकिङ प्रणालीमा निक्षेप थुप्रिँदा र कर्जाको माग नहुँदा लगानीयोग्य पुँजी (तरलता) पर्याप्त छ । यसो हुँदा बैंकहरूले निक्षेपको ब्याजदर पछिल्ला महिना घटाउँदै आएका छन् ।
परिणामस्वरूप गत असोजमा दोहोरो अंकमा भएको निक्षेपको ब्याजदर एकल अंकमा झरेको हो । सञ्चालनमा रहेका वाणिज्य बैंकहरूकै व्यक्तिगत मुद्दती निक्षेप औसत ७.७७ प्रतिशतमा सीमित भएको छ । जबकि ६ महिनाअघि गत असोजमा मात्रै औसत मुद्दती निक्षेपको ब्याजदर १०.२३ प्रतिशत थियो । यसपछिका महिनामा क्रमशः घट्दै कात्तिकमा औसत ९.९६ प्रतिशत, मंसिरमा ८.९९, पुसमा ८.१६ र माघमा ७.७७ प्रतिशतमा झरेको छ । अब सोही दरले निक्षेप दर घटिरहँदा संस्थागत निक्षेपलाई कम ब्याज हुने गरेको थियो । हाल व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ८ प्रतिशत ब्याज दिएका बैंकले संस्थागत मुद्दतीमा ६ प्रतिशत दिएका छन् ।
तर अब भने संस्थागत निक्षेपकर्तालाई खुसीको खबर छ । यसअघि संस्थागत निक्षेपको ब्याजदर व्यक्तिगत निक्षेपकर्ताको भन्दा २ प्रतिशत बिन्दु कम हुनुपर्थ्यो । अब यो चैत्रदेखि भने संस्थागत निक्षेपको ब्याजदर १ प्रतिशत बिन्दुमात्रै कम भएको छ । यसबारे नेपाल राष्ट्र बैंकले जारी गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा कार्यान्वयनका लागि बिहीबार निर्देशन पनि दिइसकेको छ । सो निर्देशनअनुसार बैंकहरूले चैतदेखि व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजअन्तर १ प्रतिशत मात्रै कायम गर्नु परेको हो ।
कुन खातामा कति थुप्रियो निक्षेप ?
समग्र बैंक तथा वित्तीय संस्थाको ठूलो हिस्सा ओगट्ने वाणिज्य बैंकमा निक्षेप संकलन राम्रै गतिमा छ । एक वर्षकै अन्तरमा निक्षेप वृद्धि १४.८४ प्रतिशतले बढेको छ । अर्थात् नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको ७ महिनाको तथ्यांकअनुसार वार्षिक ६ खर्ब ८७ अर्ब ७४ करोड ६३ लाख रुपैयाँ निक्षेप जम्मा भएको छ । २०७९ माघसम्ममा ४६ खर्ब ३२ अर्ब ७५ करोड ६३ लाख रुपैयाँ रकम बचत खातामा थियो । २०८० माघमा बढेर ५३ खर्ब २० अर्ब ५० करोड २७ लाख रुपैयाँ पुगेको छ । अझ फागुन अन्त्यमा बढेर वाणिज्य बैंकको मात्रै निक्षेप ५४ खर्ब ६२ अर्ब रुपैयाँ पुगेको छ ।
बैंकमा व्यक्तिगत र संस्थागत बचत खाता खोलेर रकम जम्मा तथा कारोबार गर्न सकिन्छ । दुवै खालको गरेर वाणिज्य बैंकको साधारण बचत खातामा मात्रै माघसमममा १४ खर्ब ९३ अर्ब ४४ करोड १५ लाख रुपैयाँ निक्षेप संकलन भएको छ । यो गत वर्षको सोही अवधिको भन्दा २१.७१ प्रतिशत (२ खर्ब ६६ अर्ब ३९ करोड) रुपैयाँले बढी हो । कुल निक्षेपमा मुद्दती निक्षेपको अनुपात ५८.०७ प्रतिशत छ भने बचतको २७.६९, करेन्ट खाताको ७ प्रतिशत र कल निक्षेपको ६.४६ प्रतिशत छ ।
मुद्दती निक्षेप खातामा भने एकमहिने वा ३ महिनासमम खासै आकर्षण देखिँदैन । तर ३ महिनादेखि ६ महिने, एकवर्षे र सबैभन्दा बढी दुईवर्षे वा सो भन्दामाथि मुद्दती राख्ने ग्राहकहरू अधिक छन् । निश्चित समयसीमामा आकर्षक ब्याजदर हुने भएकाले बढी अवधिको बचतमा सर्वसाधारणको आकर्षण देखिन्छ । यसैले मुद्दतीमध्ये दुई वर्ष र यसभन्दा बढी अवधिमा कुल मुद्दतीको ३४.०९ प्रतिशत हिस्सा ओगटेको छ । अर्थात् कुल मुद्दती निक्षेप ४ खर्ब १ अर्ब ४७ करोड ४१ लाख रुपैयाँमध्ये १ खर्ब ३६ अर्ब ८४ करोड हाराहारीको रकम २ वर्ष र यसभन्दामाथि अवधिका छन् ।
यसैगरी, छोटा अवधिको कल खातामा ३ खर्ब २२ अर्ब ४७ करोड ३४ लाख रुपैयाँबराबरको निक्षेप संकलन भएको छ । यो गत आवको भन्दा २४.२१ प्रतिशत अर्थात् ६२ अर्ब ८५ करोड ८८ लाख रुपैयाँ बढी हो ।
समग्रमा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को अनुपातमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ११४.३४ प्रतिशत छ । जसमा वाणिज्य बैंकसँगको अनुपात १०१.१५ प्रतिशत, विकासको १०.९५ प्रतिशत र वित्त कम्पनीको २.२४ प्रतिशत छ ।
निक्षेप खाता संख्या ५ करोड, कर्जा खाता भने १९ लाख
बैंक तथा वित्तीय संस्थाहरूमा ५ करोड ४० लाखभन्दा धेरै निक्षेप खाता संख्या र १८ लाख ७१ हजारभन्दा धेरै कर्जा खाताहरू सञ्चालित छन् । निक्षेप खाताको तुलनामा कर्जा खाता ज्यादै न्यून छ । यसो हेर्दा बैंकमा खाता खोलेर पैसा जम्मा गर्नेको पहुँच बढे पनि कर्जाको पहुँच कम छ ।
यद्यपि बचत खाता भने कुल जनसंख्याभन्दा झन्डै दोब्बर देखिन्छ किनभने एउटै व्यक्तिको नाममा ६-७ बचत खाता खोल्ने प्रवृत्तिले अधिक देखिएको बैंकरहरू बताउँछन् । नेपाल राष्ट्र बैंकको विभिन्न अध्ययनले पनि दोहोरो बैंक खाता हुने अधिक भएको निचोड निकालेको छ । – अन्नपूर्णपोष्ट ।