काठमाडौं । राजस्व अनुसन्धान विभागले पूर्ण विदेशी लगानी भएको कम्पनी कोटिभिटी नेपालविरुद्ध १० अर्ब रुपैयाँभन्दा बढीको कर छली सम्बन्धी मुद्दा दायर गरेको छ ।
अमेरिकी सफ्टवेयर कम्पनी कोटिभिटीले उसको नेपाली कम्पनीलाई अफसोर डेभलपमेन्ट सेन्टर भनेको छ ।
कोटिभिटी नेपालले तीन तरिकाले कर छली गरेको पाइएकको दाबीसहित विभागले आइतबार पाटन उच्च अदालतमा मुद्दा दायर गरेको हो ।
“कम्पनीले प्रचलित कर कानुनबमोजिम तिर्नु/बुझाउनुपर्ने आयकर ऐन, २०५८ बमोजिमको कर तथा मूल्य अभिवृद्धि ऐन, २०५२ बमोजिमको कर राजस्वसमेत दाखिला नगरी राजस्व चुहावट गरेको हो,” विभागले जारी गरेका विज्ञप्तिमा उल्लेख छ ।
कसरी गर्यो कर छली ?
कम्पनीले पटकपटक स्वामित्व परिवर्तन हुँदा पुँजीगत लाभ कर नतिरेको पाइएको राजस्व अनुसन्धान विभागले बताएको छ ।
भ्याट छुट नपाउने निर्यातमा भ्याट छुट लिएर पनि कम्पनीले कर छली गरेको विभागको भनाइ छ ।
भ्याट फिर्ता नपाउने कारोबारमा पनि कोटिभिटी नेपालले भ्याट फिर्ता लिएको पाइएको विभागले जनाएको छ ।
विभागका अनुसार कम्पनीले भ्याट नै नतिरेको अवस्था भ्याट रिफन्ड लिएको छ ।
कम्पनीविरुद्ध ५ अर्ब १८ करोड बिगोदाबी र ५ अर्ब १८ करोड जरिवानासहित १० अर्ब ३६ करोड ४५ लाख २२ हजार ६४२ मागदाबी गरेर अभियोग दायर गरिएको विभागले विज्ञप्तिमार्फत जनाएको छ । – १२खरी ।