सोलुखुम्बु । जंगलमा लागेको डढेलो बस्तीमा सल्किएपछि आगलागी हुँदा सोलुखुम्बु जिल्लाको नेचासल्यानमा ५ घर जलेर नष्ट भएका छन् । आगलागीबाट ६० लाख भन्दा बढीको क्षति भएको छ । जंगलमा लागेको डढेलो बस्तीमा छिरेपछि गाउँपालिकाको वडा नम्बर २ देउपुजेमा मंगलबार साँझ भएको आगलागीबाट तीनवटा घर र दुईवटा मतान घरसहित त्यसभित्र भएका भाँडाकुडा र लत्ताकपडा जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय नेचासल्यानका कार्यालय प्रमुख प्रहरी निरीक्षक दिपेन्द्र ठाकुरले जानकारी दिनुभयो । स्थानीय, प्रहरी, सशस्त्र प्रहरी र सोलुदुधकुण्ड नगरपालिकाको दमकलको प्रयासबाट अहिले आगलागी पूर्ण नियन्त्रणमा आएको उहाँले बताउनुभयो।
आगलागीबाट स्थानीय केशव राईको एकतले भूकम्पको घर, दुईतले ढुंगामाटाले बनेको खरको छानो भएको मतान घर, शक्ति राइको टीनको छाना भएको ढुँगामाटाले बनेको तीन तले घर, खरको छानो भएको उनकै एकतले मतान घर र शक्तिकै बुवा धनशेर राईको काठले बनेको १ तल्ले ग्वाली घर, करबिर राईको ढुङ्गाको छानो भएको ढुङ्गा माटोले बनेको तीन तल्ले घर जलेर पूर्णरूपमा नष्ट भएको प्रहरीले जनाएको छ। – (सांकेतिक तस्बिर)