काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ५ करोड १९ लाख ६३ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३९ दशमलव ९९ प्रतिशत अर्थात् करिब ४० प्रतिशतले बढी हो ।
अघिल्लो आर्थिक वर्षको तेस्रो त्रैमाससम्म भने कम्पनीले ३ करोड ७१ लाख रूपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । कम्पनीको बिक्री आम्दानी पनि ६३ दशमलव ९१ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले बिक्रीबाट ९ अर्ब ४५ करोड रूपैयाँ आम्दानी गरेको छ । कम्पनीले यो अवधिसम्म २ करोड ७३ लाख रूपैयाँ बराबरको अन्य आम्दानी गरेको बताइएको छ ।
कम्पनीले कर्मचारी खर्च २७ करोड १७ लाख र १६ करोड १२ लाख रूपैयाँ प्रशासनिक खर्च गरेको उल्लेख गरेको छ ।
कम्पनीको जगेडा तथा मुनाफा कोषको आकार २ अर्ब ३९ करोड रूपैयाँ रहेको छ । यस्तै, कम्पनीको चालू सम्पत्ति ६ अर्ब ७६ करोड र कुल चालू दायित्व ७ अर्ब १४ करोड रूपैयाँ रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) २१ दशमलव ६० रूपैयाँ, प्रतिशेयर नेटवर्थ ३८९ दशमलव ५५ रूपैयाँ, प्रतिशेयर कुल सम्पत्तिको मूल्य २ हजार ७ सय ९७ दशमलव १४ रूपैयाँ र मूल्य आम्दानी अनुपात २०८ दशमलव २१ गुणा कायम भएको छ ।