× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
अन्तर्राष्ट्रिय समाचार

विश्वको चौथो ठूलो अर्थतन्त्र बन्दै भारत, १० वर्षमा दुई त्रिलियनको वृद्धि

Simrik Online

२९ बैशाख २०८१, आईतवार

सन् २०२५ मा भारत विश्वको चौथो ठूलो अर्थतन्त्र भएको राष्ट्र बन्ने लगभग पक्का छ । जापानलाई उछिन्दै भारत अर्थतन्त्रलाई बलियो बनाउँदै उक्लिँदै छ र निकट भविष्यमा जर्मनीलाई पनि जित्ने दाउमा छ । कुनैबेला विश्वको दोस्रो ठूलो अर्थतन्त्रमा निर्वाध राज गरिरहेको जापान अहिले भारत चौथो ठूलो अर्थतन्त्र हुने खबरले आक्रोशितसमेत छन् ।

अन्तर्राष्ट्रिय मुद्रा कोषको तथ्यांक अनुसार सन् २०२५ सम्म भारतको कूल ग्राहस्थ उत्पादन (जीडीपी) ४.३४ त्रिलियन पुग्नेछ। जापानको जीडीपी भने सो समय ४.३२ त्रिलियन रहने प्रक्षेपण छ । जापानी येन कमजोर बनिरहँदा कोषले पूर्वनिर्धारण गरेको समय भन्दा अघि नै भारत चौथो ठूलो अर्थतन्त्र बन्नेतर्फ अग्रसर भएको हो।

‘यो जापानका लागि ठूलो चिन्ताको विषय हो। यसबारे खुलारुपमा थोरै मानिसले मात्रै बोलिरहेका छन् किनभने यो निकै लज्जाको विषय हो र यसको समाधान गर्न पनि गाह्रो छ, ’ फुजित्सु ग्लोबल मार्केट इन्टेलिजेन्स युनिटका प्रमुख अर्थशास्त्री मार्टिन सुल्जले भने ।

जापानले अर्थतन्त्रमा समस्या भोगेको भर्खरै भने होइन । सन् २०१२ मा सिज्नो आबे प्रधानमन्त्री हुँदा नै समस्या पहिचान भएको थियो । अनि जापानको अर्थतन्त्रलाई उकास्न ‘आबेनोमिक्स’ योजना अघि सारिएको थियो। त्यसपछि केही सुधारहरु देखिए तर त्यसले पूर्णता भने पाउन सकेन । कारण – युवा जनशक्तिको अभाव ।

सुल्ज भन्छन्, ‘आबेनोमिक्सको मुख्य उद्देश्य नै व्यापारलाई कसरी बढाउने भन्ने थियो । तर उत्पादन बनाउन संस्थागत सुधारहरु चाहिन्थ्यो । तर वृद्धवृद्धाको बढ्दो संख्यासँग ग्रुजिरहेको देशमा त्यो निकै गाह्रो थियो ।’

यस्तै, कोरोना भाइरस महामारी र रसिया-युक्रेन युद्धले पनि जापानको अर्थतन्त्रलाई प्रभावित गर्‍यो । जसकारण पछिल्लो समय जापानी येन निकै कमजोर हुँदै गयो ।

टोकियोको निक्को एसेट म्यानेजमेन्टका प्रबन्ध निर्देशक नियोमी फिन्क अब भारतमा भइरहेको पूर्वाधारको लगानीसँग जापानले प्रतिष्पर्धा गर्न नसक्ने बताउँछन् । ‘मध्यम आय भएका भारत र चीन जस्तो इमर्जिङ मार्केटको अर्थतन्त्र जस्तो अमेरिका र जापानको अर्थतन्त्र छिटो बढ्ने देखिँदैन,’ उनले भने ।

भारत हाल विश्वको पाँचौं ठूलो अर्थतन्त्र भएको देशमा पर्छ ।  पहिलोमा अमेरिका छ भने दोस्रोमा चीन, तेस्रोमा जर्मनी र चौथोमा हाल जापान छ ।

भारतीय अर्थशास्त्रीहरु भारत निकट भविष्यमा छिट्टै तेस्रो ठूलो अर्थतन्त्र भएको राष्ट्र बन्ने दाबी पनि गरिरहेका छन् । त्यसका लागि सन् २०२७ सम्म कुर्नुपर्ने भारती सरकारकै विश्वलेषण छ । केही अर्थशास्त्रीहरु भने तेस्रो ठूलो अर्थतन्त्र बन्न सन् २०२९ सम्म कुर्नुपर्ने मत राखिरहेका छन् ।

१० वर्ष अघि भारत विश्वको १० औं ठूलो अर्थतन्त्र भएको देश थियो । त्यसबेला भारतको कूल जीडीपी १.५ त्रिलियन थियो । कोरोना महामारी र मन्दीबीच १० वर्षको अवधिमै भारतको अर्थतन्त्र हाल ३.७ त्रिलियनको छ । त्यसैले जर्मनीलाई उछिन्दै भारत तेस्रो ठूलो अर्थतन्त्र भएको राष्ट्र बन्ने पनि पक्का नै रहेको जानकार बताउँछन् । हाल भारतमा भइरहेको मल्टी बिलियन डलर लगानीहरुले त्यसलाई थप बल पुर्‍याएको छ ।

फोर्ब्सको बिलिनियर लिस्ट हेर्ने हो भने भारतमा सन् २०२४ मा ३१ जना अर्बपति थपिएका छन् । फोर्ब्सले जारी गरेको सूचीमा भारतबाट मात्रै यो वर्ष २०० जना अर्बपतिको सूचीमा छन् । सन् २०२३ मा भारतबाट १६९ जना अर्बपतिको सूचीमा थिए ।

२०० जना सबैको कूल सम्पत्ति त्रिलियन डलर उन्मुख रहेको छ । सन् २०२२ मा अर्बपतिहरुको कूल सम्पत्ति ७५० अर्ब डलर रहँदा सन् २०२३ मा ६७५ अर्ब डलर थियो । सन् २०२४ मा २०० जनाको कूल सम्पत्ति ४१ प्रतिशतले बढेर ९५४ अर्ब डलर पुगेको छ ।

पछिल्लो समय बिलिनियरको संख्या बढ्दै जानु र भारतमा अन्तर्राष्ट्रिय लगानी भित्रिँदा त्यहाँको अर्थतन्त्रमा तीव्र विकासको सूचकहरु देखा परेका हुन् । यस्तै, चीनलाई उछिन्दै सबैभन्दा धेरै जनसंख्या भएको राष्ट्र बनेको भारत युवाहरुको प्रयोग गरी थप अर्थतन्त्र बलियो बनाउने दाउमा पनि छ । – बिजमान्डु ।