× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
अन्तर्राष्ट्रिय समाचार

मोदी स्वतन्त्र भारतका २०औँ प्रधानमन्त्री, ७२ सदस्यीय मन्त्रिपरिषद्को गठन

Simrik Online

२७ जेष्ठ २०८१, सोमबार

नयाँदिल्ली । भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदीले आइतबार तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीको शपथ लिएका छन् । उनी स्वतन्त्र भारतका २०औँ प्रधानमन्त्री भएका छन् । जवाहरलाल नेहरूपछि लगातार तेस्रोपटक प्रधानमन्त्री बन्ने मोदी दोस्रो नेता हुन् ।
हालैको लोकसभा निर्वाचनमा एकल बहुमत नपाएपछि मोदीलाई एनडिए गठबन्धनका तर्फबाट प्रधानमन्त्री बन्ने अवसर मिलेको हो । आइतबार राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री मोदीसहित उनको मन्त्रिपरिषद्का ७२ सदस्यले शपथ लिएका छन् । ५ सय ४३ सदस्यीय लोकसभामा एनडिएलाई २ सय ९२ सिट हासिल भएको छ ।
तोकिएको समयअनुसार साँझ सवा ७ बजे भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले प्रधानमन्त्री मोदीलाई सुरुमा शपथ गराएकी थिइन् । मोदीले ईश्वरको नाममा शपथ लिएका थिए । मोदीको शपथ समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित नेपाल, बंगलादेश, भुटान, माल्दिभ्स, श्रीलंकाका कार्यकारी प्रमुख एवं मोरिससका प्रधानमन्त्री र सेसेल्सका उपराष्ट्रपति सहभागी भएका छन् ।
राष्ट्रपति भवनमा आयोजित समारोहमा शपथग्रहण सुरु हुनुअघि भारतीय सेनाले विगुल बजाएको थियो । मोदीले शपथग्रहण गरेपछि क्रमशः वरीयताका आधारमा मन्त्री र राज्यमन्त्रीहरूको शपथ भएको थियो । मोदीसँगै भारतीय जनता पार्टीका अध्यक्ष जयप्रकाश नड्डा तथा शीर्ष नेताहरू राजनाथ सिंह, अमित साह, नितिन गडकरी, शिवराजसिंह चौहानले मन्त्रीको शपथ लिएका छन् । राज्यसभा सांसद र यसअघि विदेशमन्त्री भइसकेका डा.एस जयशंकरले पनि मन्त्री पदको शपथ लिएका छन् ।
एनडिए गठबन्धनबाट ७२ जना मन्त्रिपरिषद्मा सहभागी भएका छन् । शपथ लिएकाहरूमा ३० जना क्याबिनेट मन्त्री, ५ जना स्वतन्त्र-प्रभार मन्त्री र ३६ जना राज्यमन्त्री छन् । प्रधानमन्त्री मोदीबाहेक २४ राज्यका ७१ जना मन्त्री र राज्यमन्त्रीले शपथ लिएका छन् । ३ पटक र त्यसभन्दा बढी सांसद रहेका ४३ जना मन्त्री भएका छन् । विगतमा मन्त्री भइसकेका ३९ जना छन् ।
नीतीस कुमार नेतृत्वको जनता दल युनाइटेड, चन्द्रबाबु नायडु नेतृत्वको तेलुलु देशम पार्टीसहित अन्य गठबन्धनमा सामेल क्षेत्रीय पार्टीका नेताहरू मन्त्रिपरिषदमा सहभागी भएका छन् ।

मुख्यमन्त्री भएयता मोदीको सातौँ शपथ :
सन् २००१ देखि ४ पटक गुजरातको मुख्यमन्त्री भएका मोदीले ३ पटक प्रधानमन्त्री हुँदा २४ वर्षमा सातौँ शपथ लिएका छन् । सन् २००१ अक्टोबर ७, २००२ डिसेम्बर २२, २००७ डिसेम्बर २५, २०१२ डिसेम्बर २६ मा उनले गुजरातको मुख्यमन्त्रीको शपथ लिएका थिए । २०१४ मे २६ मा उनले पहिलोपटक प्रधानमन्त्रीको शपथ लिएका थिए भने दोस्रोपक २०१९ मे ३० मा शपथ लिएका थिए । ७४ वर्षीय मोदीको जीवनमा यो मुख्यमन्त्री र प्रधानमन्त्री पदमा सातौँ पटकको शपथ हो ।
प्रधानमन्त्रीको पहिलो शपथग्रहणमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्क सदस्य मुलुक तथा मोरिससका शीर्ष नेतालाई निम्ता गरिएको थियो । तत्कालीन प्रधानमन्त्री सुशील कोइराला शपथग्रहणमा सहभागी भए । दोस्रोपटक प्रधानमन्त्रीका रूपमा मोदीले शपथ लिँदा बिमस्टेक सदस्य मुलुक तथा मोरिससका शीर्ष नेतालाई बोलाइएको थियो । त्यसवेला प्रधानमन्त्री केपी ओली सहभागी भए ।

प्रचण्ड–मोदी भेटवार्ता  द्विपक्षीय हितका विषयमा छलफल :
प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच शपथग्रहणपछि संक्षिप्त भेटवार्ता भएको छ । राष्ट्रपति भवनमा भएको साइडलाइन भेटमा प्रधानमन्त्री प्रचण्डले मोदीलाई तेस्रो कार्यकालका लागि बधाई तथा शुभकामना दिएका छन् । प्रधानमन्त्री मोदीले शपथग्रहण समारोहमा सहभागी भएकोमा समकक्षी प्रचण्डलाई धन्यवाद दिएका छन् ।
नेपाली राजदूतावासका उपनियोग प्रमुख डा.सुरेन्द्र थापाले दुई देशबीचको बहुआयामिक सम्बन्ध थप विस्तार तथा सुदृढ बनाउनुपर्नेमा दुवै प्रधानमन्त्रीले जोड दिएको बताएका छन् । ‘भेटमा द्विपक्षीय हितका विषयमा छलफल भयो,’ उपनियोग प्रमुख भने । प्रधानमन्त्री प्रचण्ड मोदीको शपथ समारोहमा सहभागी हुन दिल्ली आएका हुन् । प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच बुधबार टेलिफोन वार्ता भएको थियो ।

राष्ट्रपति भवनको सुरक्षामा गोर्खा सैनिक :
भारतीय राष्ट्रपति भवनको सुरक्षामा भारतीय सेनाको गोर्खा राइफल्स खटिएको छ । आइतबार शपथग्रहण समारोहमा गोर्खा सैनिकका जवानले भित्री सुरक्षाको बन्दोबस्ती मिलाएका थिए । भारतीय सेनाका पूर्वमेजर जनरल अशोक मेहताले पाँचौँ गोर्खा राइफल्सको पहिलो बटालियन राष्ट्रपति भवनमा खटिएको जानकारी दिए । पाँचौँ गोर्खा राइफल्स सन् १८५८ मा ब्रिटिसले स्थापना गरेका थिए ।
भारत स्वतन्त्र भएपछि गोर्खा सैनिकको विभाजनका क्रममा उनीहरू भारतीय फौजअन्तर्गत गाभिएका थिए । ‘हामी करिब ६ महिनादेखि राष्ट्रपति भवनको सुरक्षामा छौँ । अबको ४ वर्ष यहीँ खटिन्छौँ,’ एक गोर्खा सैनिकले भने । त्यहाँ खटिएकामध्ये अधिकांश नेपाली नागरिक छन् ।