× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
अन्तर्राष्ट्रिय समाचार

आठ सय वर्षपछि ब्युँझियो नालन्दा विश्वविद्यालय, मोदीले गरे क्याम्पस उद्घाटन

Simrik Online

६ असार २०८१, बिहीबार

काठमाडौं । भारतमा रहेको नालन्दा विश्वविद्यालय नष्ट भएको आठ सय वर्षपछि पुनःजीवित भएको छ । भारतीय सरकारले १७ देशको सहयोगमा पटनाको राजगीरको नजिक रहेको नालन्दा विश्वविद्यालयको नयाँ क्याम्पस बनाएको हो ।

प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार उक्त क्याम्पसको उद्घाटन गरेका छन् । सो क्रममा विदेशमन्त्री एस जयशंकर, बिहारका राज्यपाल राजेन्द्र विश्वनाथ आर्लेकर र मुख्यमन्त्री नितिश कुमारसहित १७ देशका राजदूतसमेत सहभागी रहेका थिए ।

नालन्दा विश्वविद्यालयको नयाँ क्याम्पसमा परम्परालाई कायम राख्दै छात्र-छात्रालाई अत्याधुनिक सुविधा दिइएको बताइएको छ । प्रधानमन्त्री मोदीले उक्त क्याम्पसको लोकार्पणपछि यो स्वर्णिम युगको शुरुआत भएको बताए । उनले यसलाई भारतको विकासको यात्राको एक शुभ संकेतका रुपमा देखेकोसमेत बताए ।

उनले कुनै समय नालन्दा भारतको परम्परा र पहिचानको जीवन्त केन्द्र रहेको उल्लेख गर्दै शिक्षालाई लिएर भारतको यही सोच रहेकोसमेत मोदीले स्पष्ट पारे ।

उनले भने, ‘भारतले यही सोचिरहेको छ । शिक्षाले हामीलाई ढाल्छ, हामीलाई विचार दिन्छ र हामीलाई आकार दिन्छ । पुरातन नालन्दामा बालबालिकालाई पहिचान वा राष्ट्रियताको आधारमा भर्ना गरिन्थ्यो । हरेक देश र हरेक वर्गका युवाहरू यहाँ शिक्षा प्राप्त गर्थे ।’

मोदीले नालन्दा विश्वविद्यालयको यो नयाँ क्याम्पसमा त्यही पुरातन प्रणालीलाई पुनः आधुनिक रूपमा सुदृढ गर्नुपर्ने र आज विश्वका धेरै देशबाट धेरै विद्यार्थी यहाँ आउन थालेको देख्दा खुशी लागेको बताए ।

उनले नालन्दा नाम मात्र नभइ एउटा पहिचान र सम्मान भएको बताए । मोदीले भने, ‘नालन्दा एक मूल्य, एक मन्त्र, एक गौरव, एक कथा हो । पुस्तक आगोको ज्वालामा जल्न सक्छ तर ज्वालाले ज्ञानलाई नष्ट गर्न सक्दैन भन्ने सत्यको घोषणा नालन्दा हो ।’ – हाम्रा कुरा ।