× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
फिचर

विकृत स्थितिबाट पार लाग्ने उपाय : सम्भावनाको खोजी

Simrik Online

२४ असार २०८१, सोमबार

✍️ कोमलनाथ शर्मा

अपेक्षा त सभ्य र सुसंस्कृत समाज हो तर मनोवृत्ति सुधार उन्मुख छैन । समाजमा देखिएका असंगति विरुद्धको अभियानको निरन्तरताको आवश्यकता भएपनि हार्दिक सक्रियता छैन । विकृतिमा लाभान्वित हुने अवसर उपयोग गर्नेको जमात छ । यथास्थितिमा सुविधा भोगिरहेका अगुवा वर्ग परिवर्तन प्रति अभिरुचि राख्दैनन् । प्रयास नभै सुधार हुंदैन । कहिले प्रयास गर्दा पनि प्राप्ति निश्चित हुंदैन । अनिश्चितता त छ तरपनि प्रयासरत त हुनैपर्छ । सामुहिक प्रयत्न भएन भनेपनि व्यक्तिगत रुपमा नै सके समाजलाइ रुपान्तरण गर्ने नसके विकृतिले स्पर्श नगर्ने उपाय खोज्न त कसले छेक्छ र । यस्तो अठोट हुन सक्दैन र ?

व्याप्त विकार :

समृद्ध समाजको अपेक्षा अस्वाभाविक होइन । तदनुकूल अग्रसरता नभएको गुनासो मात्र हो । वहुलवादी सिद्धान्तमा आधारित दलीय व्यवस्था स्वीकारे पछि सिद्धान्तको अनुशरण भएहुन्थ्यो भन्ने आग्रह अन्यथा होइन । राजनीतिमा सेवाभाव हुनुपर्ने हो, भयो व्यापार । दल का नेता वा कार्यकर्तामा पनपिएको यो प्रवृत्तिले राजनीतिक संस्कारको आशा नगरे हुने भयो । विचारको संवाहक हुनुपर्ने दलका नेता र कार्यकर्ता सठ र अन्धभक्त भएका छन् । कर्मण्यहीनताको कारण सरकार र सरकारी संयन्त्र प्रति नागरिकको विश्वास छैन । भनसुन, घुस, रिश्वत दवाव जस्ता कुराबाट प्रशासन यन्त्र निर्दिष्ट छ । पदाधिकारी र कर्मचारीको शुभलाभमा लत बसेको छ । भ्रष्टाचारमा लिप्त छन् । अदालत र प्रशासनमा दलाल र विचौलिया निर्णायक छन् । सरकार इतर क्षेत्र प्रतिष्ठान, कम्पनी, संस्थान आदिमा पनि लुट, ठगी, शोषण जस्ता विकृतिको विगविगी छ । निजी क्षेत्र पनि के कम, सर्वत्र यस्तै भएपछि त्राण पाउने कहांबाट हो विखलबन्द स्थिति छ । मनमा विकार भएपछि नैतिक मूल्य र मान्यता उपेक्षामा पर्छन । यस्तो विकृतिले व्याप्त परिवेशमा सुधार आउला कि भन्ने आशाको किरण भने लुप्त छैन । प्रकृतिको नियम हो परिवर्तन भैरहने । असल र खराब आउने जाने हुन्छ । जीवन गतिशील भएकोले आशामा जीउनु छ । कालो वादलमा चांदीको घेरा हुन्छ भने जस्तै विकारले ग्रस्त मनस्थितिमा परिवर्तन होला । विकृति बाहेक अरु नभएपनि र विकृतिमा वसेपनि मन शुद्ध भए विकारले छुंदैन । विकृतिबाट अलग्गै रहन सक्ने प्रवृत्तिको विकास होला । आशा गर्न सकिन्छ र आशाले नै जीवन संचालित छ । सुधार त अवश्य आउंछ । शुद्ध मनोवृत्तिको लोप हुंदैन । असंभव छैन । समयले व्यवस्था गर्छ नै । विकृत हुनु पनि यौटा सीमा सम्म होला । अन्तत मनमा विकार प्रतिको उपेक्षाको भाव आउंछ नै । प्रतीक्षा गर्न मात्र पर्छ ।

धन सम्पत्ति :

धन सम्पत्ति न भै व्यवहार चल्दैन । जीवन निर्वाहको लागि पनि धन संपत्ति चाहिन्छ । कति चाहिन्छ भन्ने कुरा आवश्यकतामा भर पर्छ । श्रम,व्यवसाय, व्यापार, रोजगारी आदि संपत्ति आर्जनका श्रोत हुन् । श्रोत बैध र अबैध दुवै हुन्छ । धन आउने बाटो अनगिन्ति बनाइएका छन् । शोषण, अन्याय, लुट, ठगी, तस्करी, मिसावट जस्ता कुरा पनि आर्जनका माध्यम बन्छन् । सम्पत्तिको महत्व समय र परिवेशमा भर पर्छ । सामाजिक हैसियत निर्धारण गर्ने मापदण्ड हुंदा धन संपत्ति प्रति अत्यधिक लालसा रहन्छ । पेशा व्यवसाय बिधिबिधान अनुसार नै संचालन हुने भएपनि आवरणमा अबैध धन्दा पनि हुन्छ । यस्तो आय आर्जन गर्नेको वर्चस्व छ । यसरी कमाउने प्रोत्साहित छन् र यस्तो कमाउ धन्दाको फराकिलो परिवेश छ । भुइंमान्छेको अनपेक्षित रुपमा आर्थिक हैसियत बढेको देख्दा जो कोही पनि धनाढ्य बन्न सक्ने अवसर रहेको ठान्छन् । कमाउने बेला यही हो भन्दै अनुशरण गर्नेको वाहुल्यता छ । लज्जाबोध छैन । कानून असहाय बनाइएको छ । यस्तो हुंदाहुंदै पनि धनको श्रोतको शुद्धता पनि खोजिन्छ । अरुलाइ पीडा दिएर आएको धन दिगो हुंदैन भन्ने मान्यता पनि छ । संपत्ति मुख्यत उपयोग र व्यवहार चलाउन हो भन्नेको निमित्त संचय अर्घेलो मानिन्छ । न्याय संगत नभएको धनले सुख सन्तोषको ठाउंमा पश्चात्ताप र तनाव हुन्छ । त्यसै भएर सपत्ति आउने भएपनि न्यायसंगत छैन भने लिन इच्छा गर्दैनन् । मनमा त्यस्तो संपत्ति पाउने इच्छा नरहोस् भन्ने सोच पनि रहन्छ । संपत्तिको गति उपयोग, दान र नाश भएकोले स्थायित्व पनि छैन । अन्यृाय गरेर, अरुलाइ पीडा दिएर, राजस्व मारेर धन कमाउने अवसर आएपनि न्यायसंगत नभएको ठानी धन लिने इच्छा नराख्नेको कमी छैन । दृश्यमा नआएको मात्र हो ।

खानपीन :

खानु अनिवार्य छ । नखाइ बांच्न सकिंदैन । खानु मात्र पनि होइन मीठो र स्वादिलो पनि चाहिन्छ । खानपीनमा कस्तो खाने कस्तो नखाने भन्ने कुरा पनि व्यक्तिगत रुचिमा भर पर्छ । खानाको परिकारमा थरिथरिका खानाको विज्ञापनको विगविगी छ । खानाको नाममा विविधता हुंदा स्वाद कस्तोहोला भन्ने जिज्ञासा रहन्छ । खाने शैलीमा आएको परिवर्तनले परम्परागत खाना ओझेलमा छन् । मानिसको मन न हो परिवर्तित नाममा आकर्षण रहन्छ । देख्दा खाउंखाउं लाग्छ, मुख रसाउंछ । यस्तो अवस्थामा अरु कुराको वास्ता हुंदैन । स्वास्थ्यमा कस्तो प्रभाव पर्छ हेरिंदैन । धार्मिक दृष्टिकोणबाट खानयोग्य छ छैन त्यो पनि हेरिंदैन । अहिलेको जीवनशैलीमा भोक मीठो कि खाना मीठो भन्ने प्रश्न पनि अनुत्तरित छ । भोक लागेको बेलामा होस् वा भोक नलागेको बेलामा होस प्राप्त खाना स्वास्थ्य र धार्मिक दृष्टिकोणले खानु उपयुक्त छैन भने खाने इच्छा नहुनु राम्रो हो । तर सर्वत्र संभव छैन । जे भएपनि जोगिने प्रयास वाञ्छित हुन्छ ।

यौनको विषय :

यौन नितान्त निजी विषय भएको हुनाले निश्चित मापदण्ड अबलम्बित हुन्छ भन्न सकिंदैन । गोप्य हुने भएकोले पनि कसले कसरी यौनको क्रिया निर्वाह गर्छ भन्ने कुरा बाहिर थाहा हुंदैन । परस्त्री परपुरुष संगको सम्बन्धलाइ जायज नाजायज भन्ने कुरा पनि व्यक्ति विशेषमा भर पर्ने कुरा भएको छ । यौन पौराणिक कालदेखि नै यौटै गतिमा छैन । साधनारत ऋषि महर्षि पनि यौनमा स्खलन भएको इतिहास छ । अहिले यौनको क्षेत्र धेरै फराकिलो भएको छ । यौन विपरीत लिंगीमा मात्र सीमित नभएर समलैंगिक सम्बन्धमा पनि विस्तारित छ । कसले कसलाइ फकाउने भन्ने पनि छैन । पहिले को अग्रसर हुने भन्ने कुरा पनि चाहनामा भर पर्ने कुरा होला । प्रेम र आकर्षण शारीरिक सम्बन्धको आधार हो । त्यसमा स्त्री पुरुष जो पनि पर्न सक्छ । कामासक्त अवस्थामा परिणामको विचार हुंदैन । यौनमा विभिन्न थरीका सीमा निर्धारित गरिएको परम्पराको अनुशरण छैन । त्यसै भएर यौन दुराचार र दुव्र्यवहार बढ्दै छन् । यौन तृप्ति मुख्य ध्येय भएपछि दायांबायांको कुरा हुंदैन । मातृवत् परदारेषु अथवा आफ्नो श्रीमती बाहेक अरु महिलालाइ आमा सरह मान्ने शास्त्रीय मान्यता हो । यो मान्यता क्रमश भत्किंदै छ । यौनमा पुरुष आक्रामक हुने हुनाले महिलाको भन्दा पुरुषको निमित्त बन्देज धेरै राखिएका हुन् । किनभने महिला कामसक्त भएर आक्रामक भएपनि पुरुषले नचाहेमा संसर्ग हुन सक्दैन । महिला इच्छुक भएर लहसिंदा पनि पुरुषमा कामवासना आउंदैन भने यौनमा विकृति नै आउंदैन । कामवासना जागृत नहुने दृढ मनस्थिति स्वतस्फूर्त पुरुषमा रहनुपर्छ भनिनुको प्रयोजन महिला समवेदनशील हुने भएर हो । परस्त्री प्रति मनमा कामभावको इच्छा नरहनु श्रेयस्कर हो ।

तिरस्कार र अपमान :

जीवन सरल रेखामा चल्दैन । सफल असफल मान अपमान जस्ता कुरा पनि आउंछन् । आवेश क्रोध प्रतिशोध जस्ता क्रिया पनि हुन्छन् । अनाहकमा आक्षेप पनि लाग्छ । अपमानित पनि भइन्छ । तिरस्कृत पनि भइन्छ । सहने वा नसहने निजी स्वभाव हो । फरक स्वभाव हुने कारण एक अर्का प्रति मित्रवत् वा शत्रुताको व्यवहार हुने सामान्य हो । जीवन निर्वाहको सिलसिलामा संपर्क हुने भएपनि आआफ्नो किसिमको प्रतिस्पर्धाको कारण समन्ययात्मक वा सद्भावना युक्त वातावरण नरहन सक्छ । कसैको स्वभाव नै अरुलाइ पीडा दिनु हुन्छ । धन, बल, पद आदि कुराले शक्तिशाली बनाउंदा अपमान वा तिरस्किृत हुंदा दण्ड दिन तयार हुने मानसिकता हुन्छ । दण्डित गरे प्रतिशोधको भावना जन्मिन्छ । त्यसैले क्षमाशील हुनुलाइ उचित ठानिन्छ । धन बल पद सदा यौटै व्यक्तिमा रहंदैनन् । आजको परिस्थिति परिवर्तन भएर निर्धो शक्तिशाली र शक्तिशाली निर्धोमा परिणत हुन बेर लाग्दैन । तिरस्कृत र अपमानित हुंदा र दण्डित गर्दा पनि व्यक्तित्वमा फरक पर्दैन । बुद्ध, गान्धीमा प्रतिशोधको भावना नआउनु र मान अपमानमा समभाव रहनु यही कारण हो । त्यसै भएर दण्डित गर्ने क्षमता भएपनि दण्डित गर्ने सोच मनमा नआउनु श्रेयस्कर हो भन्छन् विज्ञहरु । यस्तो अवस्थामा दण्डित गर्ने शक्ति भएपनि इच्छा नहुनु नै यसको उपचार हो ।

अन्तमा :
शरीरका अवयव जीवन संचालनका माध्यम हुन् । यिनको सही प्रयोगबाट रुपान्तरण हुन्छ । शरीर, इन्द्रिय, मन कर्मका कारक हुन् । कर्म गर्नैपर्छ । कर्म राम्रो पनि हुन्छ र नराम्रो पनि हुन्छ । कर्म गरेपछि कर्म अनुसारको परिणाम आउंछ । त्यसै भएर इन्द्रियको संचालनमा नियन्त्रण र सन्तुलनको कुरा आउंछ । आर्जन खानपीन व्यवहार आदि क्रियामा निश्चित सीमा राख्नु पर्ने कारण पनि संयमको लागि हो । संयमित हुंदा दुस्परिणाम भोग्नु पर्दैन । सबैको कल्याण होस् र दूरगामी प्रभाव फलदायी होस् भन्ने कुरालाइ केन्द्रमा राखेर काम गर्नुपर्छ । अदृश्य केही पनि हुंदैन । थाहा नपाएको पनि हुंदैन । हुने र भैरहेका परिदृश्यलाइ हेरेर काम गर्नु पूर्व विचार गर्नु हितकारी हुन्छ । यसरी नै जीउनु छ । व्यवहार गर्नु छ । खानु छ । बोल्नु छ । अनि सक्रिय हुनु छ । जीवनको ध्येय यही नै हो । (लेखक/पुर्वन्यायाधीश शर्मा, सुशासन, सामाजिक न्यायका पक्षमा कलम चलाउनु हुन्छ।)