× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
अन्य

छुवाछूतविरुद्ध पशुपति कोटीहोमको क्रान्तिकारी कदम : महायज्ञमा कृष्ण दमाइबाट प्रवचन

Simrik Online

२५ श्रावण २०८१, शनिबार

मलाई व्यासमा बसी यस्तो पवित्रस्थलमा पुग्छु र बोल्छु भन्ने कल्पना नै थिएन : आचार्य कृष्ण दमाइ

काठमाडौं । मानव सेवा फाउण्डेशनले पशुपति परिसरमा आयोजना गरेको कोटिहोम महायज्ञमा आचार्य कृष्ण दमाइले प्रवचन दिएका छन् । संस्कृतमा आचार्य (स्नातकोत्तर) गरेका बैतडीका दमाइले आज प्रवचन दिएका हुन् ।
मानवसेवा फाउण्डेशनका संस्थापक तथा पशुपति कोटीहोम महायज्ञका सङ्कल्पकर्ता विजय कृष्णमूर्तिले आचार्य कृष्णलाई व्यासपीठमा राखी अभिनन्दन गर्दै नेपालमा नयाँ युगको सुरुआत भएको जिकिर गरे । ‘दमाइ परिवारबाट आचार्य गर्नुभएका कृष्णलाई व्यासमा राखेर अभिनन्दन गरेका छौँ र हामीलाई गर्व लागिराखेको छ, उहाँले निकै गहकिलो प्रवचन दिनुभयो । यो छुवाछूतविरुद्धको ठूलो क्रान्ति हो । बोलीले मात्र होइन व्यवहारले नै सामाजिक विभेद् हटाउनुपर्छ । त्यसैले यो एउटा नयाँ युग र नयाँ क्रान्ति हो,’ उनले भने ।
आचार्य दमाईले आफू कोटीहोममा उपस्थित भएपछि सबै जाती र समुदायले संस्कृत शिक्षा, वेद अध्ययन गर्नुपर्छ भन्ने सोचमा थप बल पुगेको धारणा राखे । ‘दलित समुदायको एउटा व्यक्तिले संस्कृत शिक्षा, वेद अध्ययन गर्नुपर्ने रहेछ भन्ने सोचमा आजको यस ऐतिहासिक कोटीहोममा थप बल पुगेको छ । मलाई व्यासमा बसी यस्तो पवित्रस्थलमा पुग्छु र बोल्छु भन्ने कल्पना नै थिएन ।’
प्रवचनका क्रममा आचार्य कृष्णले भने, ‘संस्कृत साहित्यलगायत अन्य कर्ममा मलाई समावेश गराउने आदरणीय गुरूहरूमा नमन गर्छु । मानिसले स्वर्ग जानुपर्छ भन्छन् तर मेरो लागि त राष्ट्रदेव पशुपतिनाथको चरणमा स्वर्गको महसुस भएको छ । मैले स्वर्ग प्राप्त गरेको अनुभूत गरेको छु ।’
सनातन धर्म संस्कारको रक्षा र सभ्य नागरिक बनाउनका लागि संस्कृत अभियानमा जोडिनुपर्ने धारणा राख्दै आचार्य कृष्णले धार्मिक रूपमा विभाजित गर्ने प्रवृत्तिबारे समेत सचेत रहनुपर्नेमा जोड दिए । ‘हामीलाई विभाजित गरी सनातन धर्म संस्कारलाई कमजोर बनाउने षड्यन्त्र भइरहेको छ । त्यसैले हिन्दूत्व र सनातन धर्मका लागि एकताबद्ध रहनुपर्छ । हिन्दू संस्कारलाई बचाउन र सभ्य नागरिक बनाउनु छ भने संस्कृत अभियानमा जुट्न जरूरी छ । सबैले आआफ्नो ठाउँबाट कम्मर कसेर उठ्नुपर्छ,’ उनले भने ।
एक महिना अर्थात् साउनभर चल्ने कोटिहोममा अहिलेसम्म २५ लाखभन्दा बढी भक्तजनहरू सहभागी भएका त्यस अवसरमा जानकारी दिइयो । दैनिक बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म कथा प्रवचनका साथै रुद्री पाठ, १८ पुराणपाठ, एक सय आठ श्रीमद्भागवत पाठ र सप्तचण्डी पाठ परायण गर्ने गरिएको छ ।