✍️ अघोरी चण्डी बाबा
लक्ष्मीपूजा हाम्रो समाजमा एक अद्वितीय धार्मिक पर्व हो, जसले समृद्धि, शान्ति र सन्तुलनको महत्त्वलाई उजागर गर्दछ। यस पर्वलाई धन र ऐश्वर्यको कामना गर्ने दिनको रूपमा मात्र नलिई, यो जीवनको सन्तुलनको खोज र आन्तरिक शान्तिका लागि कामना गर्ने एक विशिष्ट उत्सव हो।
वर्तमान समाजलाई मुद्रा र प्रविधीले निर्माण गरेको आधुनिक विकासले भौतिक सम्पन्नताको होडबाजी बढाउदै लगिरहेको छ। हरेक मानिस सुखी र सम्पन्न देखिन चाहन्छ तर वास्तविक सम्पन्नता भने बाहिरी चमकधमकमा मात्र सिमित छैन, वास्तविक सुख र सम्पन्नता आन्तरिक शान्ति र सन्तुलनमा निहित छ। लक्ष्मीपूजा यसै चेतना दिलाउने पर्व हो, जसले हामीलाई भौतिक सम्पन्नताको साथसाथै आन्तरिक शान्ति र सन्तुलनको खोज गर्न सिकाउँछ।
लक्ष्मीपूजाको समयानुकुल महत्त्व गहन छ। यस पर्वले केवल धनको कामना गर्ने मात्र होइन, यसले जीवनमा अनुशासन, सुव्यवस्था र सकारात्मकताको प्रवाह ल्याउने काम गर्दछ। हरेक वर्षको यो समय, शरद ऋतुको आगमनसँगै प्रकृति स्वच्छ र शुद्ध हुन्छ, जसले वातावरणलाई शान्त बनाउँछ। यस समयमा गरिने लक्ष्मीपूजाले बाहिरी सफाइ मात्र होइन, भित्री मनलाई पनि शुद्ध गर्न आग्रह गर्दछ। घर र वातावरणलाई सफा राख्नु, रोग र संक्रमणबाट बच्न र सन्तुलित जीवन शैली अपनाउन प्रेरणा दिनु यस पर्व एवं उत्सवको मुल सार हो।
परम्परागतरूपमा मनाईने लक्ष्मीपूजा उत्सवको वैज्ञानिक र व्यवहारिक दृष्टिवाट पनि उत्तिकै महत्व छ। धनतेरसदेखि लक्ष्मीपूजासम्म घर र वरपरको सरसफाइ गरिन्छ, जसले कीटाणुबाट छुटकारा दिन मद्दत गर्दछ। विशेषगरी दीप जलाउने परम्पराले घरलाई उज्यालो मात्र बनाउँदैन, दीपको तातोले हाम्रो वातावरणमा भएका रोगाणु नष्ट हुन्छन्।पूजामा प्रयोग गरिने कपुर, चन्दन र सुगन्धित फूलहरूको प्रयोगले शुद्धता र मानसिक शान्ति प्रदान गर्दछ। जीवनका विभिन्न पक्षलाई सार्थक बनाउँछ।
यस पर्वको अर्को महत्वपूर्ण पक्ष लक्ष्मी र नारायणको आराधनामा निहित छ। नारायण भनेको त्याग, संयम, र परोपकारको प्रतिक हुन् भने लक्ष्मी केवल भौतिक सम्पत्तिको प्रतिनिधि मात्र होइन, आन्तरिक सन्तोषको प्रतीक हुन्। जब हामी लक्ष्मी-नारायणको पूजा गर्छौं, तब हामी भौतिक र आध्यात्मिक सन्तुलनको खोजी गर्छौं। यो पर्वले हामीलाई भोगलाई संयममा राख्दै, सही उद्देश्यका लागि सम्पत्तिको उपयोग गर्न र आन्तरिक शान्ति प्राप्त गर्न प्रेरित गर्छ। जीवनमा भोग र त्यागको सन्तुलनले हामीलाई सच्चा आनन्दको अनुभूति दिलाउँछ।
आधुनिक समाजको सन्दर्भमा, जहाँ प्रतिस्पर्धा र असन्तोषले मानिसलाई गाँजेको छ, लक्ष्मीपूजा यस्तो पर्व हो, जसले मानिसलाई सन्तोष, प्रेम र सामूहिक सहयोगका भावनाको महत्त्वलाई स्मरण गराउदछ। परिवार, समाज र जीवनको मूल्य बुझ्न, सबैलाई साथ लिएर अगाडि बढ्न र स्नेह बाँड्न यस पर्वले हामीलाई प्रेरणा दिन्छ।
यसरी, लक्ष्मीपूजाको धार्मिक, वैज्ञानिक, र व्यवहारिक महत्त्व हाम्रो सन्तुलित र समृद्ध जीवनको मूल आधार हो। यो पर्व केवल एक धार्मिक क्रिया नभई आत्मशुद्धि, सकारात्मकता र समाजको कल्याणका लागि एक प्रेरणादायी माध्यम पनि हो। यस पवित्र पर्वले सवैको जीवनमा स्नेह, शान्ति र समृद्धिको दीप प्रज्वलित गराओस्। लक्ष्मी र नारायणको कृपाले जन-जनका घर-आँगनमा सदा उज्यालो र शान्ति छाओस्। शुभकामना ।
जय अघोर ।