काठमाडौं । नेकपा एमालेले लोकतन्त्र दिवस (१० वैशाख) का अवसरमा राजधानी काठमाडौंमा भव्य शक्ति प्रदर्शन गर्ने तयारी गरेको छ । ‘युथ सेलिब्रेसन’ शीर्षकमा आयोजना गरिने उक्त कार्यक्रममा देशभरिबाट करिब ५० हजार युवा उतार्ने लक्ष्य लिइएको छ ।
एमालेको केन्द्रीय कार्यालय च्यासलमा महासचिव शङ्कर पोखरेलको संयोजनमा दिनहुँ तयारी बैठकहरू भइरहेका छन् । सोमबार भएको भर्चुअल बैठकमा पार्टीका केन्द्रीय सदस्यहरू, प्रदेश र जिल्ला तहका पदाधिकारीहरू तथा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरू सहभागी थिए । बैठकमा सहभागी नेताहरूलाई देशका हरेक वडाबाट कम्तीमा दुई युवा -एक महिला अनिवार्यसहित काठमाडौँ पठाउने निर्देशन दिइएको छ ।
युवाहरूको व्यवस्थापनमा निर्वाचित जनप्रतिनिधिहरूलाई नेतृत्व दिन भनिएको छ । पार्टीले देशभरबाट युवा ल्याउनको लागि सवारी साधनको व्यवस्था मिलाएको र केही जिल्लाबाट गाडीहरू राजधानीतर्फ प्रस्थान गरिसकेको जनाइएको छ ।
पार्टी नेताहरूका अनुसार यो शक्ति प्रदर्शन गणतन्त्रको संरक्षण र राजतन्त्रको सम्भावित पुनरागमनको विरुद्ध जनमत सिर्जना गर्न आयोजित गरिएको हो । सामाजिक सञ्जाल र विभिन्न अन्तर्वार्तामार्फत नेताहरूले कार्यक्रमको उद्देश्य प्रस्ट्याउँदै सहभागी हुन आह्वान गरिरहेका छन् । पोलिटब्यूरो सदस्य खिमलाल भट्टराईसहित धेरै नेताहरूले भिडियो सन्देशमार्फत युवाहरूलाई ११ वैशाखको कार्यक्रममा सहभागी हुन अपिल गरेका छन् ।
कार्यक्रमको प्रचारप्रसारका लागि पार्टीको केन्द्रीय तथा प्रदेश समिति, जनसङ्गठनहरू, र उपत्यकाका स्थानीय नेताहरूलाई परिचालन गरिएको छ । विशेष गरी उपत्यका र बागमती प्रदेशमा युवा सहभागिता सुनिश्चित गर्न विशेष जोड दिइएको छ ।
एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार ‘युथ सेलिब्रेसन’ मा ४० वर्ष मुनिका युवाहरूलाई लक्षित गरिएको छ । लोकतन्त्र कसरी स्थापित भयो भन्ने कुरा नयाँ पुस्तालाई बुझाउन कार्यक्रम गर्न लागिएको जनाइएको छ । गौतमका अनुसार ५० हजारभन्दा बढी युवाको सहभागिता रहने अपेक्षा गरिएको छ।
पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको सन्दर्भमा दिएको वक्तव्यपछि एमालेले आफ्नो तीन महिने कार्यक्रमलाई संशोधन गर्दै यो युवा प्रदर्शनको योजना अघि सारेको हो। यसअन्तर्गत देशैभर वडा स्तरीय प्रदर्शनदेखि लिएर जिल्ला र प्रदेशस्तरीय सभा सम्पन्न भइसकेका छन् ।