काठमाडौं। मन्त्रिपरिषद् बैठकले शंकरदास बैरागीलाई मुख्यसचिवमा बढुवा गरेसँगै नयाँ परराष्ट्र-सचिव नियुक्ति प्रक्रिया अगाडि बढने भएको छ । सचिवका लागि लोकसेवा आयोगको पदपूर्ति समितिले सिफारिस गर्नुपर्ने हुन्छ ।
लोकसेवा आयोगका अध्यक्ष, मुख्यसचिव, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव र लोकसेवा आयोगका अध्यक्षले नियुक्त गर्ने एक जना विज्ञ रहने समितिले मन्त्रालयका ३ जना सिनियर सहसचिवको नाम सिफारिस गर्नेछ । त्यही सिफारिसका आधारमा मन्त्रिपरिषदले एक जनालाई परराष्ट्र सचिवमा नियुक्त गर्नेछ ।
परराष्ट्र मन्त्रालयमा प्रवक्ताको जिम्मेवारीमा रहेका भरत राज पौडेल सबैभन्दा सिनियर सहसचिव हुन् । उनीपछि सेवा लम्साल र अमृतकुमार राई छन् । परराष्ट्र सचिवको लाइनमा भएका कारण नै पौडेल यस पहिला आकर्षक ठाउँमा राजदूतको अफर आउँदा समेत नगई मन्त्रालयमै बसेका थिए । पौडेल पाकिस्तानका लागि पूर्व नेपाली राजदूत हुन् ।
लम्साल भर्खरै पाकिस्तानको राजदुत भएर फर्किएकी हुन् भने राई न्यूयोर्कस्थित संयुक्त राष्ट्रको स्थायी नियोगमा राजदूतको रुपमा कार्यरत छन् । राईलाई सन् २०१९ को जनवरीमा नियुक्त गरिएको हो । मन्त्रालय स्रोतका अनुसार सचिवमा सिफारीस हुनको लागि सहसचिवले सिनियर एक्जीक्यूटिभ कोर्स गरेको हुनुपर्छ ।
समाचार स्रोतका अनुसार नवनियुक्त मुख्यसचिव बैरागीले परराष्ट्र मन्त्रालयमा आयोजित विदाई कार्यक्रममा वरिष्ठताका आधारमा नै सचिव छनौट हुने गरेको छ भन्दै आफ्नो उत्तराधिकारी पौडेल हुने संकेत गरिसकेका छन् । स्रोतका अनुसार परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञावलीले पनि पौडेललाई नै ग्रिन सिग्नल दिइसकेको जानकारीमा आएको छ।
वरिष्ठताको आधारमा बुधबारबाटै कार्यवाहक सचिवको जिम्मेवारी सम्हालिसकेका भरत राज पौडेल वरियताक्रम नमिचिएमा अर्काे हप्ता परराष्ट्र-सचिव नियुक्त हुने देखिएको छ।