× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
मुख्य खबर

नागरिकको कोरोना उपचार गर्न सक्दिन भन्नु सरकारको गैरजिम्मेवारी : कांग्रेस

Simrik Online

३ कार्तिक २०७७, मंगलवार

काठमाडौं । कोभिड-१९ संक्रमणको उपचार आफ्नै खर्चमा गर्नुपर्ने सरकारको निर्णय तत्काल फिर्ता गर्नुपर्ने कांग्रेस नेताहरूले बताएका छन्।

नेता प्रकाशमान सिंहले सरकारले गरेको निर्णय संविधानविपरीत भएको टिप्पणी गरेका छन्। उनले संविधानले ग्यारेन्टी गरेअनुसार सरकारले नागरिकको जीवन र स्वास्थ्य सुरक्षा गर्न असफल भएकोसमेत बताए।
कोभिड-१९ संक्रमण अत्यधिक बढ्दै गएको अवस्थामा सरकार पछाडि हटेर आफ्नो उपचार आफैँ गर्न भन्नु गैरजिम्मेवारपूर्ण कदम भएको पनि उनले बताए।

नेता सिंहले सरकार कोरोना संक्रमण रोकथाम र नागरिकको जिउने अधिकारको विषयलाई बेवास्ता गर्दै गैरजिम्मेवार रूपमा प्रस्तुत भएको बताए । यस्तो निर्णय तुरुन्त फिर्ता गरी कोरोना संक्रमणको स्थितिलाई तत्काल नियन्त्रण गर्न र नागरिकको उपचारको व्यवस्था मिलाउनसमेत उनले माग गरे ।

यस्तै कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले संविधानले दिएको आधारभूत स्वास्थ्यको अधिकारविपरीत सरकारले निर्णय गरेको बताए । जिम्मेवारीबाट पन्छिने गरी आएको सरकारको निर्णय खेदजनक भएको उनको ठहर छ ।

कांग्रेसले दसैँपछि सुरु हुने संसद्को विशेष अधिवेशन र सडकमार्फत विरोध गर्ने उनले बताए । सरकारमा बस्नेहरूले राज्यकोषलाई आफूखुसी खर्च गर्न हुने, तर जनताको आधारभूत आवश्यकता पूर्ति गर्नतर्फ साधनस्रोत भएन भनेर पन्छिनु गैरजिम्मेवारपूर्ण कदम भएको उनले बताएका छन् ।