× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
जीवन शैली

लोकआस्थाको महापर्व छठ

Simrik Online

४ मंसिर २०७७, शुक्रबार

उपासकदेखि श्रद्धालुसम्मका लागि स्वास्थ्य सुरक्षा मापदण्ड

लाहान । मिथिलाबाट मनाउन सुरु भएको लोकआस्थाको महापर्व छठले पहाड-तराईको सम्बन्ध जोड्दै विश्वका विभिन्न भूभागमा मनाउन थालिएको छ । पछिल्ला दशकमा व्यापक रूपमा अन्य समुदाय, क्षेत्रमाझ आफ्नो स्थान बनाउने विश्वका पर्वहरूमध्ये छठ पनि मुख्य हो ।

छठको अनुष्ठान आयतन व्यापक रुपमा देखा पर्नुको कारण आस्थाप्रतिको आकर्षण हो । आमाको बिडो थामेर आठ वर्षदेखि छठ ब्रत बस्दै आएकी लहानकी अम्बिका यादव भन्छिन्, ‘यो लोकपर्वको मौलिकता आजपर्यन्त अक्षुण्ण रहिआएको छ ।’ यादव भन्छिन्, ‘छठ घाटमा मधेसी र पहाडी भन्ने भेद हुँदैन, सबै बराबर हुन्छन्, सबै मिलेर सूर्यको उपासना गर्छन् ।’

ब्रतालुहरूले बुधबार बिहान घर, नदी, खोला, इनार, नहर वा पोखरीमा स्नानपछि अरुवा चामलको भात, रहरको दाल र तरकारी (बर्जितबाहेक) समाविष्ट शुद्ध शाकाहारी भोजन ग्रहण गरी सुरु गरेको छठको दास्रो दिन आज खरना मनाइँदैछ । चोख्याइएको एक कोठामा खिर र केरालगायत मीठा पकवान केराको पातमा फिँजाएर ईश्वरको आराधना गरिन्छ । ‘खरना’ भनिने यो अनुष्ठानपछि पहिले ब्रतालुले प्रसाद ग्रहण गर्छन् । त्यसपछि पूजनस्थलवरिपरि प्रसादको प्रतीक्षामा रहेका परिवारजन एवं छरछिमेकलाई बाँड्छन् ।

घरभित्रै दुईदिने आन्तरिक विधिपछि दीपावलीझैं झिलिमिली पारिएको जलाशय किनारमा शनिबार साँझ (सँझिया घाट) र आइतबार बिहान (भोरका घाट) ठेकुवा, भुसुवा, नरिवल तथा भोगटेलगायत मौसमी फलफूल एवं तरकारीसहित सूर्यलाई अघ्र्य दिएपछि पर्वको समापन हुन्छ ।

घरका ज्येष्ठ, स्वस्थ र सक्रिय महिला सदस्यले कठिन उपवाससहित चार दिन यो पर्व मनाउँछन् । यो पर्वमा परिवारका पुरुषको सहायक भूमिका हुन्छ । प्राचिनकालदेखि परिवारको समृद्धि, सन्तान प्राप्ति, रोग एवं कष्ट निवारणका लागि छठ पूजा गरिँदै आएको छ । यो पूर्णतया शाकाहारी पर्व भएकाले ब्रतालु एवं परिवारजनले तिहार सकिएलगत्तै माछामासु खान छाड्छन् ।

सूर्य उपासनाको यो पर्वमा घरदेखि जलाशय किनारसम्म दीपावलीझैं माहोल हुन्छ। यो जल, जीवन र सम्पूर्ण ऊर्जाको स्रोत सूर्यबीचको सम्बन्ध झल्काउने असीम श्रद्धाको पर्व हो । सबै जाति, धर्म, वर्ग र लिंगका मानिसले पूजा गर्न सक्ने हुनाले यो सामाजिक सद्भावको अद्भूत धार्मिक एवं सांस्कृतिक उत्सव हो ।

पूजा गर्ने मुख्य उपासकले पानीमा उभिएर साँझ अस्ताइरहेको र बिहान उदाइरहेको सूर्यलाई प्रसादसहित दूध एवं जलको अघ्र्य दिन्छन् । मुख्य ब्रतालुले झैं लोक आस्थाका कारण परिवारजन, छरछिमेक एवं दर्शनार्थीले पनि पूजा गर्छन् । छठ नसकुन्जेल ब्रतालुले घरमा समेत दीपावली गर्छन् । छठ मातालाई दुर्गा एवं लक्ष्मीकै रूपमा समेत सम्झिँदै दसैं एवं तिहारसमेत मधेसवासीले छठको लोकगीत गाउँछन् या बजाउँछन् । बिहानको अन्तिम अघ्र्यपछि छठ महिमाको कथा वाचन र त्यसपछि घाटदेखि घरसम्म प्रसाद वितरणको क्रम सुरु हुन्छ ।

लगातार चौथो दिनसम्म ब्रतालुको उपवास जारी रहने हुनाले यसलाई कठिन ब्रत मानिन्छ । परम्पराअनुसार घरका ज्येष्ठ र स्वस्थ महिलाले पूजाको नेतृत्व गर्छिन् । नसक्ने भएपछि वरीयता क्रममा परिवारका अन्य सक्षम सदस्यलाई पूजाको जिम्मेवारी दिइन्छ । पुस्तौंसम्म यो क्रम चलिरहन्छ । यो गरिबदेखि धनीसम्मले मनाउने बहुजातीय एवं बहुसांस्कृतिक पर्व हो । नसक्नेले मागेर पनि गर्छन् । भाकलअनुरूप सम्पन्नले पनि भीक्षा माग्ने परम्परा छ ।

समानताको पर्व :

दलित डुम एवं आदिवासीद्वारा निर्मित बाँसको ढाकी र नाङ्लोमा पूजा गरिने हुनाले यसलाई समानताको पर्व पनि मानिन्छ । सिरहा-२ गोढियारीकी पूजा मलिकले वर्षाैंदेखि टोलकै सार्वजनिक पोखरीमा छठको अघ्र्य चढाउँदै आएकी छन् । सोही पोखरीमा टोलका अन्य जातका ब्रतालु पनि छठ पूजा गर्छन् । अरू बेला मलिकसँग समाजका अन्य जातिले छुवाछूतको भेद गरे पनि छठ घाटमा सबै सँगै हुन्छन् । मलिक भन्छिन्, ‘छठका बेला हामी छुवाछूतको पीडा भुल्छौं ।’ यो पर्वमा सबै जातजाति जातीय घेराभन्दा माथि उठेर एक जातिको परिधिभित्र खुम्चिन पुग्छन् । ‘पूजासामग्री अन्य जातका मानिससँग टाँसिदा पनि कोही केही बोल्दैनन्, छुवाछूत मान्दैनन्,’ उनी भन्छिन्, ‘सूर्यको उपासना गरिने यस पर्वलाई पहाडी समुदायका महिलाले पनि तराई-मधेस मूलका महिलासँगै सामूहिक रूपमा मनाउँदै आएका छन् । यस पर्वले सांस्कृतिक सद्भाव कायम गर्ने पुलको काम गरेको छ ।’ छठ पर्वले सामाजिक सद्भाव र मानवीय एकतालाई अझ बलियो बनाएको सूर्यनारायण सत्यनारायण मरवैता बहुमुखी क्याम्पस सिरहाका मैथिलि भाषाका सहप्राध्यापक उमेशकुमार झाको तर्क छ ।

सबै जातजातिको एकै थलो :

लहान-१० का भूतनाथ उपाध्याय ६६ वर्षका भए । पहाडी मूलका उपाध्यायलाई थाहा भएदेखि नै उनको परिवारमा छठ पूजा मनाइँदै आएको छ । जान्नेबुझ्ने भएदेखि नै मातापिताले गर्दै आएको छठ पूजालाई भूतनाथले निरन्तरता दिँदै छन् । गोलबजार-६ की डम्बरकुमारी श्रेष्ठले छठ पूजा गर्न थालेको ५६ वर्ष भयो । छोरा पाउन गरेको भाकल पूरा भएपछि उनले यो संस्कृति अँगालेकी हुन् । ७० वर्ष पार गरिसकेकी उनलाई पछिल्लो चार वर्षदेखि छठ पूजा गर्न बुहारी रञ्जुले सघाउँछिन् । सासुले सुरु गरेको संस्कारलाई स्वास्थ्यले साथ दिँदासम्म निरन्तरता दिने रञ्जुको अठोट छ ।

सबै क्षेत्रका जातजाति, समुदाय एकै थलोमा अटाउनु यो पर्वको अनुपम सौन्दर्य हो । पहाडी समुदायले पनि उत्तिकै निष्ठाका साथ मनाउने क्रमले व्यापकता पाउँदै जानुले सामुदायिक सद्भावको मियोलाई समेत मजबुत बनाउँदैछ । बिहान उदाउँदो र साँझमा अस्ताउँदो सूर्यलाई अघ्र्य चढाएर मनाइने यो पर्व पछिल्लो समय मधेसी र पहाडी समुदायका महिलाले बराबर मान्न थालेका छन् । ‘यो पर्व सामाजिक–सांस्कृतिक अन्तरघुलन र सद्भावको अनुपम नमुना हो, यसले सामाजिक मिलापलाई चौतर्फी फैलाउँदैछ ।

सिरहा नगरपालिका-२, गोढियारीकी लालझरी मलिकले वर्षाैंदेखि टोलकै सार्वजनिक पोखरीमा छठको अर्घ चढाउँदै आएकी छिन् । यही पोखरीमा यस टोलका अन्य जातका ब्रतालु पनि छठ पूजा गर्छन् । अरू बेला मलिकसँग समाजका अन्य जातिले छुवाछूतको भेद गरे पनि छठ घाटमा सबै संगै हुन्छन् । न कसैको पूजासामग्री कसैसँग छोइन्छ न कोही कसैसँग । मलिक भन्छिन्, ‘छठका बेला हामी वर्षभरिको पीडा भुल्छौं ।’

छठ पर्वमा सबै जातजाति जातीय घेराभन्दा माथि उठेर एक जातिको परिधीभित्र खुम्चिन पुग्छन् । मलिक भन्छिन्, ‘अरू जाति पनि उही सूर्यदेवलाई पूजा गर्छन्, हामी पनि उनैलाई नै ।’ छठ घाटमा सबै जातजातिको पूजासामग्री एकअर्काको सँगै टाँसिएको हुन्छ । उनी भन्छिन्, ‘पूजासामग्री अन्य जातकोसँग टाँसिदा पनि कोही केही बोल्दैनन्, छुवाछूत मान्दैनन् ।’

सूर्य उपासनाको परम्परा :

छठ पर्व कुनै समय प्राचीन मिथिला र भुजपुरा भूभागमा मात्र प्रचलित थियो । कालान्तरमा यो पर्व मैथिली र भोजपुरी भषाभाषीसँगै देश–देशान्तरसम्म विस्तृत हुँदै आयो । ‘छठ वास्तवमा सहरी मिथिलाको ग्रामीण पर्व हो । छठ पर्वमा धनी-गरिबबीचको फरक छुट्टिँदैन । छुवाछूत, जातीय वा लैंगिक विभेद पनि पाइँदैन । छठमा प्रसादका रूपमा चढाइने सामग्री ७० थरी पुर्‍याउनुपर्ने मान्यता छ । यस्ता सामग्रीमा मुला, गाजर, ज्यामिर, बेसार, अदुवा, पिँडालु, सुन्तला, केरा, उखु, नरिवल, सुपारी, पान, गेडागुडी, दही आदि हुन्छन् । कुनै कारण ७० प्रकारका सामग्री पुर्‍याउन नसकिए गम्हरी भन्ने धानको चामल चढाउँदा पुग्छ । गम्हरीलाई औषधीय गुणयुक्त मानिन्छ ।

अहिंसाको पर्व :

शाकाहारी र शुद्धतालाई निकै महत्व दिइने छठपूजालाई अहिंसाको पर्व पनि भनिन्छ । ब्रतालु यस पर्वमा प्याज, लसुन, माछा मासु खाँदैनन्। यस पर्वमा सबैको जय जयकार गरिन्छ । छठ पर्वले संसारमा सबै जीवजन्तुको रक्षा गर्नुपर्छ भन्ने सन्देश दिन्छ । छठ पूजाले मनोकामना पूरा हुने विश्वासका साथ यसप्रति जुनसुकै तह, तप्का र क्षेत्रका व्यक्ति तथा समुदायमा आस्था बढेको पाइन्छ । त्यसैले छठ पर्वलाई आस्था र विश्वासको पर्वसँगै सद्भाव र अहिंसाको पर्व पनि भनिन्छ ।

किसानको श्रमको कदर :

छठ पर्वले कृषि उत्पादनको महत्वलाई स्वीकार गरेको छ । जीवन र प्रकृति एकअर्काका पूरक हुन् । प्राकृतिक सम्पदाको संरक्षण गर्नु जीवनको सम्पन्नताको मियो हो भन्ने तथ्यलाई यो पर्वले प्रमाणित गर्छ । गम्हरी धान, हरियो पातसहित ऊखु, पातसहितको अदुवा, निम्बु, सानो बोडी, केरा, स्याउ, सुन्तला, सुथनी, झुत्रोसहितको नरिवल, कागती, केराको थम्बा, गहुँ आदिको प्रयोगले यस पर्वले किसानको श्रमको कदर गरेको देखिन्छ । ‘हामीले बनाएको सामान अधिक मात्रामा बिक्री हुने बेला यही हो,’ लहान–४ का उमेश पण्डित (कुमाल)ले भने । उमेशले भने, ‘हाम्रो व्यापारको समय नै यही हो, त्यसपछि वर्षभरि बैठारी ।’ माटोका भाँडा ‘सिजनल’ व्यापार भैसकेको उनी बताउँछन् । चौरचन (चौठीचान्द) अघि सुरु हुने यो व्यापार छठपछि बन्द हुन्छ ।

छठ घाटमा स्वास्थ्य सुरक्षा मापदण्ड :

कोरोना भाइरसको संक्रमणका कारण यस वर्ष प्रदेश २ को लहानलगायतका सहरमा छठ पर्व भीडभाड नगरी विधिमात्र पूरा गरेर मनाइने भएको छ । जाडो लागि सकेकाले भीडभाड गर्दा कोरोना महामारी फैलन सक्ने हुँदा सामान्य पूजा मात्र गर्न लागिएको हो । सिरहाको लहान, जनकपुर, वीरगन्ज लगायतका पोखरी नदीलगायत स्थानमा समान्य साजसज्जा गरीएको छ । छठ घाटमा नहाय खायदेखि नै गुन्जीने छठका गीत यसपाली गुन्जीएका छैनन् । अधिकांश छठका घाटहरु सुनसान छन् । हजारौँ मानिस जम्मा भएर मनाउने गरिएको छठमा यसपालि सीमित मानिस मात्र घाटमा आउन आग्रह गरिएको छ ।

लहान स्थित ललकु मा.वि. पोखरीको छठ घाटमा यसपालि उपाशक बाहेक दुईजना मात्र उपस्थित हुन आयोजकले अपील गरेको छ । छठ घाटमा आउने सम्पूर्णलाई मास्क अनिवार्य गरिएको छ । बालबालिकालाई सकेसम्म लिएर नआउन भनिएको छ । घठ घाटमा अर्घ्य चढाउनुअघि हात सेनिटाइज गर्नुपर्ने, उपाशकलाई अर्घ्यदिन एक जना मात्र घाटमा आउन भनिएको छ ।-नागरिक।