× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
जीवन शैली

कर्णाली नदीमा पुल बनेपछि भुलुबासी हर्षित

Simrik Online

४ मंसिर २०७७, शुक्रबार

दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका र अछामको तुर्माखाँद गाउँपालिका भुलु जोड्ने कर्णाली नदीमा बनेको झोलुङ्गे पुल।

दैलेख । वर्षोैदेखि कर्णाली नदी वारपार गरेर जोखिम यात्रा गर्दै आएका अछाम तुर्माखाँद गाउँपालिका-२ भुलुबासीको जोखिम यात्रा गर्नुपर्ने बाध्यता हटेको छ। दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका-७ अमल्तडादेखि अछामको तुर्माखाँद गाउँपालिका-२ भुलु (लोब्रे) जोड्ने कर्णाली नदीमा झोलुङ्गे पुल बनेपछि भुलुवासीको जोखिम यात्रा गर्नुपर्ने बाध्यता हटेको हो।

खाम्पाटेरडेब, भुमी जेभि निर्माण कम्पनीले (२०७६) माघ महिनादेखि पुल निर्माणको काम सञ्चालन गरी (०७७) असोजमै सम्पन्न गरेको जनाएको छ । ८८ लाखको लगानीमा १ सय ५६ मिटर झोलुङ्गे पुल निर्माण गरिएको कम्पनीका प्रतिनिधी मदन शाहीले जानकारी दिए। पुल निर्माण भएपछि दैलेख चामुण्डाविन्द्रासैनी नगरपालिका बासिन्दा र भुलुबासीमा खुशी छाएको भुलुकी मामसरा शाहीले बताईन। उनले भनिन्, ‘कर्णाली नदी वारपार गर्दा सधै डुङ्गा भरमा जोखिम मोलेर जानुपथ्यौं। अब झोलुङ्गे पुल बनेपछि जोखिम हटेको र भुलुवासीलाई सुविस्ता मिलेको छ। भुलु तुर्माखाँद गाउँपालिकाको दुर्गम क्षेत्र हो। पुलमा निर्माणमा चामुण्डाबिन्द्रासैनी नगरपालिका र सस्पेन्सन ब्रिज डिभिजनको आर्थिक सहयोग तथा हेल्भेटासको प्राविधिक सहयोग निर्माण गरिएको हो।’

पुल बन्नुभन्दा पहिला कर्णाली नदीमा डुङ्गाको सहायताबाट पाल्तेडादेखि भुलू जाँदै नेपाल प्रहरीको टोली।

पुलबाट करिब ८० प्रतिशत तुर्माखाँद-२ भुलीबासी र २० प्रतिशत चामुण्डाविन्द्रासैनी नगरपालिकाका बासिन्दा लाभान्वित भएको दैलेख चामुण्डाबिन्द्रासैनी नगरपालिका-७ का वडाअध्यक्ष ईन्द्र चौलागाईँले बताए। पुल सञ्चालनमा आए सँगै डुङ्गा (नाउ) र ट्युवको सहायताबाट कर्णाली नदी तर्नुपर्ने बाध्यता टरेको छ,’ उनले भने।

दशकौँदेखि ढुङ्गाको भरमा नदी वार-पार गरेर गर्नुपर्ने बाध्यता झेलिरहेका भुलूवासीलाई ‘झोलुङ्गे’ पुल निर्माणपछि बरदान बनेको भुलुकी सिता शाहीले बताइन्। कर्णाली नदी वारपार गर्दा हाम्रा कति दिदीबहिनीलाई नदीले खाईदियो। अब कोही पनि दिदीबहिनीले अकालमै ज्यान गुमाउनु पर्ने छैन। हामीलाई राज्यले दिने सेवा सुविधा के हुन थाहा छैन। कर्णाली नदीमा जोखिम यात्रा, भौगोलिक विकटताले गर्दा गाउँमा कोही पनि आउदैन । अब त कर्मचारी आउँछन् होला।

शाहीले भनिन्, ‘पुल बन्नु भनेको हाम्रा लागि सौभाग्य हो।’ पहिला हामी डोकोमा तरकारी, फलफुल बेच्नका लागि कर्णाली पारी राजमार्ग जान्थेम। हामीलाई दैनिक आवाश्यक पर्ने दाल, चामल, नुन, तेलको लागि पनि पाल्तेडा बजारकै मुख ताक्नुपर्छ।’ ‘कर्णाली नदीमा ट्युव, त कहिले ढुङ्गा चढेर जाँदा, थाह हुन्थेन कहिले कर्णालीमा खसेर मरिने हो भन्ने अब त्यो समस्या सदाका लागि सकियो, हामीले जोखिम यात्रा गर्नुपरेन’, खुशी हुँदै उनले भनिन्। अब त हामी डोकोमा बोकेर भएपनि ढुक्का साथ आफ्नो उत्पानलाई सहज रुपमा बजारिकरण गर्न जान्छौँ।’

यस्तै लोप्रे गाउँका बालबालिकाकाले अध्ययन गर्ने विद्यालय पनि पाल्तेडा बजार मै छ। साना-साना बालबालिकाहरुले पनि ढुङ्गा, ट्युवमै वार–पार गर्नुपर्ने बाध्यता पुलले टरेको छ तुर्माखाँद-२ का वडासचिव जनक थापाले पुलले भुलूवासीलाई निकै सहज बनाएको बताए। ‘भुलू सुन्तला र तरकारी उत्पादनमा हिसाबले राम्रो क्षेत्र हो,’ थापाले भने, ‘सामान्य विक्री गर्नका लागि भएपनि कर्णाली पारी नगएर सुख्ख छैन।’-राजधानी।