मनेश निरौला, सोलुखुम्बु । नेपाली कांग्रेस सोलुखुम्बु जिल्ला कार्य समितिले मंसिर २९ गते सरकार विरुद्ध प्रदर्शन गर्ने तयारी गरिरहेको बताएको छ । जिल्ला सभापति विनोदकुमार बस्नेतले सोलुखुम्बु कांग्रेसका कार्यकर्ताहरुलाई विरोध प्रदर्शनमा सहभागी हुन आह्वान गर्दै सरकार विरुद्ध प्रदर्शन गर्ने बताएका हुन् ।
गत शुक्रबार नेपाली कांग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवाले आफ्नै निवासमा पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाएर तनहुँ घटनासहित कोरोना रोकथाम, नियन्त्रण र राहत वितरणजस्ता कार्यमा सरकार असफल भएको, भ्रष्टाचार र अनियमितता बढेको तथा सर्वसत्तावादी आचरण लाद्न थालेको भन्दै मंसिर २९ गते ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियोे ।
कम्युनिस्ट नेतृत्वको वर्तमान सरकार भ्रष्टाचारमा लिप्त रहेको, कोरोना संक्रमणविरुद्ध आवश्यक र अत्यावश्यक काम गर्न नसकेकोलगायत निष्कर्षसहित त्यसको विरुद्ध प्रदर्शन गर्ने निर्णय गरेको कांग्रेसले बताएको छ ।
यस्तैगरि नेपाली कांग्रेसले संसद्को हिउँदे अधिवेशन बोलाउन पनि माग गरेको छ । संसद् ठप्प हुँदा नागरिकका चासो र चिन्ताका विषयमा छलफल हुन नपाएको भन्दै संसद्को प्रमुख प्रतिपक्षी दल कांग्रेसले यथाशीघ्र संसद् अधिवेशन बोलाउन माग गर्ने निर्णय गरेको हो । पार्टीभित्रको विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले गत १८ असारमा हठात् संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए ।
यीनै विषयवस्तुमा आधारित रहेर सोलुखुम्बु कांग्रेसले केन्द्रको निर्णय र निर्देशन बमोजिम मंसिर २९ गते सल्लेरीमा प्रदर्शन गर्ने तयारी गरिरहेको जिल्ला सभापति बस्नेतले सिम्रिक अनलाइनलाई बताएका छन् ।