× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
फिचर

नेचासल्यान साक्षर गाउँपालिका घोषणा

Simrik Online

१६ चैत्र २०७७, मंगलवार

सोलुखुम्बु । जिल्लाको नेचासल्यान गाउँपालिकालाई साक्षर गाउँपालिका घोषणा गरिएको छ । संघीय संसद हेमकुमार राई “सुरवीर”को प्रमुख आतिथ्यता तथा नेकपा एमाले संसदीय दल प्रदेश १ का प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी र प्रदेशसभा सदस्य उत्तमकुमार बस्नेतको विशिष्ट आतिथ्यतामा नेचासल्यान गाउँपालिकालाई मंगलबार साक्षर गाउँपालिका घोषणा गरिएको हो । साक्षर गाउँपालिका घोषणा गर्ने नेचासल्यान जिल्लाकै पहिलो गाउँपालिका बन्न पुगेको छ । गत चैत ११ गते बसेको गाउँकार्यपालिकाको बैठकले नेपाल सरकारले तोकेको मापदण्ड पूरा भएका कारण गाउँपालिकालाई साक्षर गाउँपालिका घोषणा गर्ने निर्णय गरेको कार्यक्रममा जानकारी दिइएको थियो ।

नेपाल सरकारको साक्षर गाउँपालिका, नगरपालिका तथा जिल्लाको घोषणाका लागि तयार गरिएको अनौपचारिक शिक्षा तथा साक्षरता कार्यक्रम कार्यान्वयन सहजीकरण पुस्तिका २०७५ बमोजिम नेचासल्यान गाउँपालिकाले आर्थिक वर्ष २०७६/०७७ मा संकलन गरेको साक्षरता तथ्यांक अनुसार कूल जनसंख्या १५,५२६ मध्ये ९७ प्रतिशत साक्षर रहेको गाउँपालिका अध्यक्ष डुफकुमार बास्तोलाले जानकारी दिएका छन् । अध्यक्ष बास्तोलाका अनुसार नेचासल्यान गाउँपालिकामा १५ वर्षभन्दा माथिको कूल जनसंख्या १२,२६० मध्ये ९६.२० प्रतिशत तथा १५ देखि ६० वर्ष समूहको कूल जनसंख्या १०,६९८ मध्ये ९५.७० प्रतिशत भन्दा बढी साक्षर रहेका छन् ।

कार्यक्रममा अतिथिहरु सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी – गणेशविक्रम शाही, नेकपा एमाले गाउँकमिटी अध्यक्ष – जगनाथ बास्तोला, नेपाली काँग्रेस गाउँ कार्य समितिका सभापति – निरकुमार शर्मा कटेल र नेपाल शिक्षक महासंघ नेचासल्यान गाउँपालिकाका अध्यक्ष – अशोककुमार शर्मा, जिल्ला शिक्षा समन्वय इकाइ प्रमुख – खगेन्द्र श्रेष्ठ लगायतका वक्ताहरुले शिक्षा क्षेत्रको विकासका लागि स्थानीय जनप्रतिनिधि र नागरिक सचेत भएकै कारण गाउँपालिकाले यो सफलता प्राप्त गरेको भन्दै गुणस्तरीय शिक्षाका लागि अब सबैको ध्यान केन्द्रित हुनुपर्ने बताएका थिए ।

गाउँपालिका अध्यक्ष डुफकुमार बास्तोलाले शिक्षातर्फको पूर्वाधार विकास लगायत शैक्षिक गतिविधिको सुधारका लागि प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग पुर्‍याउने सबैलाई धन्यवाद ज्ञापन गर्दै साक्षर हुन बाँकी रहेका गाउँपालिकाका नागरिकहरुलाई क्रमशः अक्षरी साक्षरसँगै समयसापेक्ष रूपमा सूचनाप्रविधियुक्त साक्षर बनाउनका निम्ति आवश्यक पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा विभिन्न शैक्षिक स्टल राखिनुका साथै विविध सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।