× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
अन्तर्राष्ट्रिय समाचार

म्यान्माको वर्तमान भयावह अवस्था र अनुभुति

Simrik Online

१५ जेष्ठ २०७८, आईतवार

✍️ केशव आचार्य

अहिले म्यान्मा देश अशान्त र स्तब्ध छ । सबैतिर सन्नाटा छाएको छ । देश संकटपूर्ण अवस्थामा छ । सम्पूर्ण देशबासी नागरिकहरू दुःखित छन् । जनधनको रक्षा गरिदिने कोही छैनन् । जनताले गुहार र पुकार गर्ने ठाउँ कतै छैन । जननिर्वाचित NLD सरकारलाई अपदस्थ गरि सैनिकले १ फरवरी २०२१ मा बलपूर्वक सम्पूर्ण शासन सत्ता छिनेर आफ्नो कब्जामा लिई देशमा संकटकाल घोषणा गरिदियो । सैनिक प्रमुख “मिन्आउ लाइनले” सम्पूर्ण राज्यसत्ता आफ्नो हातमा लिने बित्तिकै जन निर्वाचित NLD सरकारको पहिलो संसद्को बैठक हुन नपाउँदै “आउ सान् सूचि” समेत सम्पूर्ण प्रमुख राजनीतिक दलका नेतालाई नजरबन्दमा राखेर जुन प्रकारको देशमा मानवता विरुद्ध अराजकता तत्व सिर्जना गर्न खोज्यो त्यसको विरोधमा देशभर व्यापक प्रदर्शन भइरहेको छ । सत्ता हत्याएको विरुद्धमा देशभर भएको नागरिक आन्दोलनलाई सेना र प्रहरीले शक्ति लगाएर दमन गर्न थालेकाले अहिले देशमा सेनाको दानवीय प्रवृत्ति यत्रतत्र फैलिएको छ । लोकतन्त्रको पक्षमा बोल्ने र आवाज उठाउने प्रदर्शनकारी माथि बर्बरताका साथ हत्या गर्ने तानाशाहीको अन्याय र अत्याचारको खुनीखेल देशमा चरम सिमा पार गरिसकेको छ ।

नागरिकहरू आफ्नो हकहित र स्वतन्त्रताको लागि देशव्यापी रुपमा सडकमा उत्रिएका छन् । लोकतन्त्रको पुनर्बहालीको माग गर्दै, सैन्य शासन बिरुद्ध देशका विभिन्न शहरहरुमा बिरोध प्रदर्शन गरिरहेका छन् । सुरक्षाकर्मी र प्रहरीले शान्तिपूर्ण आन्दोलन गर्ने निहत्था प्रदर्शनकारी माथि अन्धाधुन्ध गोली चलाइ सयौंलाई निर्मम हत्या गरिसकेको छ भने  हजारौं हजार घाइते भएका छन् । कतिपय घाइतेहरू उपचारको क्रममा जीवन गुमाइ रहेका छन् । कयौं प्रदर्शनकारी हस्पिटलमा जीवन र मृत्यु बीच संघर्ष गरिरहेका छन् । जुलुस निकालिएका कयौं ठाउँमा सेनाले गोली, अश्रुग्यास, रबरका गोली, पानीका फोहोरा र लाठी प्रयोग गरि भीडलाई तितरबितर पार्दै हजारौं हजार प्रदर्शनकारीलाई हिरासतमा लिई थुनामा राखेको छ । कयौंलाई राजद्रोहको आरोपमा  मुद्दा चलाएको छ । सेनाले निहत्था बालबालिकादेखि आमनागरिकसम्मको घरभित्रै पसेर हत्या गरिरहेको छ भने कतिपय आन्दोलनकारीलाई सेनाले गोली हानेपछि सडकमा रहेको टायर माथि जिउँदै जलाएका छन् । सर्वसाधारण होस् या प्रदर्शनकारी सडकमा निस्किएका मान्छेलाई सेनाले गोली ठोकेर मारिरहेको छ । आफन्तले मृत शरीर उठाउन पनि पाएका छैनन् । सडक रगतले पोतिएको छ । कयौं प्रदर्शनकारीहरुको शिरमा बन्दुक र लाठीले हानि हानि मारेका छन् भने कतिका लासलाई सेनाले घिसारी घिसारी आफ्नो गाडीमा हालेर लगेको डरलाग्दो दृश्य पनि देखिएको छ । कतिपय प्रदर्शनकारीको लास आफन्तलाई अहिलेसम्म नदिएको कतिपयको गुनासो छ । सुरक्षाकर्मीले रातको समयमा घर घरमा छिरी कयौं आन्दोलनकारीलाई लगेर बेपत्ता पारेका छन् यसको कुनै हिसाबकिताब छैन । यति हुँदाहुँदै पनि लोकतन्त्रका पक्षधरहरुले सैन्य शासन विरुद्ध दिनदिनै विभिन्न प्रकारका जुलुस निकाली क्रान्तिकारी रुपमा प्रदर्शन गर्दै आएका छन् भने मृत्युु हुनेहरूको संख्या दिनानुदिन बढ्दै गएको छ । सेना झन भन्दा झन प्रदर्शनकारी प्रति आक्रमक र हिंसात्मक हुँदै आएको छ । सडक जनताको रगतले रातै भएको छ । अलिकति पनि दया, करुणा, ममता, प्रेम र मानवता नभएको सेनाले बालक, युवा, नारी र बृद्ध बृद्धालाई समेत गोलीप्रहार गरि हत्या गरिरहेको छ । अहिलेसम्म प्रदर्शनकारी सेनाको कठोर यातनाका कारण र गोलीप्रहारबाट ज्यान गुमाउनेहरूको संख्या ८०० भन्दा बढी पुगिसकेको छ भने ५ हजार भन्दा बढी प्रहरी हिरासतमा छन् । यसमध्ये कतिलाई जेल सजाय भइसकेको छ । सेनाले दैनिकजसो गोला बारुदको वर्षा गरि हत्या गरिरहे पनि आन्दोलन भने  रोकिएको छैन । मृत्युदर दैनिक बढिरहेको छ । मृत्युहुनेहरुमा प्राय: पच्चीस वर्ष मुनिका युवाहरू पर्छन् । यसमध्ये पनि लगभग ५० जनात उमेर नपुगेका बालबालिकाहरु रहेका छन् ।  हत्या, हिंसा र थिचोमिचो गरि सुरक्षाकर्मीले दमनकारी नीति अपनाइ आफ्नो बहादुरीपना देखाउने अन्यायी र अत्याचारी सैनिकमाथि आमजनताको विश्वास र भरोसा टुटेको छ ।

इतिहास साक्षी छ देश स्वतन्त्र भएपछि अहिलेसम्म जति जनआन्दोलन भए ती आन्दोलन सेनाको कब्जा र अन्यायक‍ो कारणले भए । आमनागरिक माथि जहिले पनि सेनाले अन्याय र अत्याचार गर्दै आएको छ । चाहे त्यो सन् १९६२, १९८८, २००७, २०१७, र अहिले २०२१ को नागरिक आन्दोलन होस्, सेनाकै कारणले हजारौं हजारको संख्यामा नागरिकहरूको ज्यान गुमेको छ भने लाखौंको संख्यामा देशबाट शरणार्थीको रूपमा पलायन भएका छन् । यसरी देशमा सन् १९६२ देखि २०२१ सम्म सेनाले देशबासी आमनागरिकहरुलाई हत्या गर्दै आएको छ । अझ भन्नुपर्दा सन् २०१७ को रोहिन्जाक‍ो प्रकरण बाट त झन् सेनाको छवि एकदमै खराब भयो । त्यसबेला “यखाइमा” सेनाले एक समुदाय माथि बर्बरताका साथ आक्रमण गरि नरसंहार गरेको थियो । त्यहाँका हजारौं हजार रोहिन्जा जातिको निर्मम हत्या भएको थियोे । त्यहाँका सयौं नारी माथि अत्याचार र बलात्कार भएका थिए । हजारौं हजार आमाहरूको काख रित्तो भएको थियोे । कयौंका घर जलेर घरबारविहीन भएका थिए । कतिका सम्पत्ति लुटपाट भएका थिए । हजारौं हजार नारी बिधवा भएका थिए भने लाखौंलाख मानिसहरु विस्थापित भएका थिए । सेनाले गरेको हत्या, दमन, अन्याय र  अत्याचारको विश्वले एक स्वरमा घोर निन्दा गरेका थिए भने अन्तर्राष्ट्रियस्तरको मुद्दा समेत बनेको थियोे । आफ्नै जाति होस् या देशका आदिवासीजनजाति सेनाले कहिल्यै पनि राम्रो आचरण र व्यबहार गरेन । सेनाले कहिल्यै पनि जनताको ईच्छा आकाङ्क्षा र चाहना पुरा गरेन । जनताले स्वतन्त्रतापूर्वक आफ्ना कुरा राख्न पाएनन् सधैंभरि डर त्रास दिएर दमन गरेर राख्यो । अहिले आएर विस्फोट भएको छ जनताहरुको आक्रोश ।
सेनाले देशको महत्त्वपूर्ण आयस्रोत खनिज, तेल, ग्याँस र आर्थिक स्रोतसाधनमा समेत पूर्णरूपमा वर्षौंदेखि एकाधिकार जमाएर राखेको छ । अहिले देशको अर्थतन्त्र, सामाजिक, आर्थिक र शैक्षिक व्यवस्था पनि सेनाले ध्वस्त पारिसकेको छ । सेनाले देशको आर्थिक अवस्था एकदम कम्जोर बनाइदिएको छ । जनताहरु बेरोजगारी भएका कारण गास, बास र कपासको खोजीमा विदेशीन बाध्य भएका छन् । देशमा विदेशी कम्पनी र कलकारखानाहरु प्राय बन्द भइसकेका छन् भने लगानी कर्ताहरु देशको परिस्थिति देखेर आउन छाडेका छन् । सत्ताको स्वाद पाएको सेनाले देशको बहुमुल्य खानी आदिमा वर्षौंदेखि आफ्नो अधिकार जमाएर बसेको छ । देशमा निस्किने बहुमुल्य खनिजमा पनि सेनाले आफ्नो स्वामित्व जमाएको छ । सेनाप्रमुखहरु देशको सम्पत्ति लुटेर अर्बौं खर्बौं सम्पत्तिका मालिक भएका छन् । सेनाले आफ्ना छोराछोरीहरु विदेशमा राम्रा राम्रा उच्चस्तरीय स्कुलमा पढाएका छन् भने सेनाका अधिकारीहरुनै ठूला ठूला व्यापारी र पाँच-सात तारे होटलका मालिक छन् । सत्ताको स्वाद पाएको सेनाले देश र जनताको सुरक्षा गर्नुको सट्टा राजनीतिलाईनै आफ्नो व्यवसाय बनाएपछि पटकपटक देश कब्जा गरेको हो । स्वदेशमा होस् या विदेशमा धेरै ठूला ठूला कम्पनी र कलकारखानाका मालिक छन् । देशका बडे-बडे उद्योगपति र धनी भनेकै सेना प्रमुखहरु हुन् । हतियारको बल र सत्ताको शक्तिले यसरी लुटेका छन् कि देशको सम्पत्ति सेना नायकहरूले दसौं दसौं  पुस्तासम्म पनि खाएर भ्याइनेवाला छैन । आफूहरू ठूल्ठूला महल र आलीशान घरमा बसी जनताहरूको रगत बारम्बार चुसेका छन् सेना प्रमुखहरुले ।

अहिले आन्दोलन दिनप्रतिदिन हिंसात्मक हुँदै आएकोले देशको अवस्था भयावह हुँदै गएको छ । लोकतन्त्रको बहाली नभएसम्म आन्दोलन जारी राख्ने नागरिकहरूको अडान छ । सेनाले पनि यस आन्दोलनलाई ध्वस्त पार्न गोला बारुदको समेत बर्सा गरिरहेको छ । कयौं प्रदर्शनकारीहरु मृत्युको मुखमा पुगिसकेका छन् भने कतिपयका अंगभंग भएका छन् । यति हुँदाहुँदै पनि आन्दोलन भने रोकिएको छैन । सेनाले पनि यस आन्दोलन लाई दमन गर्न हरेक षडयन्त्र र जालसाजी रचेको छ । कयौं ठाउँमा आगजनी र दुर्घटना भए, सेनाको कार्यालयमा, प्रहरी अड्डामा र शहरका अनेकौं ठाउँमा बम बिस्फोट भए त्यो सबै सेनाले रचेको चाल हो । देशमा राति ८ बजेबाट बिहान ४ बजे सम्म कर्फ्यु लगाएको छ । देशमा जति आगलागी र बम विस्फोट भएका छन् ती प्राय रातको समयमै भएका छन् । जनताहरु घरबाट बाहिर निस्किनै नहुने समयमा भएको घटनालाई जनताले देशको सम्पत्ति नोक्सान गरे भनेर ठूलो आरोप लगाएको छ । हातबाट सत्ता जान्छकि भन्ने डरले अनेक अनेक उपाय र जालसाजी अपनाएको छ । जेलमा रहेका पचासौं हजार कैदीलाई रिहा गरि विभिन्न ठाउँमा आन्दोलनलाई बिगार्न पठायो । हरेक ठाउँमा बिद्रोह र आगजनी गर्न लगायो, गोला बारुद वर्षा गर्न लगायो, बम फेक्न लगायो, पत्थरबाजी गर्न लगायो, सूचना दिनको लागि गाउँ-गाउँमा गुप्तचर बनाएर पठायो, आफ्नो बुद्धिले भ्याए जति हरेक हरेक कपटपूर्ण खेल रच्यो, तर यसले रचना गरेको षडयन्त्र जनताले सबै विफल पारिदिए । कतिका घर र गाउँ बस्तीलाईनै आगो जलाउन लगायो अनि भोलिपल्ट दानीदाता बनेर चामल र ससाना दुईचारवटा चाउचाउका पोका लिएर देखावटी दान गर्न घटनास्थलमा पुग्यो, यसरी नै छल कपट गरेर सेनाले जनताहरुको आँखामा धूलो हाल्ने काम गरिरहेका छन् । सेनाका निजी सेन्टर, कम्पनी र बस गाडी आदिमा जति आगजनी र बम बिस्फोट भए त्यो सबै सेनाले रचेको षड्यन्त्र हो । पछि इन्स्योरेन्स बिमा मार्फत दोगुना क्षतिपूर्ति पाउँछन् । कालो गए सेतो आउँछ भनेझैं हो । विश्वलाई देखाउन र राज्यसत्ता सदाको लागि आफ्नो बनाउन रचेको  षडयन्त्र मात्र हो । यो कुरा जनताले मात्र होइन विश्वले पनि जानिसकेका छन् । यस्तो जाली दमनकारी र अमानवीय व्यबहार देखेर देशबासी नागरिकहरू र देशमा हतियार समाउने जातीय सशस्त्र संगठनहरु साथै देशमा भएका आदिवासीजनजातिहरु मिलेर वर्तमान अत्याचारी बर्मा सैनिकलाई खारेज गरि जनतालाई माया गर्ने र देशको रक्षा गर्ने नयाँ संयुक्त राष्ट्रिय सैनिक र सुरक्षाबलको स्थापना गर्नुपर्छ भन्ने आवाज उठेको छ । देशबासी जनताहरुले यो नरसंहारी सैनिक र २००८ को संविधानलाई कुनै पनि हालतमा स्वीकार नगर्ने धारणा बनाएका छन् । सेनाले यसरीनै जनतालाई  हत्या र दमन गर्दै गयो र राज्यसत्ता हस्तान्तरण गरेन भने देशमा लामो समयसम्म गृहयुद्ध हुने सबैको अनुमान छ ।

आन्दोलनको अगुवाइ गर्ने कार्यकर्ता, नेतृत्व गर्ने नेता र अग्रपंक्तिमा रहेर मोर्चाबन्दी गर्ने व्यक्ति अनि नागरिक प्रमुखहरुलाई सुरक्षाबलले  राति राति घरमा जबर्जस्ती घुसेर कुटपिट गरि हत्या गरिरहेको छ भने कयौंलाई  हिरासतमा लिई जेलमा थुनिरहेको छ । कयौंका घर, रेष्टुरेन्ट, चियापसल, स्टोररुम, पसल, कार्यालय, संचारघर र परोपकारी संस्थाहरुमा खानतलासी गर्दै तोडफोड गरेको छ । कयौं ठाउँमा बहुमुल्य सामान र सम्पत्ति लुटेर लगेको दृश्य सामाजिक सञ्जाल हरुमा देख्न सकिन्छ । मठ मन्दिरका रकम, सामाजिक संस्थानका रकम, परोपकारी संस्थाको कोष र सर्वसाधारणका पसलहरु समेत सेनाले लुटपाट गरि तोडफोड गरेको छ । आफ्नो घर अगाडि राखेका गाडी र मोटरसाइकलहरु समेत सेनाले तोड्दै राति राति ट‍ोलटोलमा र गल्ली गल्लीमा बन्दुक पड्काउँदै र धम्की दिदै हिडेका छन् । कयौंका गाडीहरु डोजरले तोडफोड गरेको र कतिपय व्यक्तिहरूका मोटरसाइकलहरु सेनाले चोरेर गाडीमा लगेको पनि देखिएको छ ।

दैनिक दिउँसो सडकमा सैन्य शासन विरुद्ध विभिन्न किसिमका जुलुस र नाराबाजी निकाली विरोध प्रदर्शन हुन्थ्यो भने राति ८ बजेबाट १५ मिनेट सम्म म्यान्मा देशभरमा थाल र ढोल बजाएर घोर विरोध हुन्थ्यो । अहिले राति जुन घरमा थाल र ढोल बज्छ त्यो घरमा सेनाको गोली चल्छ । बर्माजातिको मान्यता अनुसार थाल र ढोल बजाउनु भनेको सैतान भगाएको भन्ने अर्थ हो । अर्थात् यो लुटेरा जुन्ता सरकारलाई सैतान झैं ठानि सत्ता बाट सदाको लागि भगाउन बजाइएको हो थाली र ढोल । हालमा थाल र ढोल बजाएको भन्दै  कतिपय मानिसलाई हिरासतमा लिएर थुनामा राखेको छ । अहिले थाल र ढोल बजाउन प्राय बन्द भैसकेको छ । केही वर्ष यता लुट्न नपाएका सेनाले आज आफ्नो हातमा सत्ता र पावर आउँदा सत्ताको दुरुपयोग गर्दै यही मौका हो भनेर लुट्न सम्म लुटेका छन् सेनाहरूले । यात्रामा हिडेका कयौं यात्रीहरुको रकम, मोबाइल फोन, कम्प्युटर र बहुमुल्य समान लुटेर लगेको समाचार आएको छ । विरोध गरे गोली खाइन्छ के गर्ने ? राम्रो गाडी, धनी व्यक्ति राम्रा अग्ला घर र गरगहना लगाएका मानिस देखेमा पनि सोधपुछ गर्छ चित्तबुझ्दो भएन भने भएको सामान जफत गरिदिन्छ । देशमा लुटेरा र डाँका भनेकै यिनै सेनाहरु हुन् । सेनाले आफ्नो टोली बनाएर आज यसको घरमा भोलि उसको घरमा जाने भन्दै योजनाबद्ध रूपमा खानतलासीको बहाना गरि छापामार शैलीमा घर घरमा घुसी सम्पत्ति लुटेर लैजाने गरेका छन् । जनताहरूले दिनरात परिश्रम गरि खुन पसिना बगाएर जम्मा गरेको धन सम्पत्ति सेनाले लुटेर लगि रहेका छन् भने कयौं भौतिक समानहरु  क्षतिग्रस्त बनाई दिएका छन् । सेनासंग अलि चर्कोसित सवाल जबाफ गर्ने, कानून र संविधानको कुरा गर्ने, अभिव्यक्तिको कुरा गर्ने, लोकतन्त्रको कुरा गर्ने, सेनाको भिडियो बनाएर फेस्बुकमा चढाउने, फोटो खिच्ने, घर माथि झ्याल ढोकाबाट हेर्ने व्यक्तिलाई र सेना आउँदा माथिबाट भिडियो खिच्नेलाई समेत सेनाले गोली चलाएको छ पत्थरबाजि गरेको छ हिरासतमा लिएको छ । कतिलाईत लात्तीले हानि हानि र कुटिकुटि यातना दिएर मारेको छ । कयौंका घर ढोका झ्यालहरु क्षतिग्रस्त भएका छन् । सीसीटिभि भएका कयौंघर लाई र सीसीटिभिलाई समेत तोडफोड गरेको सीसीटिभिमै कयौं कैद भएका छन् । यसरी सेनाहरुले आमनागरिक हरुको भौतिक सम्पत्ति र जनधनको क्षति पुर्‍याएका छन् । फेसबुक लगायतका सामाजिक सञ्जालहरुमा यी प्रमाणहरु प्रशस्त देख्न सकिन्छ । यदि कसैसँग पनि मोबाइल फोन, फेसबुक, इन्टरनेट र सीसीटिभि नहुने हो भने सेनाले आमनागरिक माथि के व्यबहार गर्ने थियोे होला कल्पना पनि गर्न सकिदैन । यो हो म्यान्माबासी आमनागरिकहरुले भोग्नुपरेको दु:ख । यसरी सेनाले देशमा आतंक मच्चाएको छ । यो आतंककारी सेनाबाट बच्नका लागि हजारौं हजार मानिसहरू आफ्नो घर र व्यापार व्यवसाय छोडेर सुरक्षीत ठाउँमा पलायन भएका छन् । अहिले देशमा सबैतिर भयको माहोल छ । सेना विरुद्ध बोलिस्त गोली खान्छस् भन्ने सबैलाई भयभीत बनाएको छ । प्रजातन्त्र र लोकतन्त्र माग्ने लाई लुटेरा सेनाले बन्दुकको गोलीले जबाफ दिइरहेको छ । आफू सत्तामा बसिरहनको लागि सेनाले दिनानुदिन हिंसाको सहायता लिएको छ । आन्दोलनकारीलाई दान दियो, सहयोग गर्‍यो, प्रोत्साहन गर्‍यो, लोकतन्त्रको पक्षमा र सेना विरुद्ध बोल्यो भनेर देशका सयौं महान कलाकार र अभिनेता हरुलाई समेत जेलमा थुनि दिएको छ । देशमा सेना समर्थित बाहेक अन्य टेलिभिजन, रेडियो र पत्रपत्रिकालाई पनि प्रसारणमा रोक लगाएको छ । प्रजातन्त्र र स्वतन्त्रताको पक्षमा बोल्ने-लेख्ने पत्रकारहरूलाई सुरक्षाकर्मीले हिरासतमा लिने क्रम जारी छ भने सैनिक शासन विरुद्ध बोल्ने लेख्ने संचारकर्मी र पत्रकारहरु लाई राजद्रोहको आरोपमा मुद्दा चलाएको छ । कयौं हस्पिटल, परोपकारी संस्था, टेलिभिजन, पत्रपत्रिका, रेडियो र संचारकर्मी, पत्रकार, डाक्टर आदिको लाइसेन्स दर्तापत्र समेत खारेज गरिदिएको छ । देशमा सेना विरुद्ध केही बोल्नै नहुने अन्धाकानून बनाएको छ । पैदलयात्रामा होस् या साइकलयात्रामा  मोटरसाइकलमा होस् या गाडीमा घरमा होस् या बजारमा सेनाले जाँच गर्दा NLD सम्बन्धित झन्डा, पोस्टर, ब्यानर, फोटो र कुनैपनि चिज भेटेमा साथै मोबाइल फोनमा लोकतन्त्रको पक्षमा र सैन्य शासन विरुद्धमा भएको भिडियो र लेख देखेमा र लाईक, कमेन्ट र सेयर गरेको भेटेमा पनि कुटपिट गरि हिरासतमा लिने गरेको छ । एकजना प्रदर्शनकारीको  हातमा आउसान् सूचिको तस्बिरको ट्याटु लगाएको सेनाले देखेर हातै जलाइदिएको स्वयं कार्यकर्ताले सामाजिक सञ्जालको माध्यमबाट जलेको हात देखाउँदै बताएका छन् । कालो माक्स, कालो टोपी र कालो कपडा लगायो भनेर कतिपय व्यक्तिलाई कुटपिट गरेको छ । सैन्य शासन चाहिँदैन भन्ने भिक्षु, साधु, गुरु, शिक्षक, शिक्षिका, डाक्टर, इन्जिनियर, वकिल, ज्ञानी, विद्वान्, नर, नारी, गर्भवती, बालक, बृद्ध, नेता, अभिनेता, कलाकार, गायक, रक्षक, कर्मचारी, विशेषज्ञ, स्वयंसेवक, दानदाता, परोपकारी संस्थानका व्यक्ति, संघसंस्थाका व्यक्ति, पत्रकार, संचारकर्मी, लेखक र प्रवक्ता आदि सबैहरुलाई कुटपिट गरि हिरासतमा लिएको छ । कतिपय व्यक्तिहरुलाई त खुलेआम बन्दुक ताकि-ताकि मारिसकेको छ भने कयौं व्यक्तिहरु बेपत्ता भएका छन् ।  मानवता नभएको यो पापी सैनिकले बाटोमा हिडेका सर्वसाधारणलाई र मोटरसाइकल सवारी भएका मानिसलाई समेत बिनाकारण हत्या गरेको छ ।

सुरु-सुरुमा सेनाले हत्या गरेका मृतकको शवलाई छोडिदिने र लगिएका शवलाई आफन्तलाई फिर्ता गरिदिने गर्थ्यो । अहिले सेनाको ग‍ोलीबाट र घोर यातनाबाट प्रदर्शनकारी जति मारिन्छन् ती मृतकहरुको शव सेनाले आफ्नो गाडीमा लिएर जाने गरेका छन् । हालमा सयौं सयौं व्यक्तिका शव सेनाले लिएर बेपत्ता पारेको र आफन्तलाई अन्तिम संस्कार गर्न पनि नदिएको कतिपयको गुनासो छ । प्रदर्शनकारी कतिपनि मारिएका छैनन् भन्ने विश्वलाई मृत्युदर कम संख्या बताउन सेनाले यो उपाय अपनाएको हो । सेनाद्वार मारिएका सयौं लासलाई र घाइते भएका कयौं व्यक्तिहरूलाई एउटै ठाउँमा मासुको थुप्रो थुपारेझैं थुप्रो बनाएर गाडीमा लिएर गएको प्रत्यक्षदर्शीले बताएका छन् । देशको राज्यसत्तामा बसिरहनक‍ो लागि सेनाले आफ्नै नागरिकको लासहरुको चिहान बनाएको छ । देशको कुनैकुनै शहरमा सेनाले मारेर लगिएका लासलाई लाखौं रकम असुली गरेरमात्र मृतकका आफन्तलाई लास बुझाउने गरेको छ । सेनाले रकम तोकेर लासको सौदा गरि पैसा लिने गरेको अन्तर्राष्ट्रिय समाचारले समेत बताएको छ । पैसा नभएका गरिब दुखिहरुले आफ्ना छोराछोरीको अन्तिम दाहसंस्कार गर्न पनि पाएका छैनन् । सेनाहरु कयौं ठाउँमा छापामारको शैलीमा राति राति घर घरमा घुसि आन्दोलनमा सहभागी भएको भन्दै सम्पत्ति लुटेर लैजाने गरेका छन् । केही पनि नपाएमा परिवारको सदस्यलाई लिएर जाने अनि लाखौं रकम फिरौती माग्ने गरिरहेका छन् । सत्तारुढ लुटेरा सेनाले यसरी जिउँदो मानिसको र मरेको लास माथि समेत व्यापार गरिरहेको छ । हस्पिटलमा उपचार गर्दै गरेका स्कुले विद्यार्थी र आन्दोलनकारी एवं उद्धार गर्ने डाक्टरलाई समेत हत्या गरेको छ । कयौं हस्पिटल, मन्दिर, मस्जिद र गिरिजाघर तोडफोड भएका छन् । बिमारी बोक्ने एम्बुलेन्स र स्वयंसेवकलाई पनि छोडेन । यहाँसम्मकी गर्भवती नारी र ससाना बालबालिकालाई समेत हत्या गर्न पछि नहट्ने म्यान्मादेशका यस्ता नरसंहारी अन्यायी र अत्याचारी सैनिकहरुको यो दानवीय रवैया देखेर विश्वका सबै राष्ट्रहरु आश्चर्य चकित भएका छन् भने घोर निन्दा र भर्त्सना पनि गरेका छन् । यसरी सेनाले आफ्नो र आफ्नै देशको गरिमा माथि कुठाराघात गरेको छ । देशको यो भन्दा दुर्दशा अरु के हुन सक्ला ? देश र जनताको सुरक्षा गर्नुपर्ने सेना आज सत्ताको लालचमा यिनै जनता माथि दमन गरेको छ । यो घोर आपत्तिजनक कुरा हो यसको जति निन्दा गरेपनि कम हुन्छ ।

अहिले देश राजनीतिक अस्थिरता र दिशाहीन भएको छ । देशमा न्याय हराएको छ, कानुन व्यवस्था ठप्प छ । सुरक्षा छैन शान्तिको अभाव छ । भयको माहोल छ ।  देशमा न्याय, शिक्षा, स्वास्थ्य, सुरक्षा, शान्ति र संविधान यी महत्त्व कुराहरूको अभाव छ । अब देश कसले बचाउने ? देश रक्तपातपूर्ण अवस्थामा छ । यहाँ देशबासी नागरिकहरु स्वतन्त्रताको मौलिक हक र मानव अधिकारको लागि संघर्ष गर्नेहरु दिनानुदिन शहीद भइरहेका छन् । समृद्ध देश, खुसी प्रजा, सबैको साथ सबैको विकासको सपना बोकेर दिनरात काम गर्ने नेतृ आउसान् सूचि र उनका कार्यकर्ता र नेतृत्व गर्ने शीर्ष नेताहरूलाई लुटेरा सेनाले हिरासतमा लिई नजरबन्दमा राखेको छ । कतिपय NLD का नेताहरू लाई हत्या गरि उसको लास घरमा पुर्‍याइदिएको छ भने कतिलाई देश द्रोहको आरोपमा मुुद्दा लगाएको छ । मानवता हराएको सैनिकले आफ्नै देशका जनताहरुको हत्या गरि रगतले मुछिएको राजनीतिक गर्ने निर्णय लिएको छ  ।

आज म्यान्मा देश रोइरहेको छ । देशवासी नागरिकहरुको रगत नदीसरह बगिरहेको छ । देशवासी नागरिकलाई सुरक्षा दिने न्याय दिलाउने र बचाउने कोही छैन । अब आमनागरिकहरु क‍ोसंग सहायता माग्ने ? कोसंग गुहार लगाउने ? आमनागरिकको जीवन कसले रक्षा गरिदिने ? सुरक्षा र न्याय दिलाउने कसले ? यहाँ न्याय हराएको छ । यहाँ आफूले आफूलाई बचाउन परेको छ । एक आपसमा सहयोग र सेवा गर्नुपरेको छ । समय गम्भीर र डरलाग्दो छ कसैको पनि विश्वास गर्न सकिदैन । जो रक्षक छ त्यो नै भक्षक भइदिएको छ । कानुन व्यवस्था सेनाको अधीनमा छ । सेनाले जसो गरे जेभनेपनि हुन्छ उसको हातमा सत्ताको पावर र हतियारको बल छ । कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका सबै सेनाको मुठ्ठीमा र मुखको भरमा छ । यसलाई ५ वर्षको जेल सजाय, यसलाई १० वर्षको, यसलाई १५ वर्षको, यसलाई २० वर्षको र यसलाई आजीवन कारावासको सजाय भनेर तोकिदिए भयो कसले विरोध गर्ने । हालैमात्र  सेना प्रमुखको एकजना सहयोगी सेनालाई मारेको भन्दै त्यसक‍ो हत्याको आरोपमा २३ जना आन्दोलनकारी लाई सेनाको स्वामित्वमा रहेको सञ्चार माध्यमबाट मृत्युदण्ड सुनाएको छ । कयौंलाई कारावास तोकिदिएको छ ।  सेनाको एकजना मान्छे मारियो भनेर मृत्युदण्ड सुनाउने सेना, आजसम्म बर्बरताका साथ सयौं नागरिकहरु मारिएको जिम्मेवार कस्ले लिने ? सेनाले त बन्दुक ताकि ताकि मारेका छन् यसको निर्णय कसले गर्ने ? निहत्था नागरिकलाई न्याय कसले गरिदिने ? सेनाका मान्छे मान्छे अरु जनताचै के हुन ? अब यिनीहरूलाई मृत्युको मुखबाट बचाउने र सेनासंग सामना गर्ने कसैको पनि हिम्मत छैन । यो एक सुरुवात मात्र हो भविष्यमा यसरी नै कतिलाई मृत्युदण्ड सुनाउने हो यो लुटेरा सेनाको कालो कानूनको केही भरोसा छैन । सत्ताको बल र बन्दुकको भरमा यसरी दमन गरेर राखेको छ आमनागरिकलाई । कठै देशका आमनागरिक हरू । नीति, नियम र नियत नभएको सुरक्षाबलले जसलाई मन पर्दैन, चित्त बुझ्दैन आफू विरुद्ध छ सैन्य शासन विरुद्ध  बोल्न छ लेख छ भने त्यसलाई समातेर हिरासतमा लिएर कुटपिट गरेको छ । जेलमा थुनिदिएको छ । कतिपयलाई हत्या गरिदिएको छ । जेलबाट रिहा हुने कहिले हो कहिले कसैलाई पनि थाहा हुदैन । हिरासतमा लिएका व्यक्तिहरूलाई कति यातना र कष्ट दिइरहेको छ यसको कल्पना पनि गर्न सकिदैन । वकिल र न्यायाधीश स्वयं आफू बनेको छ । जमानत पनि छैन । म्यान्मा देशको कानुन व्यवस्था सेनाको हातमा भनेझैं भएको छ । राति होस् या दिउँसो सेनाले गल्ली गल्लीमा जथाभावी  बन्दुक पड्काउँदै र धम्काउँदै खबरदारी गर्दै हिडेका छन् । युद्ध भूमिमा दुई शत्रु बीच घमासान युद्ध भए जस्तो गरि सेनाले गल्ली गल्लीमा गोलीको बर्सा र बमको बर्सा गर्दै हिंडेका छन् । कतिखेर कुन घरको कुन परिवारको सदस्यलाई सेनाको गोलीले छाती चिर्ने हो थाहै हुदैन । आफ्नो घरमा बस्दा पनि सुरक्षित छैनन् नागरिकहरू । कयौंका घर समेत तोडफोड गरिसकेका छन् । लोकतन्त्रवादीका घर र  NLD समर्थकका घर एवम् गाउँ समेतलाई सेनाले आगो लगाई जलाइदिसकेको छ। यसरी सेनाले देशमा उत्पात मच्चाएको छ । सेना समर्थक बाहेक अन्य  आमनागरिकहरु राति राम्रोसँग सुत्न पाएका छैनन् भने दिउँसो सडकमा हिड्न पनि डराएका छन् । यस्तो दुःखद परिस्थितिमा छिमेकी मुलुकहरु लाटाले पापा हेरेझै टुलुटुलु हेरेर बसेका छन् । लोकतन्त्र र प्रजातन्त्रको वकालत गर्ने छिमेकी देश आज आफ्नै छिमेकी मुलुकमा जनता माथि भएको अन्याय र अत्याचार हेरेर बसेका छन्। सेनाले गरेको नरसंहारको कडा रुपमा निन्दा गरेका छैनन् । सायद सेना समर्थकत हुन् कि भन्ने प्रश्न उठेको छ । यति हुँदाहुँदै पनि आफ्नोे देशको संस्कृति र मौलिक अस्तित्वको संरक्षण तथा स्वतन्त्रताको प्राप्तिका निम्ति र लोकतन्त्रलाई मजबुत बनाउनका निम्ति  बलिदान भएर आन्दोलन गर्ने ती अमर व्यक्तिहरुलाई कोटि कोटि नमन ।

चुनावमा धाँधली भयो अनियमितता भयो भनेर झुठो मुद्दा लगाएर आम जनताद्वारा चुनिएको सरकारलाई जेलमा हालेर सैनिकले सम्पूर्ण राज्यसत्ता लुटेर आफ्नो हातमा लिएको हो । लोकतन्त्रको नेतृत्व गर्ने सर्बोच्च लोकतन्त्रवादी नेतृ आउँसान् सूचीको लामो संघर्ष पछि लोकतन्त्र र प्रजातन्त्रको बाटोमा ताते ताते गर्दै हिडि सकेको देशलाई, विकास शान्ति  र समृद्ध हुन लागेको देश एवं विश्वसामु आफ्नो पहिचान स्थापित गर्न सफल भइसकेको देशलाई पुन सैनिकले हठात् “कू” गरि सम्पूर्ण सत्ता आफ्नो हातमा कब्जा गरेदेखि सबैतिर डर छ, त्रास छ, सून्य छ । व्यापार व्यवसायहरू ठप्प छन् । ठूला-ठूला मार्केट र बजारहरु बन्द छन्  । बैंकहरू एकदुई वटा फाट्टफुट्ट खोले पनि प्राय बन्द छन् ।

म्यान्माका सेनाले बर्बरताका साथ आमनागरिक माथि जो व्यवहार गरेको छ । त्यो अत्यन्तै निन्दनीय र अक्षम्य छ । अब विश्वका सबै मानिसहरू एकजुट हुनुपर्ने समय आएको छ । यो केवल एउटा देशको कुरामात्र होइन । यो संसारकै मानवअधिकारको कुरा हो । यो २१ ओैं शताब्दीको लोकतन्त्रको कुरा हो । आज म्यान्मा देशका जनता प्रति जुन दमन र हिंसा भयो भोलि अर्को देशका नागरिक माथि हुनसक्छ । यो एउटा शिक्षा र सिलसिला बन्दै जान सक्छ । तसर्थ यो लडाइ तपाई हामी सबैको हो । यो एकाधिकार शासक र क्रूरता शासन विरुद्धको लडाइ हो । यो विश्वक‍ो मानवअधिकार र लोकतन्त्र पक्षको कुरा हो । यो सम्पूर्ण मानवअधिकार र अभिव्यक्तिको सवाल हो । यो स्वतन्त्रता र प्रजातन्त्रको लडाइ हो । यो मानवीय हकहित र अधिकारको संघर्ष हो । यो दमन, हत्या, हिंसा, एकाधिकार, शोषक, अन्याय, अत्याचार र अनीति विरुद्धको महान संघर्षको लडाइ हो । सबैले एक स्वरमा आवाज उठाउन जरुरी छ । अपिल छ सबैले घोर विरोध गर्नुहुन ।

संयुक्त राष्ट्रसंघ, महिला आयोग, मानवअधिकार आयोग, सुरक्षा परिषद् र संयुक्त युरोपेली संघ एवम् अन्य सम्पूर्ण राष्ट्रहरूले मानवअधिकार, लोकतन्त्र, प्रजातन्त्र, स्वतन्त्र र नारी अधिकारको हकहितको पक्षमा  आवाज मात्र उठाएर हुँदैन, केवल काममा गर्ने, अपिल गर्ने, आग्रह गर्ने, अनुरोध गर्ने, बोल्ने, विरोध गर्ने, निन्दा गर्ने जस्ता शब्द प्रयोग गरेरमात्र हुँदैन । यो नरसंहार गर्ने  सेनालाई कठोर भन्दा कठोर कारबाही गरियोस् । मानवअधिकारको पक्षमा आवाज उठाउने निर्दोष आमनागरिक माथि भइरहेको हत्या र दमन तत्काल रोक्न र अपराधी सेना माथि कडा भन्दा कडा कारबाही गर्न संयुक्त राष्ट्रसंघ र समस्त विश्व एकजुट भएर प्रभावकारी कदम उठाई दोषीहरूलाई छिटोभन्दा छिटो सजा होस् र जननिर्वाचित सरकारको पुनर्बहाली होस् भन्ने म्यान्मा देशवासी आम जनताको आग्रह र माग छ।

अन्तमा अभिव्यक्तिको मौलिक हक र मानव अधिकार सुरक्षित होस्, लोकतन्त्र र प्रजातन्त्रको पुनःस्थापना होस्, यो लोकतन्त्रको लडाइँमा जनताहरुको विजय सुनिश्चित होस् । हिरासतमा लिएका र थुनामा परेका जनताहरु र नेतृत्व गर्ने नेताहरु छिट्टै रिहा होउन् । चुनिएको सरकारको सत्ता पुनर्बहाली होस् र लोकतन्त्रको लडाइँमा घाइते हुने ती सम्पूर्ण प्रदर्शनकारी व्यक्तिहरुमा शीघ्र स्वास्थ्य लाभ होस्  र शहीद हुने ती अमर आत्माहरुमा हार्दिक श्रद्धाञ्जली अर्पण । अस्तु । (लेखक आचार्य, संस्कृत स्नातक सेवा मण्डली, थाइल्यान्डका अध्यक्ष हुनुहुन्छ।)