× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
फिचर

उद्दार तथा राहत कार्य प्रभावकारी बनाउन विपक्षी गठबन्धनको आग्रह

Simrik Online

२ असार २०७८, बिहीबार

काठमाडौं । बाढी, पहिरो र डुबानबाट जनताको सुरक्षा गर्न, पीडित जनता र विस्थापितका लागि तत्काल आवास, खाद्यान्न, मृतकका परिवारलाई सहयोग, घाइतेको उपचारलगायत उद्धार तथा राहतका काम प्रभावकारीरूपमा अगाडि बढाउन विपक्षी दलहरुको गठबन्धनले सरकारसँग माग गरेको छ ।

विपक्षी दलका शीर्षनेताले बिहिबार संयुक्त वक्तव्यमार्फत इमान्दारी, तदारुकता र पारदर्शी रूपमा राज्यका सम्बन्धित सबै निकाय तथा साधन र स्रोतको पूर्ण परिचालन गरी विपद् व्यवस्थापनको कार्यलाई अघि बढाउन आग्रह गरेका हुन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, जनता सामाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले यस्तो गम्भीर प्राकृतिक विपत्तिको समयमा उद्धार र राहतका क्रियाकलापमा आ-आफ्ना स्थानबाट योगदान गरी पीडित जनसमुदायलाई सहयोग पुर्‍याउन सम्पूर्ण पार्टी कार्यकर्ता तथा सङ्घसंस्थालाई आह्वानसमेत गरेका छन् ।

मनसुन वर्षाको आरम्भमा नै देशका अधिकांश जिल्लामा बाढी र पहिराको प्रकोप देखिएको छ । यसको कारण कतिपय मानिसको ज्यान गएको छ भने अर्बौ रुपैयाँ बराबर भौतिक संरचना, अन्नबाली नष्ट र पशुचौपाया मरेका छन् । फलस्वरुप कोरोना महामारीबाट आक्रान्त जनजीवन झनै कष्टकर बनेको छ । गठबन्धनका शीर्षनेताले बाढी र पहिरामा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

संयुक्त प्रेस वक्तव्य

मितिः २०७८।३।३

मनसुन वर्षाको आरम्भमा नै देशका अधिकांश जिल्लाहरुमा बाढी र पहिरोको प्रकोप देखिएको छ । यसको कारण कतिपय मानिसहरुको ज्यान गएको छ भने अर्बौ रुपैयाँ बराबर भौतिक संरचना, अन्नबाली र पशुचौपाया नष्ट भएका छन् । फलस्वरुप कोरोना महामारीबाट आक्रान्त जनजीवन झनै कष्टकर बनेको छ । बाढी र पहिरोमा परि ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौं । सरकार उक्त प्रकारको प्राकृतिक विपत्तिको सामना गर्ने कुनै पूर्व तयारी नगरी गैर जिम्मेवार रहेको देखिएको छ ।

बाढी, पहिरो र डुबानबाट जनताको सुरक्षा गर्न, पीडित जनता र विस्थापितहरुका लागि तत्काल आवास, खाद्यान्न, मृतकका परिवारलाई सहयोग, घाइतेहरुको उपचार लगायतका उद्धार र राहतका काम प्रभावकारी रुपमा अगाडि बढाउन हामी नेपाल सरकारसंग माग गर्दछौं । इमान्दारी, तदारुकता र पारदर्शीरुपमा राज्यका सम्बन्धित सबै निकाय तथा साधन र स्रोतको पूर्ण परिचालन गरी विपद् व्यवस्थापनको कार्यलाई अघि बढाउन आग्रह गर्दछौं । यस्तो गम्भीर प्राकृतिक विपत्तिको समयमा उद्धार र राहतका क्रियाकलापमा आ-आफ्ना स्थानबाट योगदान गरी पीडित जनसमुदायलाई सहयोग पु¥याउन सम्पूर्ण पार्टी कार्यकर्ता तथा संघसंस्थाहरुलाई हामी हार्दिक आह्वान गर्दछौं ।

शेरबहादुर देउवा, सभापति – नेपाली कांग्रेस
पुष्पकमल दाहाल ‘प्रचण्ड’, अध्यक्ष – नेकपा (माओवादी केन्द्र)
माधवकुमार नेपाल, वरिष्ठ नेता – नेकपा (एमाले)
उपेन्द्र यादव, अध्यक्ष – जसपा, नेपाल
दुर्गा पौडेल, उपाध्यक्ष – राष्ट्रिय जनमोर्चा