काठमाडौं । नेपाली कांग्रेसका संस्थापनइतर जिल्ला सभापतिहरू आजदेखि केन्द्रीय कार्यालय सानेपामा आज बिहान ११ बजेदेखि धर्नामा बस्ने भएका छन्। क्रियाशील सदस्यताको सूची सार्वजनिक नभएसम्म धर्नासहित अरू संघर्षका कार्यक्रम गरिने बताइएको छ।
क्रियाशील सदस्यताको सूची सार्वजनिक नगरेकाले धर्नामा बस्नुपर्ने अवस्था आएको बताइएको छ। आज काठमाडौंमा उपलब्ध भएजति जिल्ला सभापतिहरू गएर धर्ना सुरु हुनेछ। क्रियाशील विवाद समाधानको नाममा नियमविपरीत क्रियाशील थप्ने र आफ्ना विरोधीहरूलाई हटाउने काम गरिएको भन्दै संस्थापनइतर समूहका जिल्ला सभापतिहरूले विरोध गरेका छन्।
संगठन समायोजनको नाममा पनि विधान मिचेको उनीहरूको आरोप छ। एउटा मात्र निर्वाचन क्षेत्र भएको जिल्लाहरूमा सभापति चयन क्षेत्रीय प्रतिनिधिबाट गर्दा जिल्ला सभापतिहरूको अपमान भएको पनि आरोप लगाइएको छ। आज हुने धर्नाको नेतृत्व काठमाडौं जिल्ला सभापति कृष्णसबुज बानियाँले गर्ने बताइएको छ।