✍️ कोमलनाथ शर्मा
जन्मदेखि मृत्युपर्यन्तको दृश्यमान गतिबिधिमा संलग्न शरीर मात्र पनि जीवनको तात्पर्य होइन । पृथ्वी जल तेज वायु आकाश जस्ता पञ्चमहाभूतबा बनेको स्थूल शरीरले भौतिक जीवनको प्रतिनिधित्व गरेको देखिएपनि त्यस भित्र पनि दश इन्द्रिय पाँच प्राण मन बुद्धि चित्त अहंकार समेत सूक्ष्म शरीरको रुपमा समाविष्ट छन् । पाँच ज्ञानेन्द्रिय पाँच कर्मेन्द्रिय पाँच प्राण मन बुद्धि जस्ता अवयव शरीर संचालनको क्रियामा आआफ्नो भूमिकामा संलग्न भै काम गरेको देखिएपनि स्वत सञ्चालित छैनन् । शरीरको अवयवको रुपमा रहेका यी जड वस्तुलाई क्रियाशील गराउने तत्वको रुपमा चैतन्य रहेको छ । चैतन्य नै परमात्मा हो भनिन्छ । शरीर भित्र रहने चैतन्यको कारणबाट शरीर गतिशील छ ।
विशेष प्रबिधि प्रयोग गरेर निर्माण गरिए जस्तो यस चराचर जगतको विषयमा समग्र जानकारी हुने कुरा पनि छैन । विशाल यो जगतलाई जान्न खोज्ने जिज्ञासा राख्दा पनि भेउ पाउन सकिंदैन । यन्त्रवत् रुपमा जगत सञ्चालित छ र प्राकृतिक संरचना पनि विना अवरोध परिचालित छन् । तर सञ्चालनकर्ता अदृश्य छ । स्थलचर जलचरबाट व्याप्त यो जगत ईश्वरीय सृष्टि हो भन्ने कुरा जगजाहेर छ । समस्त चराचर जगत सहयोग समन्वय र सम्बन्धको लागि सिर्जना भएको हो भन्ने कुरा पनि लुकेको छैन । यसको अन्तरसम्बन्ध के कसरी हुने हो छेउटुप्पो फेला पार्न सजिलो छैन । सामान्य ज्ञानले यो जगतलाई जान्न नसकिने हुँदा विशेष ज्ञान चाहिन्छ पनि भनिन्छ । पत्याउनु र नपत्याउनु पनि निजी धारणा हो । ढुंगा माटो वनस्पति पशुपंछी मानिस जस्ता प्राणीको सत्ता रहेको यो जगत अथाह छ । अनौठो के छ भने ईश्वरीय संरचना भएर पनि नाशवान् छ । नश्वर सृष्टिको आवश्यकता किन भए होला यस्ता थुप्रैे प्रश्न भने अनुत्तरित छन् ।
ईश्वरीय संरचनाको विद्यमान चौरासी लाख जन्ममा मानिसको जन्म पाउनुलाई गौरवको विषय मानिएको छ । मोक्षको बाटो मानव जन्मबाट मात्र संभव मानिएकोले मानिसको जन्म सर्वोपरि हो भनिन्छ । यसकारण मानिसको जन्म प्रति देवता दानव लगायत सबै लालायित हुन्छन् । मानिसमा विशेष ज्ञान रहने गरि भएको व्यवस्थाको कारणबाट उत्कृष्ट सिर्जना भनि अरु प्राणी भन्दा फरक गरिएको छ । मानिस बाहेक अरु प्राणी प्रारब्ध कर्मको फल भोग्न निमित्त मात्र सिर्जिएका हुन् भने मानिसमा प्रारब्ध कर्मको फलको भोगसंग धर्म अर्थ काम मोक्ष जस्ता पुरुषार्थको प्राप्तिको लागि काम गर्नुपर्ने अभिभारा छ । तोकिएको अभिभारा पुरा गर्न काम गर्नु नगर्नु स्वइच्छाको विषय भएपनि पुरा नगर्दाको परिणाम भने मानिस भएर जन्मेको जीवनको सार्थकता नरहने भनिएको छ । मनन गर्दा मानिसको आयु सीमित भएर पनि दायित्व असीमित छन् । मानिसले गर्नुपर्ने कर्तव्यको परिवेश फराकिलो छ । कर्तव्य कर्मको लागि ब्रह्मचर्य गृहस्थ वानप्रस्थ संन्यास गरि चार वर्णाश्रम व्यवस्था निर्धारित छन् । त्यसै अनुसार मानिसको जीवनलाई वर्गिकरण गरिएको छ । मानव जन्मलाई सफल बनाउने उपाय सुझाइएका वेद उपनिषद धर्मशास्त्र जस्ता ग्रन्थ बिधिबिधानको रुपमा स्थापित छन् । आफ्नो धर्म निर्वाह गरेर बिधिविधान अनुसार जीवन यापन गर्नु नगर्नु र जीवनलाई श्रेयस्कर बनाउने नबनाउने स्वतन्त्रता पनि छ । अनि कर्मशील हुनु र नहुनुमा पनि करकाप छैन ।
मानव शरीर बाबुआमाको संसर्गबाट प्राप्त भएको र अन्नबाट पोषित छ । पञ्चमहाभूतबाट बनेको शरीर हुंदा प्रकृतिसंग आबद्ध छ । प्रकृति परिवर्तनशील हुदा त्यसको प्रभावबाट शरीर पनि परिवर्तित भैरहन्छ । आधिदैविक आधिभौतिक र आध्यात्मिक दुख सुख व्यहोर्नु पनि पर्छ । जन्मिनु हुर्किनु अनि बालक युवा प्रौढ बृद्ध अवस्थामा रुपान्तरित हुंदै जानु र मृत्यु हुनु शरीरको प्रकृति हो । मृत्यु त अवश्यम्भावी छ । तर शरीरको अस्तित्व कहिले सम्म हो भन्ने कुरा अज्ञात छ । अनि शरीरको समाप्तिलाई जीवनको मृत्यु संझिइन्छ । जन्मे पछि मृत्यु हुने यो सत्य जान्दाजान्दै पनि मृत्यु संग सबैलाई डर लाग्छ । डर मात्र होइन मृत्यु प्रति रोष पनि रहन्छ । मृत्यु नभैदिए हुंदो हो भन्ने अपेक्षा संभव नभएको व्यहोरिएकै छ, तैपनि सदा बांच्ने आशा गरिन्छ । पञ्चमहाभूतबाट बनेको शरीरको अन्त्य हुने निश्चित र स्वाभाविक प्रक्रिया भएपनि सहर्ष स्वीकार गर्ने हार्दिकता छैन । यो ज्ञान सबैमा छ कि आत्मा नित्य हो र आत्माको अभावमा जीवन छैन । शरीरमा चैतन्यरुपी आत्मा रहेसम्म जीवन रहन्छ । आत्मा अजर अमर छ भन्ने शास्त्रसम्मत विचारमा असहमति नभएपनि मृत्युको यथार्थलाई हेक्का नराख्नु र देखिने शरीरको समाप्तिलाई जीवनको समाप्तिको अर्थ गर्नु अज्ञानता हो भन्दा पनि सत्य अनुभूत हुंन सकेको छैन । यो यथार्थ हो ।
मानव जीवनको सार्थकता ईश्वरमा समाहित भएर परमार्थ प्राप्त गर्नु र पुनरपि जननम पुनरपि मरणमको चक्करबाट मुक्त हुनु हो । कसरी मुक्त हुने यो प्रश्न पेचिलो छ । ईश्वर निर्मित संसारमा ईश्वर व्याप्त भएर पनि लुप्त छ, प्रत्यक्ष देख्न सकिंदैन । ईश्वर आंफै भित्र छ खोज्दा फेला पार्न सकिन्छ पनि भनिन्छ । सामान्य अर्थमा ईश्वर कसरी खोज्ने र ईश्वरमा कसरी समाहित हुने यो अहम् प्रश्न भएर पनि निश्चित समाधान छैन । ईश्वर प्राप्तिको निश्चित बाटो थाहा हुंदैन । थाहा नभएकै कारणबाट ईश्वर प्राप्तिको विषयमा आआफ्नै अनुभव र धारणा छन् । कर्म ज्ञान भक्ति आराधना साधना उपासना समर्पण जस्ता उपाय ईश्वर प्राप्तिको निमित्त रहेको भनिन्छ । अमुक उपायको अबलम्बनबाट मैले ईश्वर प्राप्त गरें भन्ने कुरा पनि सुनिदैन । परमार्थ प्राप्त गरेको देखिंदैन र उदाहरण दिन पनि सकिंदैन । वेद उपनिषद धर्मशास्त्र आदि शास्त्रको पनि यौटै मत छैन । यस स्थितिमा कुन बाटो अबलम्बन गर्दा श्रेयस्कर छ र निदान केमा छ जस्ता प्रश्नको निश्चित समाधान नभएकै कारणबाट उपाय आंफै खोज्नुपर्छ भनिएको होला ।
जीवनको लक्ष र गन्तव्य निश्चित छ । प्राप्तिको तौरतरीकामा भने अलमल छ । त्यसैले आस्था र विश्वास नै भरपर्दो आधार मानिएको छ । अठोट नै आंफू भित्र भएको ईश्वरलाई आंफै खोज्ने आधार हो । ईश्वर प्राप्ति अरुले खोजिदिएर हुंदैन । अरुको देखेर वा अरुको अनुशरण गरेर पनि हुंदैन । शास्त्रले निर्दिष्ट गरे अनुसार निजी प्रयास र कर्मबाट मात्र परमार्थिक मार्ग प्राप्त हुन्छ भन्ने कुरा स्वतसिद्ध छ । यसमा द्विविधा हुनुहुंदैन कि मानिसको जन्म परमार्थको लागि हो । परमार्थको प्राप्ति अरुको साथमा लागेर हुंदैन । यो पनि निश्चित हो । अनि परमानन्दको अनुभूति नभए सम्म जीवन अधुरो नै रहन्छ भन्ने भनाई पनि सत्य हो ।
यो भौतिक संसारमा समस्त प्राणीको जीवनको निर्वाह विषयको उपभोग र पदार्थको प्राप्तिबाट हुन्छ । जीवन शैली र प्रक्रिया आआफ्नै छन् । पदार्थको प्राप्ति र विषयको उपभोगमा सुख मानिन्छ । सुखलाई सर्वाधिक प्रिय वस्तु भनि गणना गरिन्छ । सहजै र साथमा पाइने पदार्थको उपयोगबाट सुखानुभूति पनि हुन्छ । भौतिक आकर्षणको कारणबाट विषय र पदार्थमा भुल्न र रमाउन सकिने गुण पनि हुन्छ । अप्राप्य विषयको खोजमा अलमलिनु भन्दा प्राप्य विषयलाई उपयोग गर्नु नै रुचिकर मानिने स्वभावबाट कोइ पृथक् छैन । उपयोगको लागि चाहिने विषय र पदार्थको प्रचुरता छ । उपयोग गर्न चाहना राख्ने इन्द्रिय तत्पर छन् । असीमित चाहना छ । भौतिक विषय वासनामा रमाउन खोज्ने अनियन्त्रित मन छ । उपलब्ध पदार्थ र साधन भोगको लागि हुन् र उपयोगकर्ताको प्रतीक्षामा छन् भन्ने कुरा कसैले संझाइरहनु पर्दैन । जीवन सुख सयलको निमित्त हो भन्ने सोच राख्नेको निमित्त सुखको श्रोत यत्रतत्र छ र भोग्न खोज्दा पाइन्छ पनि । भोगमा सुखको अनुभूति हुन्छ भने उपेक्षा किन गर्ने भन्ने धारणाले पनि मदत गर्छ । गृहस्थ जीवनमा भोग आवश्यक पनि हो । यस्तो विचारको वाहुल्यता र भोग विलास जस्ता साधनको संजाल रहेको मानव जीवनमा भोग विलासलाई नै सारभूत बाटोको रुपमा चयन गर्नु नौलो होइन । भोगको लागि सांसारिक पदार्थको उपलब्धता रहेको यस रहन सहनको परिवेशबाट पृथक् हुन नदिने मन इन्द्रिय साथमा रहेपछि अर्को विकल्पको खोजी पनि सजिलै हुंदैन ।
यो स्वाभाविक हो उपयोगका लागि चाहिने विषय पदार्थ देखेपछि इच्छा लाग्छ अनि प्राप्तिको लागि अनायास प्रयास पनि हुन्छ । यसरी प््राप्त हुने भोग्य पदार्थ र विषय वासनामा रुचि बढ्दै गएर लत बसेपछि स्वादमा रमाउने इन्द्रिय र मनको चाहनामा बृद्धि हुनु अस्वाभाविक होइन । अनियन्त्रित रुपमा बढदै जा्ने चाहनाले थप विषय र पदार्थ खोज्छ । विषय र भोगमा लिप्त र मग्न भएपछि परिणाम प्रति वास्ता गरिंदैन । इच्छाको कहिल्यै तृप्ति पनि हुंदैन । यौटा इच्छा पुरा भएपछि अर्को अगाडि आउंछ । अनि सम्बन्ध जोडिंदै जाने क्रम पनि बढ्छ । सम्बन्धको विस्तारबाट दायित्व थपिंदै जान्छन् । सम्बन्धमा आसक्ति पनि रहन्छ । विषय र पदार्थको संग्रहले ठाउं पाउंछ । मनको चाहना पुरा गर्नमा नै व्यस्त हुनुपर्छ । भोगबाट तृप्ति हुंदैन । तृष्णा बढ्दै जान्छ । सम्बन्धबाट छुट्टी पनि हुंदैन । आहार निद्रा भय मैथुन जस्ता कुरामा मग्न हुनुमा नै जीवनको तात्पर्य मानिन्छ । भोग्य वस्तुको संग्रह र उपयोगमा नै समय व्यतीत हुन्छ । सन्ततिको बृद्धि सम्पत्तिको आर्जन र यश कीर्ती विस्तार गर्ने चाहना बाहेक अरु केही हुंदैन । अनि आत्मरतिमा रमाउने परिवेशले भुलाउँछ । यो बिर्सिन्छ कि प्रकृति परिवर्तनशील छ र सुखमा पनि परिवर्तन भएर दुख आइलाग्छ । विषय र पदार्थमा सुख मात्र हुंदैन दुख पनि रहन्छ । निरन्तर पाउन खोज्ने सुखको चाहनाले दुखी पनि भइन्छ । साथमा भएका वस्तु नासिने र हराउने आशंका पनि रहन्छ । बढ्दो उमेरको कारणबाट बुढौतीको पीर लाग्छ । मृत्युको डर पनि लागिरहन्छ । मानिस भौतिक सुख सुबिधामा अभ्यस्त भएपछि विकल्प पनि छ भन्ने कुराको ख्याल नै हुंदैन । त्याग र श्रेयको मार्ग भन्दा संग्रह र सम्बन्धको बाटो नै प्रिय लाग्छ । जीवनको लक्ष र पारमार्थिक कुरा गौण हुंदै जान्छन् । विषय वासनाको जंजालमा बन्दी हुन पुगेको मानिसले आध्यात्मिक मार्ग नै बिर्सिन्छ । सुखलाई छाडेर पाइने नपाइने निश्चित नभएको मार्ग खोज्ने कार्यमा लाग्नु व्यर्थ हो भन्ने सोच पनि रहन्छ ।
यो स्पष्ट छ, मानिस दोहोरो मापदण्डमा छ र जीवन यसरी व्यतीत भैरहेको छ । यस्तो जीवन यापन हितकारी हो होइन लेखाजोखा पनि भैरहेकै हुन्छ । मानिसको यावत् गतिबिधिमा ईश्वरीय चासो.पनि रहन्छ नै । मानिसद्वारा गरिने काम प्रति ईश्वर निरपेक्ष हुने भएपनि निगरानी भैरहन्छ भन्ने कुरामा विमति छैन । चाहना काम क्रोध लोभ मोहको आधार हो भने पनि पुरुषार्थको प्राप्तिमा चाहनाको भूमिका सकारात्मक नै रहन्छ । चाहना नभै काम हुंदैन काम विना जीवन शैली र तौरतरीकामा गतिशीलता रहंदैन । जीवनमा धर्मले प्राथमिकता पाएको देखिएपनि काम र अर्थ धर्मका आधार हुन् । धर्मको निमित्त काम र अर्थको संयोजन नभै संभव छैन । कर्म विना अर्थोपार्जन हुंदैन । अर्थ विना धर्म हुंदैन । धर्म नभै मोक्ष हुंदैन । यसरी जीवन नियंत्रित र संतुलित भैरहन्छ । यसैमा कल्याण खोजिन्छ ।
मानव जन्म सार्थक जीवनको आधार भएर पनि भौतिक परिवेशको कारणबाट अलमलमा छ । फरक मत र दृष्टिकोण राख्ने सम्प्रदायको विगविगी भएको अवस्थामा श्रेयस्कर हुने निश्चित बाटो रोज्न पनि सजिलो छैन । निस्वार्थ भाव राखेर कर्म गर्न तत्पर हुँदा पनि बाधा ब्यवधान हुने प्रशस्त संभावना रहन्छ । ईश्वरको अंशको रुपमा रहेको मानिसको जीवनको तादात्म्यता सांसारिक विषय वस्तुमा रहेको मान्दा र आफ्नो मुल स्वरुप बिर्संदा पनि स्मरण गराउने कोही देखिंदैन । ईश्वरको सरोकार भएर पनि निरपेक्ष भएको हुंदा प्रोत्साहन र हस्तक्षेप दुवै हुदैन । त्यसै कारण जीवनको गति गणितीय रेखा जस्तो सरल पनि छैन । जीवन निर्वाहको निमित्त भौतिक वस्तुको आवश्यकता पनि छ, भौतिक वस्तु प्रतिको मोहबाट लक्षित जीवन अधुरो हुन्छ पनि भनिन्छ । यस्तो द्विविधा र किं कर्तव्यविमूढ स्थितिमा रहन बाध्य हुने मानिसको अन्तस्करणमा ईश्वरीय अंशको स्वअनुभूति नभएसम्म उद्धार संभव छैन । ईश्वरीय अनुभूति कसरी हुन्छ खोजीको विषय हो भनि थाहा हुंदाहुंदै पनि अभ्यास गरिंदैन । यही नै बिडम्बना हो । (लेखक/पूर्वन्यायाधीश शर्मा, सुशासन र समाजिक न्यायका पक्षमा कलम चलाउनु हुन्छ।)