× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
अन्तर्राष्ट्रिय समाचार

अफगानिस्तानको सुरक्षा जोखिमबाट सबै नेपाली मुक्त, ९४० जनाको उद्धार

Simrik Online

१२ कार्तिक २०७८, शनिबार

काठमाडौं । अफगानिस्तानको शासनव्यवस्था तालिबान समुहले सम्हालेपछि उद्धारको प्रतीक्षामा रहेका ३२ नेपालीको अन्तिम डफ्फा शनिबार काठमाडौं आइपुगेसँगै त्यहाँ कुनै नेपाली सुरक्षा जोखिममा नरहेको परराष्ट्र मन्त्रालयले बताएको छ। आज स्वदेश फर्केका ३२ जनासँगै उद्धार भई स्वदेश फर्कनेको संख्या ९४० पुगेको छ।

अफगानिस्तानस्थित संयुक्त राष्ट्रसंघीय नियोग तथा कार्यालयमा अतिआवश्यक कार्यमा संलग्न केही नेपालीहरू मात्र रहेका तथा उनीहरूमा सुरक्षा जोखिम नरहेको बताउँदै मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ, “राष्ट्रसंघीय निकायले अतिआवश्यक मानवीय तथा विकाससम्बन्धी कार्य जारी रहने जनाउँदै राष्ट्रसंघमा कार्यरत नेपालीलाई कुनै सुरक्षामा जोखिम भए सबैलाई सुरक्षित रूपमा नेपाल फिर्तीको प्रबन्ध मिलाइने जानकारी दिएका छन्।

उद्धार भई आज फर्केकाहरू वैदेशिक रोजगारीको स्वीकृति नलिई अफगानिस्तान पुगेका, राजधानी काबुलका विभिन्न भागमा स-सानो समूहमा छरिएर रहेका तथा उनीहरूलाई एउटै समूहमा आबद्ध गरी आवास र भोजनको सुविधासहित सुरक्षित रूपमा राख्ने प्रबन्ध नेपाल सरकारको अनुरोधमा आईडीजी कम्पनीमार्फत गरिएको थियो।

तालिबानको सत्ता प्रारम्भ भएदेखि नै सरकारले उद्धारका निम्ति अफगानिस्तानको निरन्तर अनुगमन गरी काबुल तथा काठमाडौंस्थित मित्रराष्ट्र भारत, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य बेलायत, क्यानडा, जर्मनी, युरोपेली संघ, राजदूतावासहरू, काबुलस्थित नेटो सैन्य अधिकारी, संयुक्त राष्ट्रसंघीय नियोग तथा कार्यालय, अन्य अन्तर्राष्ट्रिय संघ-संस्थाका कार्यालय तथा रोजगारदाता एवं जनशक्ति आपूर्ति गर्ने कम्पनी, स्थानीय कार्यालय एवं तिनका मुख्यालयमार्फत कूटनीतिक प्रयास गरेको थियो।
नेपाल सरकारले अफगानिस्तानको उद्धार ‘मिसन’मा सहयोग गरेका सबै स्वदेशी निकाय, रोजगारदाता, मित्रराष्ट्रहरू तथा राष्ट्रसंघीय निकायप्रति आभार व्यक्त गरेको छ। यो समाचार बाह्रखरीमा प्रकाशित छ।