× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
फिचर

कांग्रेस केन्द्रीय सदस्य (खसआर्य)मा गोमा केसीको उम्मेदवारी, यस्तो छ प्रतिबद्धता र इतिहास

Simrik Online

२२ मंसिर २०७८, बिहीबार

आयुषा बास्तोला, काठमाडौं । “समुन्नत नेपाल – सम्मानित नेपाली” भन्ने नारा लिएर नेपाली कांग्रेसको १४ ओैं महाधिवेशनमा केन्द्रीय सदस्य खस आर्य महिला तर्फ उम्मेदवार घोषणा गरेकी कांग्रेस नेत्री गोमा केसीले नेपाल विद्यार्थी संघ पदमकन्या क्याम्पस इकाई सचिव भएर राजनीति यात्रा तय गरेकी थिइन् । उनै गोमा केसी नेपाली कांग्रेस ओखलढुंगाको (पहिलो महिला) जिल्ला सभापति बनेर ओखलढुंगा कांग्रेसको नेतृत्व सम्हालिसकेकी छन्।

विकट हिमाली जिल्ला सोलुखुम्बुमा जन्मेकी केसीको कर्म घर भने ओखलढुंगा हो । गृह जिल्ला ओखलढुंगालाई नै राजनीतिक कर्मक्षेत्र बनाएकी छन् नेत्री कसीले । काठमाडौं शिक्षा क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सचिवका रुपमा काम गरेकी केसी नेपाल विद्यार्थीको संघको राजनीतिपछि नेपाल महिला संघको राजनीतिमा केन्द्रित भइन्।
उनी नेपाल महिला संघ ओखलढुंगाको जिल्ला सभापति, महिला संघको केन्द्रीय सदस्यका रुपमा काम गरेर नेपाल महिला संघ केन्द्रीय समितिको महाचिवको प्रत्यासी बनेकी थिइन् । पारिवारिक पृष्ठभूमि समेत राजनीति भएकी केसी जनताको सेवा नै आफ्नो कर्तव्य र धर्म ठान्दछिन् । राजनीति नै आफ्नो जीवन रहेको बताउने केसी इमान्दार महिला नेताका रुपमा चिनिने गर्दछिन्।

उनले राजनीति र समाजसेवालाई एकै साथ अगाडि बढाइरहेकी छन् । सधैं महिला हकहित र अधिकारका लागि आवाज बुलन्द गर्ने उनी निडर, हक्की र प्रष्ट वक्ताको रुपमा स्थापित छन् ।
केसीले राजनीतिक परिवर्तनका विभिन्न आन्दोलनमा सक्रिय सहभागी भएर भूमिका निर्वाह गरेकी छन्।

कांग्रेस पार्टीले उठाएका एजेन्डामा केन्द्रित भएर विद्यार्थी आन्दोलनमा सहभागी हुँदा प्रहरीसँगको झडप पटक-पटक घाइते र जेल जीवन बिताउन वाध्य भएकी छन् । २०४६ सालको आन्दोलन र २०६२/६३ जनआन्दोलनमा पटक-पटक जेल परेकी थिइन् । उनले महिला संघमा रहँदा महिलामाथि हुने विभिन्न घरेलु हिंसा, बलात्कार तथा बोक्सी आरोपमा हुने अमानवीय क्रियाकलापविरुद्ध आवाज बुलन्द गरिन्।

केसीले निर्मला पन्त लगायतका बालिकामाथि बलात्कारपछि भएका हत्याविरुद्ध देशैभर चालाइएको आन्दोलनमा सहभागिता जनाएकी थिइन्। उनले विभिन्न सरकारका पालामा मानवअधिकार उलंघन, नागरिक अधिकार कुण्ठित तथा प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउन खोजिएका अध्यादेशविरुद्ध पार्टीले गरेका रहेक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेकी थिइन् । यसरी पार्टीले उठाएका हरेक एजेन्डामा सक्रिय सहभागिता जनाउँदै आएकी छन् केसी जुझारु नेतृका रुपमा चिनिन्छिन् ।

पटक-पटक ओखलढुंगाबाट महाधिवेशन प्रतिनिधि एवं महासमिति सदस्यमा विजयी हुँदै आएकी केसी नेपाली कांग्रेस १४ औं महाधिवेशन अन्तर्गत पनि केन्द्रीय महाधिवेशन प्रतिनिधिमा सानदार मतले छानिएकी छन् । संघारमै आइपुगेको कांग्रेस १४ औं महाधिवेशनमा केसीले आफ्नो उम्मेदवारी केन्द्रीय सदस्य (खस आर्य)मा रहने घोषणा गर्दै आँफूलाई विजय गराउन आह्वान गरेकी छन् । साथै आफू केन्द्रीय सदस्यमा निर्वाचित बनेमा घर घरमा महिला संघ र गाउँ गाउँमा नेपाली कांग्रेसको अभियान चलाउने, नेपाली कांग्रेसको संगठन संरचना भित्र देखिएको चरम गुटबन्दीको अन्त्य गर्दै कांग्रेस पुनर्जागरणको अभियान चलाउने एवं नेपाली कांग्रेस पार्टी भित्र देखिएका सबैखाले विकृति र विसंगतिहरुको अन्त्य गर्ने लगायतका प्रतिबद्धता जनाएकी छन्।