काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन मंसीर २४ गते शुक्रबारबाट सुरु हुदैछ। देश संघीय संरचनामा गएपछि नेपाली कांग्रेसको यो पहिलो महाधिवेशन हो। यस महाधिवेशनले १४ जनाको पदाधिकारी सहित १६७ जनाको केन्द्रीय समिति बनाउनेछ। काँग्रेसको १४ औं महाधिवेशनबाट १ जना सभापति, २ जना उपसभापति, २ जना महामन्त्री र ८ जना सह-महामन्त्री (जातीय क्लस्टर) बाट चयन हुने छन्।
कांग्रेसको संसोधित विधान अनुसार सहमहामन्त्रीहरु विभिन्न क्लस्टरबाट उम्मेद्वार बन्ने तर सबै केन्द्रीय महाधिवेशन प्रतिनिधिले निर्वाचित गराउने छन्। तर कोषाध्यक्षको भने प्रत्यक्ष निर्वाचन नहुने व्यवस्था गरिएको छ। महाधिवेशनबाट निर्वाचित भएका केन्द्रीय सदस्य मध्येबाट सभापतिले सिफारिस गरेको व्यक्तिलाई केन्द्रीय समितिको बैठकले अनुमोदन गरेर कोषाध्यक्ष बनाउने व्यवस्था गरिएको छ।
१४औं महाधिवेशनबाट कम्तिमा १० वर्ष निरन्तर काँग्रेसको क्रियाशील सदस्य भएका केन्द्रीय महाधिवेशन प्रतिनिधिमध्येबाट प्रत्यक्ष (खुला) ३५ जना केन्द्रिय सदस्य निर्वाचित हुनेछन् भने सभापतिको सिफारिसमा नवनिर्वाचित केन्द्रिय समितिले थप ३३ जना केन्द्रीय सदस्य मनोनयन गर्ने व्यवस्था विधानमा छ।
केन्द्रीय समितिमा महिलाबाट ९ जना, प्रत्येक प्रदेशबाट कम्तिमा एक/एक महिलासहित ३ जना हुनेगरि जम्मा २१ जना, दलितबाट ४ महिलासहित ९ जना, आदिवासी जनजातीबाट ७ महिलासहित १५ जना, खसआर्यबाट ६ महिलासहित १३ जना, मधेशीबाट ४ महिलासहित ९ जना, थारुबाट २ महिलासहित ४ जना, मुस्लिमबाट १ महिलासहित ३ जना र पिछडिएको क्षेत्रबाट १ जना गरि ५४ जना केन्द्रीय सदस्य चुनिने छन्। यसमा अपाङ्गता वा अल्पसङ्ख्यक समूहबाट १ केन्द्रीय सदस्य निर्वाचित हुनेछन्।
यता सभापतिले मनोनयन गर्ने ३३ जना केन्द्रीय सदस्य बिधानअनुसार निर्वाचित भएर आउन नसकेको विभिन्न क्लस्टरहरु महिला, समावेशी सिद्धान्त र अपाङ्गता वा अल्पसङ्ख्यक वा पिछडिएको क्षेत्रको प्रतिनिधित्वलाई ध्यानमा राखी मनोनयन गर्नुपर्ने छ। निर्वाचित केन्द्रीय समितिमा क्लस्टर र आरक्षण गरिएको समूहबाट मात्र महिला निर्वाचित भए ४१ जना हुनेछन्। समावेशी र समानुपातिक सिद्धान्त अनुसार सभापतिले थप १४ जना महिलालाई केन्द्रिय सदस्यमा मनोनित गर्नुपर्ने हुन्छ अनि मात्र ३३ प्रतिशत महिला केन्द्रिय सदस्यमा पुग्नेछन्।