काठमाडाैं । नेपाली कांग्रेसको १ सय ३४ पदका लागि भएको चुनावको मतगणना सकिएकाे छ। खस/आर्यतर्फ केन्द्रीय सदस्यको मतगणना सकिएसँगै १३४ पदका लागि भएको चुनावको सबै मतगणना सकिएकाे हो ।
आज बिहीवार बेलुका सम्पन्न मत गणनाअनुसार खस/आर्य खुलातर्फ ७ पदका लागि भएको चुनावमा केशवकुमार बुढाथोकी, गोविन्दबहादुर शाह, भीम पराजुली, मधु आचार्य, श्यामकुमार घिमिरे, नारायणबहादुर कार्की र गेहेन्द्र गिरी निर्वाचित हुनुभएको छ। निर्वाचित हुने केन्द्रीय सदस्यमा मधु आचार्यबाहेक सबै संस्थापन समूहका उम्मेदवार हुन्।
त्यस्तै खस/आर्य महिलातर्फ ६ जनाका लागि भएको चुनावमा मञ्जु खाँण, प्रतिमा गौतम, नानु बास्तोला, कान्तिका सेजुवाल, चम्पादेवी खड्का र विद्यादेवी तिमिल्सिना विजयी हुनुभएको छ। गौतम संस्थापन इतर समूहबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको हो भने बाँकी ५ जना संस्थापन समूहबाट विजयी भएका हुन्।
यस्तै आदिवासी जनजातितर्फ खुला र महिला गरी १५ केन्द्रीय सदस्य पदका लागि चुनाव भएकोमा खुलातर्फ ८ र महिलातर्फ ७ पदका लागि भएको चुनावमा १४ जना संस्थापन समूहका उम्मेदवार विजयी भएका छन्। खुलातर्फ चीनकाजी श्रेष्ठ, उमेश श्रेष्ठ, बहादुरसिंह लामा, टेकबहादुर गुरुङ, दिलमान पाख्रिन, तारामान गुरुङ, आङ्गेलु शेर्पा र टेकप्रसाद गुरुङ विजयी भएका हुन् । टेकप्रसाद गुरुङ संस्थापनइतर समूहका उम्मेदवार हुन्। बाँकी ७ जना सभापति शेरबहादुर देउवा समूहबाट निर्वाचित भएका हुन्।
त्यस्तै महिलातर्फ सातैजना देउवा समूहका निर्वाचित भएका छन् । निर्वाचित हुनेमा सीता गुरुङ, अञ्जनी श्रेष्ठ, सरस्वती वजिमय, गंगालक्ष्मी अवाल, माया राई, सीताकुमारी राना र सुशीला थिङ रहेका कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ। कांग्रेसको १४ औँ महाधिवेशन मङ्सिर २४ देखि सुरु भएको थियो । निर्वाचित उम्मेदवारलाई भोलि प्रमाणपत्र वितरण गर्ने कार्यक्रम रहेको निर्वाचन समितिले जानकारी दिएको छ।