काठमाडौं । कोरोनाको जोखिमका कारण झन्डै छ महिनादेखि रोकिएको श्रम स्वीकृति नेपाल सरकारले खुलाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादवले रोकिएको श्रम स्वीकृति खुलेको बताउनु भएको छ ।
मन्त्री यादवले कोभिड–१९ को जोखिम कम भएका, सम्बन्धित श्रम गन्तव्य मुलुकसँगको सम्झौता र मागका आधारमा नयाँ श्रम स्वीकृति खुला गरिएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “विशेष गरी दक्षिण कोरिया र जापान जान चाहनेका लागि माग आइरहेको छ । कतिपय जाने तयारीमा पनि हुनुहुन्छ तर श्रम स्वीकृति बन्द हुँदा रोकिएको थियो । मन्त्रिपरिषद्ले खुलाउन स्वीकृति दिएसँगै श्रम स्वीकृतिको बाटो खुलेको छ ।”
गत फागुनको अन्तिम सातादेखि नै कोरोनाका कारण श्रम स्वीकृति दिन बन्द गरिएको थियो । नयाँ श्रम स्वीकृतिका लागि सेवाग्राहीहरु काठमाडौँ नै आउनुपर्ने भएकाले तत्काल सम्भव देखिँदैन ।
उपत्यकामा कोभिड–१९ को जोखिम उच्च रहेकाले यही भदौ ३ देखि निषेधाज्ञा जारी छ । उपत्यका बाहिरका कतिपय जिल्लामा पनि कोभिडको जोखिम बढेकाले निषेधाज्ञा जारी छ ।
मन्त्री यादवले निषेधाज्ञा अन्त्य भएपछि माग भएका र कोभिड–१९ को जोखिम कम भएका देश जान इच्छुकले श्रम स्वीकृति लिनसक्ने भएकाले श्रम खुल्दैमा नआत्तिन समेत आमयुवालाई आग्रह गर्नुभएको छ ।
पुनः श्रम स्वीकृति भने प्रदेशमा रहेका श्रम कार्यालयबाट पनि लिन सकिन्छ तर श्रम स्वीकृतिका लागि भने ताहाचल कार्यालयमै आउनुपर्ने बाध्यता छ । त्यसैले काठमाडौँमा निषेधाज्ञा भएकाले श्रम स्वीकृति खुले पनि निषेधाज्ञा नखुल्दासम्म लिन भने पाइने छैन । नेपाल सरकारले पुनः श्रम स्वीकृति (रि–इन्ट्री) भने गत असार १८ देखि खुला गरेको थियो ।
वैदेशिक रोजगारको करिब दुई लाख हाराहारीमा मागपत्र आएको तर बन्द भएकोले पठाउन नसकिएको नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले दाबी गर्दै आएको छ । तर कोरोना पहिलाका रोजगारदाता कम्पनीबाट आएका माग भएकाले कोरोनापछिको अवस्था भने सङ्घलाई पनि जानकारी नभएको बताइन्छ । कोभिड पछिको अबस्थामा कैयौँ कम्पनी त बन्द हुने अवस्था पनि पुगेको बताइएको छ ।
काठमाडौँ ताहचलस्थित श्रम कार्यालयले श्रम स्वीकृतिका लागि स्वास्थ्य प्रोटोकलको मापदण्ड अनुसार व्यवस्थापन गर्दै आएको जनाएको छ । सेवाग्राहीका लागि लाइन बस्न दुई/दुई मिटरको भौतिक दूरी कायम हुनेगरी सङ्केत बनाइएको कार्यालयले जनाएको छ ।