युवराज घिमिरे
राष्ट्रियता, प्रजातन्त्र र समाजवाद सिद्धान्त बोकेको नेपाली काङ्ग्रेसका हामी कार्यकर्ताहरु अहिले आएर अल्मलिइरहेको अवस्था छ । देश अहिले ने.क.पा.ले चलाइरहेको र दुई तिहाईको दम्भका कारण स्थानीय तहदेखि केन्द्रीय सरकार भ्रष्टाचारमा चुर्लुम्ब डुबेको छ। यस्तो अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धीकरण विभाग, राष्ट्रिय अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र र प्रशासानिक निकाय सबैले कानुनभन्दा माथि रहि ने.क.पा.को मतियार भएर काम गरिरहेका छन् । जनताले स्वतन्त्र रुपमा आफ्नो अधिकार प्रयोग गर्न सकेका छैनन्। अहिले गाउँ-गाउँमा छोटे राजाहरु धेरै जन्मिएका छन्, तिनीहरुले जनताको अधिकारलाई कुण्ठित गरेका छन् । यस्तो अवस्थामा प्रतिपक्षको भूमिका समेत शून्यप्राय: देखिन्छ ।
अहिलेको अबस्थामा जनताको घाउमा मलमपट्टि लगाउने काम नेपाली काङ्ग्रेसले गर्नुपर्ने हो । तर नेपाली काङ्ग्रेसबाट टिकट लिएर चुनावमा वडा सदस्य, वडाअध्यक्ष, गाउँपालिका अध्यक्ष, प्रदेश सभा र संघीय संसदमा उम्मेदवार भएका उम्मेदवारहरु कहाँ लुकेर बसेका छन ? चुनावको समयमा विकासका कामहरु यो गर्छु, त्यो गर्छु भन्ने अनि चुनाव पछि जनतामाझ देखा नपर्ने, जनताको पीर मर्का नबुझ्ने, काठमाडौंको होटल र क्याफेमा बसेर पार्टीको हित विपरीत आफ्नै साथिहरुका विरुद्ध टोकरी बैठक बसी जनप्रीय नेता मै हुँ भन्दै हिड्ने फेसबूकका वालहरु रंगीचंगी बनाउने, केन्द्रीय नेताहरुको घर-घरमा पुग्ने तर जनताको घरमा नपुग्ने नेता भनौंदाहरु अहिले कहाँ लुकेर बसेका छ्न् ?
नेपाल कम्युनिष्ट पार्टीले गाउँ-गाउँमा आफ्नो बाउको बिर्ता झै गरेर पार्टीको सदस्यतासँग विकासका योजनाहरु साटिरहेको छ । नेकपाले सत्ताको आडमा सरकारी सन्यन्त्र प्रयोग गरि गाउँ-गाउमा नेपाली काङ्ग्रेसका मतदाता तथा कार्यकर्ताहरुलाई आश र त्रासमा पारी पार्टी प्रवेशको नाटक फेरी शुरु गरेको देखिन्छ ।
विकास निर्माणका आफ्नो दायित्वलाई नेकपाले पार्टी सदस्यतामा साट्न थालेको प्रति समयमै नेपाली काङ्ग्रेसको ध्यान केन्द्रित हुन जरुरी छ । पार्टीलाई कसरी मजबुत बनाउन सकिन्छ र जनताको अधिकार कसरी सुनिश्चित गर्न सकिन्छ भनेर बहस गर्नुपर्ने बेलामा नेताहरु चाहिँ आफ्ना कार्यकर्ताहरुलाई न्याय दिलाउनुको साटो ने.क.पा.सँग मिलेर हिडेका छन् । केही नेताहरु धेरैको गाली खाएर भएता पनि करिबकरिब दुईतिहाई नजिकैको सरकारको दम्भ बोकेको जिल्ला प्रशासन कार्यालय र प्रहरी प्रशासनसँग जनताको न्यायको लागि लडिरहेका छन् । कोही अधिवेशनमा आफ्नो टोकरीका मान्छेलाई कसरी ल्याउन सकिन्छ भनेर लागेका छन् । कोही वडाध्यक्ष, गाउँपालिका अध्यक्ष, क्षेत्रीय सभापति, पार्टी सभापति हुन्छु भनेर हिडिरहेका छन्, तर जनताको समस्या बुझ्न यी कोही पनि गाउँ पसेका छैनन् ।
यसरी पैसा, जात, क्षेत्र र पाखुराको भरमा चुनावको समयमा टिकट लिएर जाने अनि गाउँमा पिल्सिएर बसेका इमान्दार कार्यकर्ताहरुलाई झुट्टा आश्वासन बाड्ने र मत लिने यस्ता नेताहरुबाट हामीले के आशा गर्ने ? गाउँका कार्यकर्ताहरुलाई के भइरहेको छ ? के गरिरहेका छन् ? स्थानीय स्रोत साधनको संरक्षण भएको छ कि छैन ? भन्ने कुरा वडा कार्यसमितिका पदाधिकारी र जननिर्वाचित वडा अध्यक्षहरुलाई समेत जानकारी नहुनु कस्तो विडम्बना हो ?
एकातिर स्थानीय सरकार गाउँका कार्यकर्ताहरुमाथि जाइलागेको अवस्थामा पनि पार्टीको स्थानीय तहदेखि प्रदेश र प्रतिनिधि सभासम्मका निर्वाचनमा उम्मेदवार भएका साथिहरु गाउँमा गएर आम कार्यकर्ताको सुरक्षा गर्नुको साटो शहरमा बसी कोठे बैठकबाट पार्टीकै बदनाम गरी मुकदर्शक हुनु हाम्रो नेतृत्वलाई कति सुहाउने विषय हो ?
कार्यकर्ताहरुले काम नगरेर हो कि नेताले काम नगरेर संगठन चुस्त दुरुस्त हुन नसकेको हो ? यस विषयमा सबैतिरबाट चासोका साथ हेर्नुपर्ने साथै वहस गर्नुपर्ने बेला आएको हो कि ? जय नेपाल ! (लेखक: घिमिरे नेपाली कांग्रेस सोलुखुम्बु जिल्ला कार्य समितिका सदस्य तथा अभिलेख विभागका संयोजक हुन्)