× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
अन्य

कांग्रेसले दियो लोकतन्त्र दिवसको सन्देश

Simrik Online

१० बैशाख २०८२, बिहीबार

काठमाडौं । नेपाली कांग्रेसले लोकतन्त्र दिवसको सन्देश दिएको छ । कार्यबाहक सभापति पुर्णबहादुर खड्काद्वारा हस्ताक्षरित सन्देशको पुर्णपाठ यस्तो छ :

लोकतन्त्र दिवसको सन्देश

राष्ट्रिय स्वाधिनता र नागरिक अधिकारका लागि पटक–पटक भएका क्रान्ति, संघर्ष र आन्दोलनहरूमा जीवन उत्सर्ग गर्ने बीर शहीदहरूप्रति लोकतन्त्र दिवसका अवसरमा उहाँहरूको समर्पण, साहस र वलिदानको स्मरण र सम्मान गर्दै उहाँहरुप्रति म हृदयदेखि नै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।

वि.सं. २००७ साल अघिदेखि प्रारम्भ भएको संघर्षको पृष्ठभूमिमा निरंकुश राजतन्त्रको अन्त्य र लोकतन्त्र वहालीका लागि २०६२÷०६३ मा नेपाली कांग्रेसको नेतृत्वमा अन्य राजनीतिक दलहरु समेतद्वारा संचालित ऐतिहासिक जनआन्दोलनले २०६३ वैशाख ११ गते मुलुकमा एक युगान्तकारी परिवर्तन ल्याएको थियो । यो परिवर्तनसँगै मुलुकमा नेपाली जनताको इच्छा र चाहना अनुरुप आफ्ना जनप्रतिनिधिद्वारा संविधानसभा मार्फत संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको संविधान जारी भई कार्यान्वयन भैसकेको छ । यो संविधानको सुदृढीकरण गर्दै मुलुकलाई आर्थिक समुन्नतिको मार्गमा अग्रसर गराउने जिम्मेवारी हामी सबैको काँधमा आएको छ । युगान्तकारी परिवर्तन गर्ने वैशाख ११ को यो ऐतिहासिक दिनलाई हामी सबैले गौरवका साथ स्मरण गर्दै हरेक वर्ष लोकतन्त्र दिवसका रुपमा मनाउँदै आएका छौँ ।

लोकतन्त्रमा मात्र सबैको अधिकार सुनिश्चित हुने भएकोले यसको रक्षार्थ सबै जना सजग र सचेत रहन म आग्रह गर्दछु । यो ऐतिहासिक दिनका अवसरमा बीर योद्धाहरूको साहस, संकल्प र वलिदानको धरोहरको रूपमा स्थापित लोकतन्त्रलाई कमजोर हुन दिने छैनौँ भनेर प्रण गरौं ।

जय नेपाल !

पूर्णबहादुर खड्का
कार्यवाहक सभापति