सोलुखुम्बु । सोलुखुम्बुमा अवस्थित विश्वेश्वर प्रसाद कोइराला संस्कृत विद्यापीठका विद्यार्थीहरुको आवास-भोजन नेचासल्यान गाउँपालिकाले व्यवस्थापन गर्ने भएको छ ।
विद्यापीठका निमित्त प्राचार्य पशुपतिकुमार ढुंगाना र प्रशासन प्रमुख लोकेन्द्र बहादुर राउतले बिहीबार कार्ययोजना प्रस्तुत गरेसंगै गाउँपालिका अध्यक्ष धनजन राईले विद्यापीठका विद्यार्थीहरुको आवास-भोजनको ब्यबस्थापन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको प्रशासन प्रमुख राउतले जानकारी दिनुभयो। राउतका अनुसार पूर्वमन्त्री एवं विद्यापीठका संरक्षक बलबहादुर केसीको उपस्थितिमा गत साता भएको छलफलबाट विद्यापीठबाट गुणस्तरीय जनशक्ति उत्पादन गर्ने लक्ष्य सहित कम्तिमा १० जना विद्यार्थीहरुलाई प्रतिवर्ष आवास र भोजन सहितको गुरुकुल पद्वतिको शास्त्री तहको अध्यापनको लागि पहल गर्ने निर्णय भएको थियो।
बीपी कोइराला संस्कृत विद्यापीठमा हाल ४१ भन्दा बढी विद्यार्थीहरू नियमित अध्ययनरत छन्। धेरैजसो विद्यार्थीहरू टाढा–टाढाबाट आएर यहाँ अध्ययन गर्छन्, जसका कारण बसोबास र खानपानमा समस्या हुने गरेको थियो। अब भने गाउँपालिकाको यो सहयोग, समन्वय र प्रतिवद्वताले आगामी आर्थिक बर्षदेखि विद्यार्थीहरूलाई ठूलो राहत मिल्ने विश्वास लिइएको छ।
विद्यापीठका निमित्त प्राचार्य उपप्रा.पशुपतिकुमार ढुंगानाले यो पहल र प्रतिवद्वतालाई ऐतिहासिक भन्दै धन्यवाद ज्ञापन गर्दै भने,“यस सहयोगले विद्यार्थीहरूलाई अध्ययनमा केन्द्रित हुन थप प्रेरणा दिनेछ। संस्कृतजस्ता मौलिक ज्ञान प्रणालीहरूलाई जगेर्ना गर्न यस्ता कदम आवश्यक छन्।”
नेचासल्यान गाउँपालिकाले आगामी आर्थिक वर्षदेखि नियमित बजेट व्यवस्थापन मार्फत यो कार्यक्रम सञ्चालन गर्ने गाउँपालिका अध्यक्ष राईले बताउनु भयो । साथै, चालु आ.व.मा पनि केहि न केहि सम्बोधन गर्ने गरी भविष्यमा थप छात्रवृत्तिको पनि व्यवस्था गर्ने योजना बनाइरहेको २ नं वडा अध्यक्ष सिताराम काफ्लेले जानकारी दिनु भयो।
विद्यार्थी,अभिभावक तथा समाजसेवीहरू पनि गाउँपालिकाको यो निर्णयप्रति प्रशंसा व्यक्त गर्दै संस्कृत शिक्षा प्रवर्द्धनमा स्थानीय तहबाट देखिएको चासो र सक्रियता प्रशंसनीय भएको बताएका छन् ।