मनेश निरौला, काठमाडौं । नेपाली कांग्रेस सोलुखुम्बु-काठमाडौं सम्पर्क समितिले काठमाडौंका विभिन्न अस्पतालमा उपचार गराइरहेका आर्थिक अबस्था कमजोर भएका ५ जना बिरामीहरुलाई ३८ हजार १ सय रुपैयाँ सहयोग गरेको छ ।
सोलुखुम्बु थुलुङदुधकोशी गाउँपालिका ८ का वर्ष २१ कि पुष्पा राई र सोही स्थानका वर्ष ६१ का बलबहादुर राईलाई जनही रु. १० हजार ३ सय गरि २० हजार ६ सय रुपैयाँ भदौ २८ गते नेपाली कांग्रेस सोलुखुम्बुका महासमिति सदस्य जयप्रसाद राई मार्फत प्रदान गरिएको सम्पर्क समितिका कोषाध्यक्ष नवीन कार्कीले बताएका छन् ।
त्यस्तैगरि काठमाडौंको हेल्पिङ ह्यान्डस अस्पतालमा उपचाररत सोलुखुम्बु सोताङ गाउँपालिकाका पर्व राईलाई रु. ७ हजार रुपैयाँ र वीर अस्पतालमा उपचाररत नेचासल्यान गाउँपालिका २ की सरिता निरौला बस्नेतलाई रु. ७ हजार रुपैयाँ प्रदान गरिएको छ । त्यस्तैगरि पछिल्लो निषेधाज्ञाका समयमा काठमाडौंमा दैनिकी चलाउन अप्ठ्यारो परेकालाई रु. ३ हजार ५ सय सहयोग गरिएको सम्पर्क समितिका सचिव टार्जन कुलुङले सिम्रिक अनलाइनलाई बताएका छन् ।
नेपाली कांग्रेस सोलुखुम्बु-काठमाडौं सम्पर्क समितिले कोभिड-१९ का कारण सरकारले गरेको लकडाउनको शुरुवाती चरणबाटै विभिन्न समयमा अप्ठ्यारोमा परेका सोलुखुम्बुबाट काठमाडौं आइ बसोबास गरिरहेका १ हजार भन्दा बढी परिवारलाई सहयोग गरिसकेको सम्पर्क समितिका अध्यक्ष गोकर्ण बस्नेतले बताए ।
पछिल्लो निषेधाज्ञाको समयमा पनि कोही कसैलाई अप्ठ्यारो परेमा आफूहरुले सहयोग गर्ने बताएका अध्यक्ष बस्नेतले सम्पर्क समिति मार्फत आफूहरुले सदैव
नागरिकमा परेको चोटलाई थोरै मात्रै भएपनि मलम लगाउन खोजेको बताएका छन् ।
सम्पर्क समितिले काठमाडौंका विभिन्न अस्पतालमा रगतको अभाव हुन नदिन काठमाडौंमा पटकपटक रक्तदान कार्यक्रम आयोजना गर्ने गरेको र कसैलाई रगतको अभाव भएमा रक्तदाताहरु मार्फत तत्कालै पनि रगत उपलब्ध गराइरहेको बताइएको छ ।
नेपाली कांग्रेस सोलुखुम्बु – काठमाडौं सम्पर्क समितिले लकडाउन र निषेधाज्ञाका समयमा पनि पटकपटक गरेको सहयोगको सोलुखुम्बु जिल्लाबासीबाट पनि चौतर्फी प्रशंसा भइरहेको बुझिएको छ ।