प्रा.डा. आनन्दप्रसाद घिमिरे
अनलाइनबाट श्राद्धविधि निर्देश गरि ब्राह्मणाभावको गाँठो फुकाउने कुरा भौतिकरूपमा असहज र अव्यवस्थित छँदैछ र शास्त्रीय रूपमा अधार्मिक, पुण्यक्षयकारी, ब्राह्मणनिमन्त्रण, ब्राह्मणपूजन, ब्राह्मणबाट आशीर्वाद ग्रहण र ब्राह्मणभोजनस्वरूप श्राद्धको अङ्ग निरपेक्ष राखेर गरेको श्राद्ध निरर्थक छ । शास्त्रले दिएको व्यवस्थित विकल्पमा रहनु कल्याणकारी छ ।
देवता, अग्नि र द्विजको त्रिविध साक्षित्वको अभावमा यजमानले देवपितृकार्य गर्न सक्दैन । देवयज्ञ, पितृयज्ञस्वरूप परब्रह्मको सेवा अङ्ग पुर्याएर गर्नुपर्छ । वक्तृत्वस्थानापन्न मुखब्राह्मणसम्पत्तिस्वरूप पहिलो धन हो जसले यो यसरी गर्नेबारे उपदेश सिर्जना गर्छ । मुखवाणी विना हात अघि सर्दैन र सही सुनाई र बुझाईको दरकार पर्छ।पितृका लागि व्याकरणोचित सुसंस्कृत नै चाहिन्छ। (ब्राह्मणोऽस्यमुखमासीत्)
कर्तृत्वस्थानापन्न क्षात्र (शरीर ) सम्पत्ति अर्थात् हात-पाखुराले काम गर्ने हुँदा कार्यकुशलता, क्षमता, सीप, पूर्वतयारी, वाचन गर्ने क्षमता, वाचन गरेको सुन्ने बुझ्ने र तदनुकूल दिशानिर्देशलाई आत्मसात गर्ने यजमान अर्को धन हो जसले देवता र पितृलाई खुशी पार्ने ल्याकत राख्छ र ब्राह्मणलाई भोजन दक्षिणाले तृप्त गराउँछ । प्रत्यक्ष देवता ब्राह्मणको अङ्गमा पितृहरू बसेका,सन्तुष्ट भएका र आशीर्वाद दिन लालायित भएकाको पर्खाईमा यजमान बसेको हुन्छ (बाहूराजन्य: कृत:)।अक्षन्नमीमदन्तह्यव…….।
यथाविधि देवपितृकार्यार्थ द्रव्यसम्पत्ति- अन्न,जल ,फल, दक्षिणा आदिको सम्पत्ति उदरस्थानापन्न पेट वा जाँघ शक्तिको लागि अपरिहार्य छ – यो जुनसुकै कोरा भौतिकवादीले पनि गर्छ र बुझ्छ पनि । यो धनविनाको मन ता हातमाथी पारेर “सरेण्डर” गर्नु बाहेक अर्को विकल्प छैन । यस्तो अकिञ्चन अवस्थामा हातमाथि उठाई पढ्नु, स्तुति गर्नु शास्त्रनिर्देशित कुरा हुन् । गाईलाई शाकपात, घाँस भए पनि दिने कुराहरू छन् । (ऊरूतदस्य यद्वैश्य:)
यसरी यी त्रिविध प्रत्यक्ष सम्पत्तिको अभावमा देवपितृकार्य सम्पन्न हुनसक्दैन।
यी कार्यहरू सम्पन्न गर्न सेवारूपी सम्पत्ति (अर्को धन) कम महत्वपूर्ण छैन । हामी जेलनेलमा बसे झैं छौं । हामी हिँड डुल गर्न सक्दैनौं । हाम्रा गोडा बाँधिएका छन्।आशा बलवती छ । हाम्रा पिँजडा खोल्येलान् । (पद्भ्यां शूद्रो ऽअजायत)
उपर्युक्त चारैथरी सम्पत्तिको परिस्थितिजन्य अभावमा (सबैलाई अभाव न हुनसक्छ र कार्यसम्पन्न गर्ने ल्याकत हुनसक्छ) सोरसरात् कसरी गर्ने ? भन्ने बहस चलीरहेको सातत्यमा शास्त्रीय विकल्प अनुसरण गर्नु बुद्धिमानी हुनेछ । विकल्प छन् –
“दुरो अश्वस्य दुर इन्द्र गोरसि दुरो यवस्य वसुन इनस्पति:। शिक्षातर प्रदिवो अकामकर्शन: सखा सखिभ्यस्तमिदं गृणीमसि ।” (ऋग्वेद १-५३-२ निर्णयसिन्धु पृष्ठ २९७ – प्रा.डा. देवमणि भट्टराई “सकृन्महालय श्राद्ध….. ” लेख वर्ष १४, अङ्क १/ २०७५, गौरी मासिक पत्रिका सम्पा. अर्जुन लामिछाने)
उपर्युक्त मन्त्र जप १० महिनासम्म गर्नाले महालय श्राद्ध गर्न नसकिएकामा प्रायश्चित्त हुन्छ तर उक्त समय भित्रै परिआएका नित्य तिथिश्राद्धका निरन्तरता कायमै रहन्छन् ।
अन्त्यमा, वैदिकसनातनधर्मीलाई हतोत्साही बनाउने, आआफ्ना आस्थाका देवदेवीलाई घृणा पैदा गराउने, कृश्चियानिटी बढाउने, मानसिक कमजोरी बनाई धेरै भन्दा धेरै नागरिक आत्महत्या गरि मरून् भन्ने दुराशयी धर्मनिरपेक्षवादी शासकहरूको भर्चुअल श्राद्धको प्रपोगाण्डमा नपर्न, कोरोनाको निउमा विश्वबाट जनसंख्या घटाउने मास्टरप्लानको चक्रव्यूहमा नपरी सतर्क एवं स्वच्छतापूर्वक आत्मनियन्तृत योग, प्राणायाम, ध्यान र जरीबुटीको प्रोबायोटिक उपचारले ऋषिमहर्षिले प्रदान गरेको जीवनपद्धति अगाल्न समेत सबै धर्मप्राण महानुभावमा निवेदन गर्दछु । ॐ !